नेपालको राजनीति अहिले सोचेभन्दा बढी नै तरल छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन जुनसुकै समयमा टुट्न सक्ने आधार प्रशस्त छन् । नेपालको राजनीतिक गाँठा दिनदिनै झन् झन् कसिँदै गएको देखिन्छ ।
राष्ट्रिय स्वार्थभन्दा अन्तराष्ट्रिय स्वार्थको ऐजेरुले जेलेको नेपालको राजनीतिलाई राष्ट्रिय स्वार्थको सेरोफेरोमा कसरी राख्ने र त्यसको नेतृत्व कसले लिने आज भन्ने प्रश्न नेपालीका सामु गम्भीररूपमा खडा भएकोछ ।
गठबन्धन सरकारको २ महिनामा न त मन्त्रिपरिषद्ले पूर्णता पाएको छ, न संसद् नै चल्न सकेकोछ । नेपाल सरकार नै ‘बजेट सटडाउन’ मा पुग्नुबाट नेपालको राजनीतिलाई सहज मार्गमा हिँडाउने भरपर्दो नेतृत्वको अभाव खड्किएकोछ ।
यही अस्थिरता तथा नेता र पार्टीबीचको अविश्वासलाई बढाएर आफ्नो दुनो सोझ्याउने बाहिरी शक्तिको चुनौती एकातिर छन् भने उग्र राष्ट्रवादी अवधारणा भएकाहरू नेपाली जनताबीच ध्रुवीकरण गर्न उद्यत देखिन्छन् ।
कुनै अमुक देशको सुरक्षाका लागि चिन्तित नेपालका केही विद्वान्, उग्र कम्युनिस्टहरूबाट नेपाल र नेपाली राष्ट्रियताको उपदेश सुन्नु परेकोछ ।
अर्कोतिर पार्टी तथा नेताका ‘अहंकार’ लाई मलजल गर्ने अस्थिरतावादी शक्ति एकै मञ्चमा बस्न, बोल्न, तर्क गर्नसमेत नरुचाउने गरी नेताहरूलाई विपरीत ध्रुवतिर धकेली रहेकाछन् ।
देशहितलाई केन्द्रमा राखेर राजनीतिक दल तथा तिनका नेताले अहंकार र अविश्वासलाई त्यागी अगाडि नबढ्ने हो भने देश उत्तर कोरिया वा कम्बोडियाको बाटोमा लाग्ने निश्चित देखिन्छ ।
यस डरलाग्दो अबस्थाबाट देशलाई मुक्ति दिन अवश्य पनि सबै पार्टीले विश्वास गर्न सक्ने नेताको जरुरी हुन्छ । विश्वासिलो नेतृत्वविना सहकार्य र समझदारी आकाशको फल हो ।
हिजो देश विभिन्न कोणबाट संकटमा फस्दा निकासको लागि नेपाली कांग्रेस र त्यसका नेताले नै नेतृत्व लिएका थिए । हुनत, आजको संकटमा पनि नेतृत्व चाहीनचाही कांग्रेसमै आएको देखिन्छ । तर, आफ्नै पार्टीलाई नेतृत्व दिन नसकेका देउवाले यस प्रकारको विशेष भूमिकाको जिम्मेवारी महसुससम्म गरेको पनि भान हुँदैन ।
देशमा तीन पक्षीय राजनीतिक शक्ति सक्रिय छन् । पहिलो, लोकतान्त्रिक दलहरू जसको मूलधारको नेतृत्व कांग्रेसले गर्छ । यसलाई केही विषयमा एमाले र एकथरी मेधसी दलले पनि साथ दिएको देखिन्छ । तर, कांग्रेसले नै यी पार्टीलाई आफ्नो विश्वासमा राखेर सहकार्य गर्ने वातवरण दिनसकेको छैन ।
दोस्रो पङ्क्तिमा उभिएको छ मध्यमार्गी कम्युनिस्ट शक्ति जसको मूलधारको प्रतिनिधित्व नेकपा (एमाले)ले गरेको छ । यसलाई पनि केही मधेसी दलको साथ देखिन्छ । परन्तु, एमाले आफैँभित्रको लुछाचुँडीबाट टुक्रिन पुगेकोमा छ । सम्हालिदै गरेकोको एमालेलाई खड्गप्रसाद ओलीको छुचो व्यवहारका कारण अन्य मध्यमार्गी कम्युनिस्टले विश्वास गर्न सकेका छैनन् ।
अर्को लाममा उभिएकाछन् उग्र कम्युनिस्टहरू जसको नेतृत्व पुष्पकमल दाहालले गर्छन् । थुप्रै समूहमा विभाजित दर्जनौ उग्र कम्युनिस्ट पार्टीले देश र जनतालाई उग्रराष्ट्रवादमा पनि फसाएकाछन् भने समाजमा नकरात्मक विचार फैलाएर असहिष्णुता रोपी रहेकाछन् ।
यस्तो परिस्थितीबाट देशलाई मुक्त गर्न अवश्य पनि सबै राजनीतिक समूहको स्वार्थ सम्बोधन गर्नसक्ने कुशल नेतृत्वको खाँचो हुन्छ । हिजो यस प्रकारको विषम अवस्थामा गणेशमान, कृष्णप्रसाद, गिरिजा तथा सुशील कोइरालाको भूमिका देखिएको थियो । आज पनि नेतृत्व गर्ने जिम्मा कांग्रेसको नै हो ।
दर्जनौ टुक्रामा विखण्डित र एकले अर्कोको अस्तित्वसमेत स्वीकार्न नसक्ने अवस्थामा रहेका कम्युनिस्टहरूले सबै राजनीतिक समूहको नेतृत्व गर्ने कुरा असम्भव देखिन्छ । यसकारण पनि कांग्रेस र यसको हालको नेतृत्वले यस सङ्कटलाई सम्बोधन गर्न सक्नुपर्ने देखिन्छ ।
दुःखको कुरा कांग्रेसको नेतृत्व भने झोक्राएर बसेको देखिन्छ । प्रधानमन्त्री देउवाले सबै राजनीतिक समूहसँग ‘वान अन वान’ भेटघाट तथा वार्ता गर्ने र उनीहरूको स्वार्थलाई केही न केही सम्बोधन गर्ने गर्नु आवश्यक छ ।
पछिल्लो अध्यादेशबाट चिढिएका केपी, हिजोका विश्वासपात्रबाट एक्लिएर शक्तहीन हुन पुगेका माधव र भोलिको चिन्तामा डुबेका दाहालसँग देउवाको भेटघाट र वार्ता हुनु आवश्यक हुन्छ ।
आगामी चुनाव, बजेट, संसद्को बाँकी कार्यकाल र एमसीसीको सबालमा पटकपटक संवाद गराउन कांग्रेसले विज्ञहरूको एए समूह नै बनाएर गृहकार्य गर्नुपर्ने देखिन्छ । अनिमात्र देशको नेतृत्व गर्ने र निकास दिने वातवरण बन्न सक्छ ।
विषम परिस्थितिमा देशको नेतृत्व गरिरहेका देउवाले पार्टी सभापति पदका लागि आफ्नो सबै शक्ति, स्रोत प्रयोग गरेर देशलाई नेतृत्वविहीन बनाई रहेकाछन् । यसले कांग्रेसको हिजोदेखिको राष्ट्रिय नेतृत्वकारी भूमिका अन्त्य गराउन सक्नेछ ।
काग्रेस समर्थक विद्वत् वर्ग, युवा नेताले पार्टी माहाधिवेशनसँगै राष्ट्रिय परिस्थितिलाई आफ्नो समय दिनुपर्छ । आजको यस राजनीतिक दिशाहीनता, नेतृत्वहीनता र अराजकताको अन्त्यको पहल पक्कै पनि कांग्रेसकै अभिभारा हो । समयले फेरी जिम्मा लगाएकोछ । जिम्मेवार हुनु अत्यन्त जरुरी छ ।