काठमाडौं । विश्व बक्सिङ च्याम्पियनसिप प्रतियोगिताका लागि खुला छनोट सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खेलाडीको छनोट प्रतियोगिता सुरु भएको हो ।
नेपाल बक्सिङ संघको आयोजनामा सुरु भएको छनोट प्रतियोगितामा ५ स्पर्धाका लागि ३२ खेलाडीले सहभागिता जनाएका छन् । छनोट प्रतियोगिताको पहिलो दिनको पुरुष ६७ किलोतौल समूहमा नक्सालका अश्विन धिरज श्रेष्ठले नक्सालकै एबल थापालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै ५७ किलोतौल समूहमा विभागीय टोली एपीएफका पुरन राईले एचटुओका बुद्ध ग्यालमो लामालाई पराजित गर्दै सेमिफाइनल पुगेका छन् । त्यसैगरी अर्को विभागीय टोली नेपाल आर्मीका पुरन सुनवारले अल्फाका रेमन पुनलाई, दाङका निसम घर्ती मगरले नेपाल प्रहरीका शम्भु राजवंशीलाई र बक्समान्डुका सरोज महर्जनले आर्मीका सुदिप श्रेष्ठलाई हराउँदै सेमिफाइनल यात्रा पक्का गरेका छन् ।
छनोट प्रतियोगिता सोमबारसम्म चल्ने छ ।
पुरुष विश्व बक्सिङ च्याम्पियनसिप सर्बियाको वेलग्रेडमा आगामी अक्टोबर २५ देखि नोभेम्बर ६ तारिखसम्म हुँदैछ ।