site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘आन्तरिक सुरक्षामा चुनौती बन्न सक्छन् नेपाल भित्रिएका रोहिंग्या शरणार्थी’
फाइल तस्बिर ।

काठमाडौं । यही असोज पहिलो साता बंगलादेशबाट ६ रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याएको आरोपमा तीनजना पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले रोहिंग्या शरणार्थी नेपाल भित्र्याएको भन्दै दुई बर्मेली र एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बर्मेली नागरिक २७ वर्षीय नरुल अमिन, २७ वर्षकै सफिक आलम तथा बंगलादेशी नागरिक ३० वर्षीय अजमत उल्लाह थिए । काठमाडौंमा बसेर उनीहरूले विभिन्न व्यवसाय गर्दै आएका थिए ।

बर्माबाट विस्थापित भएर बंगलादेशको शरणार्थी शिविरमा रहेका रोहिंग्या शरणार्थीलाई नेपालबाट अमेरिका जान पाइने भन्दै उनीहरूले काठमाडौं ल्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले घटनाको अनुसन्धान गरिरहेको छ ।

ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार एकै परिवारका ६ रोहिंग्या शरणार्थीलाई बंगादेशमा रहेका एजेन्ट र नेपालमा पक्राउ परेकाहरूले नेपाल पुर्‍याइदिने सर्तमा तीन लाख ५० हजार नेपाली रुपैयाँ लिएको खुलेको छ । घटनाबारे अनुसन्धान जारी रहेको उनले बताइन ।

एसएसपी सिंहले भनिन्, “शरणार्थीलाई नेपालबाट अमेरिका जान पाइन्छ  भनेर प्रलोभनमा पारेको देखिन्छ । उनीहरू बंगलादेशबाट लुकेर भारत प्रवेश गरेको र त्यहाँबाट विराटनगर हुँदै काठमाडौं ल्याएको देखिन्छ ।”

सुरक्षा निकायलाई प्राप्त जानकारीअनुसार उनीहरूले सन् २०२२ सम्म नेपालमा रोहिंग्या शरणार्थीको संख्या सात हजार पुर्‍याउन खोजेका छन् । यसका लागि दलालहरू सक्रिय छन् । नेपालमा आउँदा काम गर्ने वातावरण भएको, अरू मुलुकको जस्तो द्वन्द्वको अवस्था नरहेकाले उनीहरूले यहाँ आउन रकम नै तिर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

संयुक्त राष्ट्रसंघको तथ्यांकमा नेपालमा ४०० को हाराहारीमा रोहिंग्या शरणार्थी छन् । तर, तथ्यांकमा नसमेटिकाहरू पनि धेरै हुन सक्ने आकलन छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित लसुनटार र राम मन्दिर क्षेत्रमा रोहिंग्या मुस्लिम शरणार्थी बस्दै आएका छन् । म्यानमार अर्थात् बर्माको राकिने राज्यमा सन् २०१२ मा भड्किएको हिंसापछि रोहिंग्या मुस्लिम शरणार्थीले देश छाडेका थिए । उनीहरू बंगलादेशको बाटो भएर भारतको जोगवनी नाका हुँदै विराटनगरबाट काठमाडौं प्रवेश गरे ।

भारतबाहेक तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्दा भिसा प्रक्रिया अपनाउनुपर्छ । तर, बंगलादेश हुँदै भारत भएर सयौँ रोहिंग्या नेपाल आइपुग्दा समेत सरकारी संयन्त्रले जानकारी पाएन । खुला सीमाको फाइदा उठाउँदै उनीहरू नेपाल आइपुगेका हुन् ।

खुला सीमाबाट प्रवेश गरेका रोहिंग्या शरणार्थी नेपालका लागि भविष्यमा सुरक्षा चुनौती बन्न सक्ने सुरक्षा जानकारहरू बताउँछन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी उत्तमराज सुवेदी जुनसुकै देशका नागरिक भए पनि अर्को देशमा शरणार्थीको रूपमा बस्नु चुनौतीपूर्ण नै हुने बताउँछन् ।

उनले भने, “नेपालमा अहिलेसम्म शरणार्थीबाट सुरक्षामा चुनौती ल्याउने गतिविधि भएका छैनन् । तर, भविष्यमा नहोला भन्न सकिँदैन । यसमा सबै सचेत हुन जरुरी छ । प्रवेश गर्ने क्षेत्रहरूमा कडाइ गरिनुपर्छ ।”

शरणार्थीबाट छिमेकी देशविरुद्धका गतिविधि, विभिन्न आपराधिक गिरोहले उनीहरूलाई प्रयोग गर्न सक्ने जोखिम, जीवनयापनको बहानामा विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न रहन सक्ने जोखिम हुने गरेको डीआईजी सुवेदीको भनाइ छ ।

उनी भन्छन्, “शरणार्थीलाई कानुनले तोकेका भन्दा बढी कार्य गर्न दिइनु हुँदैन । शरणार्थीका काम गर्ने संघ–संस्थाका गतिविधिमाथि पनि निगरानी गर्न जरुरी हुन्छ ।”

नेपालमा लामो समयदेखि भुटानी शरणार्थी बस्दै आएका छन् । रोहिंग्या शरणार्थीबाहेक तिब्बती शरणार्थी पनि नेपालमा छन् । तर, पछिल्लो समय नेपालमा रोहिंग्या शरणार्थी आउने क्रम बढ्दो छ ।

प्रहरीले रोहिंग्या शरणार्थीको विवरण राख्ने, गतिविधिमा निगरानी राख्ने र आपराधिक वा गैरकानुनी कार्य गरेको पाइए कानुनी दायरामा ल्याउने काम गरिरहेको डीआईजी सुवेदीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro