नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा रोल्पाली महिलाको भूमिका उल्लेखनीय रह्यो । तत्कालीन माओवादी विद्रोहको नाममा हजारौं रोल्पाली महिलालाई प्रत्यक्ष युद्धमा प्रयोग गरियो । पुरुषवादी राज्यसत्ताको चरित्र र परम्परागत व्यवस्थाविरुद्ध प्रत्यक्ष होमाइएका महिलाहरूको जीवनमा नयाँ र फरक दिनचर्याको परिकल्पना गरिएको थियो । उनीहरूले आफ्नो त्यो त्याग र वलिदानले आउँदो पुस्ताका महिला र समग्र नेपालीको जीवनमा परिवर्तनको अपेक्षा पक्कै गरेका थिए ।
माओवादी सशस्त्र द्वन्द्वका बलमा औँलामा गन्न सकिने केही महिलाले तिनको कल्पनाको जीवन पक्कै भोगेका छन् । रोल्पाली माटोबाटै उदाएका महिलाहरं राज्यसत्ताको उच्च ओहदामा समेत पुगिकेका छन् । राज्यसत्ताको महत्त्वपूर्ण अंग व्यवस्थापिका संसद् र संसदीय समिति तथा राज्यका अन्य विभिन्न तहको नेतृत्व गरिसकेका वा गरिरहेका रोल्पाली महिलाको जीवन शैली देख्दा अन्य नेपाली महिलालाई लाग्दो होला सायद सबै रोल्पाली महिला भाग्यमानी छन् र सबै रोल्पाली महिला यत्तिकै सशक्त तथा आत्मनिर्भर छन् ।
विगतको हिंसात्मक द्वन्द्वको समयमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा विभिन्न मोर्चामा रहेर देशमा हलचल मच्चाएका ती महिला अहिले कहाँ के गर्दैछन् भन्ने प्रश्न उठ्नु सामान्य हो । रोल्पाली महिलाले आन्दोलनको समयमा पनि आफ्नो र परिवारको जीविकोपार्जनका लागि स्थानीय सीप अनुसारको कर्म गरिरहेका थिए । विशेषगरी महिलाहरूले भाङ्गोका डल्ला बनाउने, झोला, मोजा र स्विटर बुन्ने, परालको गुन्द्री बनाउने, भाङ्गोका बोल्ला बुन्ने, औषधिजन्य वनस्पतिहरू सुमो, टिम्मुर, सठुवा, ओखर आदि संकलन, प्रशोधन र विक्री गर्नेलगायतका स्थान विशेषको आर्थिक कार्यमा संलग्न हुनेगरेका थिए ।
आन्दोलनमा सरिक हुनुको मुख्य कारण गरिबी र विभेद नै थियो । विभेदको अर्को छुट्टै पक्ष होला तर आर्थिक गरिबी र स्रोतको अभाव नै तत्कालीन माओवादी हिंसालाई सघाउनुको प्रधान कारण थियो । जिल्लाभित्र कुनै पनि औपचारिक रोजगारीको स्रोत थिएन । जिम्मुवाल, मुखिया र सरकारी अधिकारीले त्यहाँका स्थानीय महिला, दलित र गरिबलाई हदैसम्मको हिंसा र विभेद गरेका थिए । माओवादीले भौगोलिक अवस्थितिको साथै यो पक्षलाई एकदमै चलाखीपूर्ण रणनीतिका साथ प्रयोग गरे । विशेषगरी मगर र दलित समुदायलाई लक्षित गरेर योजनाबद्ध प्रयोग गरियो । सोही रणनीतिबमोजिम महिलालाई समेत प्रत्यक्ष रणमा प्रयोग गर्यो ।
जुन उदेश्यले त्यो रक्तपात भएको थियो त्यसको औचित्य पुष्टि गर्न र आन्दोलनलाई संरक्षण गर्न नसक्ने अवस्थामा स्वयं माओवादी नै पुगेको देखिन थालेको छ । विद्रोहको नेतृत्व गरेका नेताहरू एक ठाँउमा छैनन् । तत्कालीन लडाकु र कार्यकर्ताको कुनै प्रष्ट लेखाजोखा देखिँदैन । स्थानीय महिला कार्यकर्ताको अवस्था पनि राम्रो छैन । युद्धको समयमा पनि स्थानीय आयस्रोतको माध्यम ताखु नछोडेका महिला अहिलेको विकृत सामाजिक सञ्जाल र 'गेमिङ' संकृतिले ग्रसित भएका छन् । अधिकांश स्थानीय महिला मौलिक आयस्रोतको कार्य छोडेर सामाजिक सञ्चाल फेसबुक, टिकटक र मोबाइल गेम क्यान्डीक्रसमा झुमिरहेका छन् ।
साम्राज्यवादी र विस्तारवादीले नेपाललाई गुलाम बनाउन लागे भनेर हिजो आन्दोलन गरेका ती पौरखी महिला अर्को स्वरूपबाट गुलाम बनाइएका छन् । हिजोका दिनमा महिलाहरू मेलापात र गाईबाख्रा चराउन जादाँ हातमा ताखु र सुइरो अनि काँधमा भाङ्गो र धागो हुन्थ्यो । तर आज ती हातमा मोबाइल छन् । अहिले निरक्षरका हातमा पनि सामान्यतया २० देखि ३० हजारसम्मका मोबाइल हुन्छ र प्रायः उनीहरूको मोबाइलमा क्यान्डीक्रस गेम हुने गर्छ । आजभोलि उनीहरू ताखु र सुइरो छोडेर क्यान्डीक्रसमा रमाइरहेका हुन्छन् ।
मोबाइल प्रयोग गर्नु नै गलत होइन र वर्तमान प्राविधिक भूमण्डलीकरण र विश्वव्यापीकरणको अवस्थामा सूचना प्रविधिको प्रयोग अनिवार्य नै छ । तर, अहिले जसरी यसको प्रयोग भइरहेको छ त्यो अत्यन्तै गलत र खर्चिलो छ । हिजो जुन विषय उठाएर हामीले संघर्ष गरेका थियौँ आज त्यसैको मतियार भइरहेका छौँ भन्ने बुझ्न भने तिनले सकेको देखिँदैन ।
विगतमा माओवादीका स्थानीयदेखि विभिन्न मोर्चामा लागेर सामाजिक र आर्थिक जीवनमा परिवर्तन गर्न लागेका महिला नै अहिले गुलामीको नयाँ अवतारको मतियार भइरहेका छन् । मैले विगतमा मेरो गाउँमा देखेका ती क्रान्तिकारी महिला अहिले क्यान्डीक्रसका खेलाडी भएका छन् । तर, हिजोका सोझासाझा र निरन्तर आफ्नो काम गरिरहेका महिला भने अहिले पनि ताखु र कुरसमा रमाइरहेका छन् । उनीहरूको नियमित आम्दानीको स्रोत पनि कायमै छ ।
वर्तमान परिवेशमा नयाँ प्रविधिको प्रयोग र त्यसको फाइदा सबैले लिनुपर्छ तर त्यसको दुरुपयोग कसरी भइरहेको छ र त्यसले स्थानीय जीवनस्तरमा कस्तो प्रभाव परिरहेको छ भन्नेमा सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ । स्थानीय तहले स्थानीय सीप, कला र दक्षताको नियमित उपयोग र पुस्तान्तरणमा जोड दिनुपर्छ । कुनै पनि विद्रोह वा आन्दोलन फगत केही व्यक्तिको शक्ति आर्जनको माध्यममात्र बन्नु हुँदैन र त्यसले बहुजनको हित गर्नुपर्छ । आन्दोलनमा होमिदाको जोस र ऊर्जाले राजनीतिक व्यवस्था परिवर्तनमात्र होइन सकारात्मक सामाजिक र आर्थिक रुपान्तरण गर्न सक्नुपर्छ । स्थानीय मौलिक आर्थिक क्रियालापको विस्तार र औद्योगीकरणले मात्र देशको समग्र आर्थिक सम्पन्नता प्राप्त गर्न सकिन्छ ।