देशको लोकतान्त्रिक पद्धतिको पहिलो आधार राजनीतिक पार्टीभित्रको लोकतन्त्र हो । अधिनायकवादी शैलीमा संचालित राजनीतिक दलले देशमा लोकतान्त्रिक पद्धति संस्थागत गर्ने विश्वास गर्न सकिँदैन ।
नेपालको लोकतान्त्रिक आन्दोलनलाई निरन्तर नेतृत्व गरिरहेको नेपाली काग्रेस १४औं महाधिवेशनको संघारमा छ । नेपालीले कांग्रेसको यस महाधिवेशनलाई कुनै अमुक दलको अधिवेशनमात्र ठाकांग्रेस होलान्जस्तो लाग्दैन ।
यसैले देशको पुरानो र लोकतान्त्रिक धारको नेतृत्व गरिरहेको सबभन्दा ठूलो पार्टीको महाधिवेशनको सर्वाधिक चर्चा र चासो हुनु स्वाभाविकै हो ।
संसदीय राजनीतिमा रहेका कम्युनिस्ट र मधेसवादी दलहरू विग्रह ऊन्मुख रहेको देखिएकड्ड यस जटिल परिस्थितिमा कांग्रेस महाधिवेशनलाई गम्भीररूपमा हेरिने नै भयो । त्यसकारण पनि सामान्य नेपाली नागरिक, बौद्धिक समाज, नागरिक समाज सबैले यस महाधिवेशन, पार्टी नेता तथा कार्यक्रर्ताको गतिविधि, नीति तथा पद्धतिप्रति गहिरो चासो राखेर हेरिरहेका हुन् ।
लोकतान्त्रिक शासन प्रणालीमा पार्टी नेतृत्व पनि आवधिकरूपमा चुनिनु पर्नेहुन्छ । महाधिवेशनले पार्टीलाई वैधानिकता मात्र दिँदैन आन्तरिक लोकतन्त्रको अभ्यास पनि गराउँछ । महाधिवेशनका क्रममा अभ्यास हुने विधि, प्रक्रिया, पद्धतिले समेत लोकतन्त्रलाई सुदृढ बनाउँछ ।
अहिले नेपाली कांग्रेसको महाधिवेशनको तयारी भइरहँदा स्थानीयस्तरमा देखिएका घटनाक्रमले भने कता कता कांग्रेसको सिद्धान्त, यसले बोकेको इतिहास र नागरिकले गरेको अपेक्षालाई आत्मसात गर्न नसकेको हो कि भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
पार्टीभित्रको प्रतिस्पर्धा लोकतन्त्रको आधार हो तर यो विधान, पद्धति र सिद्धान्तमा आधारित हुनु आवश्यक हुन्छ । तर, नेपालको राजनीतिको लोकतान्त्रिक धारको नेतृत्व गर्ने कांग्रेस भने अन्य शक्तिको कारणले भन्दा पनि पार्टी भित्रकै विकृतिबाट थलिएको देखिएकोछ ।
पहिलो विकृति हो पार्टी संचालनको लोकतान्त्रिक विधि, विधानमाथि प्रहार । संवैधानिकरूपमा ५ वर्षमा महाधिवेशन गर्नु नै पर्ने नहुँदो हो त सायद नेपालका कुनै पनि पार्टीका प्रमुखले महाधिवेशनै गर्दैनथे होलान् । कांग्रेस पनि यसको अपवाद देखिँदै ।
बल्लतल्ल महाधिवेशन हुन्छ तर पार्टीको विधानअनुसार न त संगठन चल्छ न तोकिएका बैठकहररू हुन्छन् न विभागहरू नै बन्छन् । विसं २०४६ भन्दा पहिले बरु हरेक वर्ष कांग्रेसले राष्ट्रिय कार्यकर्ता भेला गर्थ्यो । पछि पनि दुईटा महाधिवेशनबीच कम्तीमा एकपटक महासमितिको बैठक गर्नेगरेको थियो । तर, अब त पार्टीलाई संस्थागतरूपमा सञ्चालन गर्नै कांग्रेसले छोडिसकेको देखिन्छ ।
पार्टीको निर्णय केन्द्रीय कार्य सम्पादन समितिबाट हुनुपर्नेमा विधानमा कतै उल्लेख नभएको पूर्व र वर्तमान पदाधिकारी बसेर गर्न थालेक छन् । कहिले त केन्द्रीय कार्य सम्पादन समिति मै नभएको व्यक्तिहरूसमेतलाई सहभागी गराइएको देखिन्छ । यस्ता थुप्रै गतिविधिले विधी, विधान र प्रणालीलाई नै चुनौती दिएकोछ । यस्तो विकृतिले बिस्तारै पार्टीलाई नेतामुखी, कार्कर्तालाई व्यक्तिवादी र व्यक्तिगत स्वार्थको घेरामा खुम्च्याउँ छ ।
दोस्रो विकृति हो पार्टीभित्रको गुटबन्दी । पार्टी विधी विधानअनुरूप नभएर नेताको इच्छामा संचालन हुन थालेपछि कार्यकर्ता पनि नेतामुखी हुन थाल्छन् । कुनै न कुनै नेताको आर्शीवादमा पद, सत्ता पाउने परिपाटीको विकास हुन्छ र पार्टी विधान र विधि नेताको हुकुममा परिणत हुन्छ । यस प्रकारको गुटबन्दीले कार्यकर्तालाई पार्टीको झन्डाको सट्टा देउवा, पौडेल, सिंह, सिटौला, कोइराला, निधीहरूको तस्बिरमुनि गोलबन्द गराउन थाल्छ ।
अनि दलको आन्तरिक तानातानको रिस संसदीय चुनावमा अर्को गुटलाई सिध्याउने खेलमा बदलिन्छ । परिणाम आफ्नै पार्टी हार्दा पनि खुसी मनाउने विकृति सुरु हुन्छ । एकले अर्कोलाई सिध्याएर रमाउने गरेको देखिन्छ ।
बिस्तारै पार्टी जनताबाट टाढिन्छ र अन्ततः विचारहीन, गतिहीन सीमित नेताको स्वार्थलाई वैधानिकता दिने संयन्त्रका रूपमा स्थापित हुन्छ । परिणामस्वरुप पार्टी खुम्चिँदै जान्छ, खस्किँदै जान्छ । आज कांग्रेसलाई गुटबन्दीले चिथोरी रहेकोछ । यसको उपचार अनिवार्य भएकोछ ।
तेस्रो हो आर्थिक अनुशासनहीनता । सुशासन, पारदर्शिता प्रजातन्त्रलाई सुदृढ बनाउने महत्त्वपूर्ण आधार हुन् ।
पार्टीमा विधी विधान नै भत्काएपछि अनुशासनहीनता बढ्छ । त्यस अवस्थामा नैतिक आचरण सुरक्षित हुन सक्दैन । त्यसमा पनि चरम गुटबन्दी मौलाएको अबस्थामा नैतिकताभन्दा माथि व्यक्ति हुन्छ ।
अनि नेताहरू पार्टीको सिद्धान्त, विचार बुझाएर होइन पैसा बाँडेर प्रभाव बढाउन थाल्छन् । यसरी पार्टी आर्थिकरूपमा अनुशासनहीन हुन्छ । परिणामस्वरूप पार्टीको सानो सानो कार्यक्रमदेखि नेतृत्व चयनमा आर्थिक चलखेल सुरु हुन्छ र पार्टी आर्थिकमा अनुशासनहीनता व्याप्त हुन पुग्छ ।
महाधिवेशनका क्रममा वडा, गाँउ, क्षेत्रदेखि केन्द्रसम्म देखिएको आर्थिक चलखेलको प्रवृत्तिले पार्टीलाई व्यापारी घराना जस्तो बनाएकोछ । पार्टीमा लगानी गर्ने, नेता तथा पद हात लिने अनि पैसा कमाउने । ध्यान नै यत्तिमा केन्द्रित छ ।
पार्टीमा ऐजेरुको रूपमा मौलाएको यो विकृतिलाई नउखेल्ने हो भने कांग्रेसको भविष्य सायद इतिहासमात्र हुनसक्छ । राजनीतिमा त जनताले विकल्प खोजिरहेका हुन्छन् ।
नेपालको यो लोकतन्त्र, लोकतान्त्रिक संविधान, कानुनी शासन र उत्तरदायी नेतृत्वको मूल्य मान्यताको रक्षा कसले गर्ला ? कतै कुनै न कुनै रूपमा कम्युनिस्टको अधिनायकवादी भूत त जाग्ने होइन ? अवस्था डरलाग्दो छ । सबै गम्भीर हुनु आवश्यक छ ।