काठमाडौं । नेपालमा कोभिड १९ विरुद्धको खोप क्लिनिकल ट्रायल १० दिनभित्र सुरु हुने भएको छ । अहिले चीनबाट खोप ल्याउने प्रकृया भइरहेको र ट्रायल सुरु गर्न एक हप्तादेखि १० दिन लाग्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।
गत भदौ १० गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा हैजा र कोभिड १९ विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको थियो । एमआरएनए खोपको तेस्रो चरणको ट्रायलका लागि चीनको वालभ्याक्स कम्पनीले खोप ल्याउने तयारी गरिरहेको छ ।
ट्रायलका लागि नेपालको देउराली जनता फर्मास्युटिकल्स कम्पनीले लोकल पार्टनरको रुपमा काम गर्नेछ । ट्रायल सफल भएपछि देउरालीले नेपालमा नै सो खोप उन्पादन सुरु गर्ने बताइएको छ ।
ट्रायलको खोपमा सहभागी हुन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन हजार स्वयम्सेवक तयार रहेको डा. ज्ञवालीले बताए ।