काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष राजबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले बुधबार पदबाट राजीनामा दिएका छन् ।
सचिव प्याकुरेलले क्यानलाई स्थापित गर्न आफूले महत्वपूर्ण भुमिका खेलेको र अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ भनेर आफूहरूले राजीनामा दिएको बताए ।
‘‘आईसीसीले क्यानको सदस्यता निलम्बन फुकुवा गरेकै दिन हामीलाई अब पछि हट्नुपर्छ भन्ने लागेको थियो । तर, त्यतिबेला समय अझै परिपक्क भएको छैन भन्ने महशुस गर्यौँ,’’ प्याकुरेलले भने, ‘‘हामीले क्यानको विकल्प क्यान नै हो भनेर स्थापित गर्न ठूलो भुमिका खेल्यौँ । हामीले त्यसका लागि धेरै लडाइँ लड्यौँ । आज त्यो मुद्दा स्थापित भएको छ । यो उपलब्धीमा हामी गौरवान्वित छौँ । यसै गौरवको क्षणमा हामीले अब नयाँ नेतृत्वलाई अवसर दिनका लागि हामी पछि हट्ने निर्णय गरेका छौँ ।’’
सचिव अशोकनाथ प्याकुरेले क्यानका अन्य पदाधिकारीसँग कुनै विवाद नभएको दाबी गरे । तर, पछिल्लो समय क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग प्याकुरेलको सम्बन्धमा चिसोपना आएको थियो । दुई वर्षअघि आईसीसीको प्रत्यक्ष संलग्नतामा क्यानको चुनाव हुँदा चन्द समूह र विनयराज पाण्डेबीच प्रतिस्पर्धा भएको थियो । उक्त चुनावमा चन्द समूहले क्लिन स्विप गरेको थियो । चन्द समूहमा प्याकुरेल महत्वपूर्ण व्यक्ति थिए । तर, पछिल्लो समय चन्द समूहमा दुई धार देखा परेको बताइन्छ ।
‘‘क्यानमा दुई धार छ भन्ने चर्चा छ, त्यो होइन । हामीले क्यानलाई केन्द्र भागमा स्थापित गर्ने आफ्नो अभिभारा पुरा भएको ठानेका छौँ,’’ प्याकुरेलले राजिनामा दिनेक्रममा भने, ‘‘एकसमय थियो, क्यान नभए पनि क्रिकेट चल्छ भन्ने धरणा जबरजस्त रूपमा विकसित हुन थालेको थियो । क्यानलाई बाइपास गरेर क्रिकेटमा काम गर्न सकिन्छ भनेर राखेपले नै प्रयास गरेको थियो । तर, अन्तत क्यानको विकल्प क्यान नै हो भनेर हामीले स्थापित गरेका छौँ । क्यान स्वतन्त्र रूपमा संचालित छ । क्यान आफ्नो विधानअनुसार पूर्ण अधिकारसहित काम गर्न सक्षम छ । क्यान पूर्ण रूपमा लिकमा फर्किएको छ । पछिल्लो दश १० वर्षमा क्यानलाई स्थापित गर्न हामीले केन्द्र भागमा रहेर काम गर्यौँ । यसबीचमा प्राप्त उपलब्धी गर्ब गर्न लायक छ । अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्छ भनेर हामीले क्यानबाट अगल हुने निर्णय गरेका छौँ । यसले जसरी पनि पदमा टाँसिएर बस्नुपर्छ भन्ने मान्यताको अन्त्य भएको छ ।’’