काडमाडौँ । सरकार गठन गरेको केही दिनमै तालिबान नेताहरूबीच विवाद उत्पन्न भएको छ ।
नयाँ सरकारको संरचना र जितको श्रेय लिने विषयमा नेताहरूबीच विवाद भएको हो । काबुलस्थित राष्ट्रपति कार्यलयमा तालिबानका सह–संस्थापक एवं उपप्रधानमन्त्री मुल्लाह बरादर र हक्कानी नेटवर्कका प्रभावशाली नेता एवं शरणार्थी मामिला सम्बन्धी हेर्ने मन्त्री खालिल उर रहमानबीच चर्काचर्की भएको तालिबान अधिकारीले पुष्टि गरेको बीबीसीले जनाएको छ । उनीहरूबीच भनाभन भएपछि एकअर्काका समर्थकहरूले पनि झगडा गरेका थिए ।
तालिबानका सह–संस्थापक एवं अन्तरिम सरकारका उप प्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरादर सार्वजनिक रूपमा देखा पर्न छाडेपछि तालिबानभित्रको विवाद सतहमा आएको हो । तालिबान स्रोतकाअनुसार नयाँ सरकारको संरचनाबारे उप–प्रधानमन्त्री बरादर खुसी छैनन् ।
तालिबानले भने आधिकारिक रूपमा नेताहरूबीच विवाद भएको अस्वीकार गरेको छ । तालिबान आफूहरू एकतावद्ध रहेको देखाउन चाहन्छ ।
अगस्ट १५ मा अफगानिस्तानको सत्ता कब्जा गरेपनि तालिबानले देशलाई इस्लामिक इमिरेट घोषणा गरिसकेको छ ।
जितको श्रेय कस्लाई ?
तालिबानभित्रको दुई समूहबीच जितको श्रेय कसले लिने भन्ने विषयमा पनि गम्भीर मतभेद भएको थियो ।
उप–प्रधानमन्त्री बरादरले जित हासिल गर्नुमा आफूहरूको कुटनीति र रणनीति रहेकोमा जोड दिएका थिए । बरादर तिनै व्यक्ति हुन् जसले तालिबानका तर्फबाट पहिलोपटक २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेका थिए । अमेरिकासँग दोहा सम्झौतामा तालिबानको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति पनि बरादर नै हुन् । सोही सम्झौताअनुसार नै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएको हो ।
उता, हक्कानी नेटवर्कका नेताले भने युद्धबाट जित हासिल गरेको दाबी गरेका थिए । पछिल्लो दुई दशकमा हक्कानी नेटर्वका लडाकुहरूले अफगान सैनिक र उसलाई सहयोग गरिरहेको अमेरिकी नेतृत्वको पश्चिमा सैनिकहरूमाथि घातक आक्रमण गर्दै आएको थियो । अमेरिकी सेना फिर्ता हुनुपूर्व नै तालिबानले अफगानिस्तान कब्जा गर्नुमा युद्धको प्रमुख भूमिका रहेको यो समूहको दाबी छ ।
हक्कानी नेटवर्कलाई अमेरिकाले आतंकवादी समूहमा राखेको छ । हक्कानी नेटवर्कका नेता सिराजुद्दीन हक्कानी अन्तरिम सरकारका गृहमन्त्री हुन् । उनलाई संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ ।
कहाँ छन् बरादर ?
उप–प्रधानमन्त्री बरादर धेरै दिनदेखि सार्वजनिक रूपमा देखा परेका छैनन् । उनी सार्वजनिक रूपमा देखा नपरेपछि हक्कानी समूहसँगको झडपमा उनको मृत्यु भइसक्यो भन्ने सम्मका हल्ला सामाजिक सञ्जालमा चले ।
तर, सोमबार बरादरले एउटा श्रव्य सन्देश जारी गर्दै जहाँ भएपनि आफू सुरक्षित भएको बताएका छन् । तालिबानको वेवसाइटमा राखिएको उक्त श्रव्य सामग्रीलाई बीबीसीले प्रमाणित गर्न नसकेको बताएको छ ।
तालिबानका एक प्रवक्ताले उनी सर्वोच्च नेतालाई भेट्न कान्दाहार गएको बताएका थिए । तर, पछि बीबीसी पाश्तोसँगकुरा गर्दै उनी थकित रहेको र आराम गर्न चाहेको बताएका थिए । तालिबानको दुईथरी कुराले बरादरको अवस्थाको बारेमा झनै आशंका बढाएको छ ।
अझै देखिएनन् सर्वोच्च नेता
तालिबानले सत्ता कब्जा गरेको एक महिना पुगिसकेको छ । तर, तालिबानका सर्वोच्च नेता हिबातुल्लाह अखुन्दजादा अहिलेसम्म सार्वजनिक भएका छैनन् । तालिबानले सर्वोच्च नेता छिट्टै सार्वजनिक हुने बताउँदै आएपनि अहिले सम्म सार्वजनिक नहुँदा उनी जीवित छन् या छैनन् भन्ने सम्मका विभिन्न आशंकाहरू उत्पन्न भएका छन् ।
तालिबानले तत्कालिन सर्वोच्च नेता मुल्लाह ओमारको २०१३ मा मृत्यु भइसकेपछि पनि २०१५ सम्म उनकै नामबाट कामकारबाही गर्दै आएको थियो । तालिबानको यो इतिहासले पनि उसको अभिव्यक्तिमा आशंका गर्न बल पुर्याएको छ ।