चारुमतीको रहस्य
(बालकथा : सुशीला देउजा)
बालबालिकामा पठन संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने वस्तु हो बाल चित्रकथा । कुनै पनि कथालाई चित्रहरूको साथ जोड्ने हो भने त्यसले सानासाना पाठकहरूको मनलाई जित्ने निश्चित छ । कथामा विभिन्न चित्रहरूको संयोजन गर्दै कथालाई पठनीय बनाएको हुन्छ चित्रकथाले । यस्ता कथा पठनीय मात्र नभएर मननीय पनि हुन्छ । साहित्यकार सुशीला देउजा बालसाहित्यमा पनि सक्रिय छिन् । उनका धेरै पुस्तक बालसाहित्यकेन्द्रित छ । देउजाको एउटा रोचक बालकथाको पुस्तक हो, ‘चारुमतीको रहस्य’ ।
चित्रसहितको यस बालकथामा चर्चित कार्टुनिष्ट अविन श्रेष्ठले चित्र कोरेका छन् । यसरी चित्रहरूले कथा बोल्दै गरेको यस कृतिमा प्रस्तुत कथा रोचक र पठनीय रहेको छ ।
एउटा मात्र कथामा तयार यस चित्रकथाको सम्पादन कार्तिकेयले गरेका छन् ।
बालसाहित्य प्रतिष्ठान नेपालद्वारा सम्पूर्णतः रंगीन कलेवरमा प्रकाशित २०+४ पृष्ठको यस बाल चित्रकथाको मूल्य २०५– रुपैयाँ राखिएको छ ।
० ० ०
दीपक र दीपकहरू
(लघुकथासंग्रह : दीपक लोहनी)
दीपक लोहनी कथा, लघुकथा र कवितामा निरन्तर फेला परिरहने नाम हो । उनको पहिलो काव्यकृति २०४९ सालमा नै प्रकाशित भएको हो । ‘आन्दोलनले छटपटाएका कलमहरू’ शीर्षकको काव्यकृति उनको पहिलो कवितासंग्रह थियो भने त्यसपछि उनले ‘असहमतिका पाइलाहरू’ कथासंग्रह प्रकाशनमा ल्याए ।
त्यसपछिको लामो समय ग्याप रह्यो, पुस्तक प्रकाशनका दृष्टिकोणबाट । किनभने, बीचमा उनको कुनै पुस्तक प्रकाशनमा आएको देखिँदैन । ‘दीपक र दीपकहरू’ उनको तेस्रो कृति हो, जुन लघुकथासंग्रहका रूपमा केही समयअघि सार्वजनिक भएको हो ।
एकताका दीपकमणि दाजुभाइका नामबाट साहित्यिक चर्चा र टिप्पणी लेख्ने दीपकमणिका दाइ दीपक लोहनीको यो कृतिमा उनले लेखेका लघुकथाहरू समेटिएको छ । दीपक भन्छन्, ‘जीवन एउटा लघुकथा हो । पछिल्लो समय मलाई यही लाग्छ । जता हेर्छु, दिक्, काल, नित्य–अनित्य, भ्रम र यथार्थ मात्र । छन् हाँसो र खुसीहरू । एकमा अनेक छन् । फेरि अनेकमा एक छन् । जीवन हेर्छु विषयको उठान छ, कौतुहलता छ ।...’
यस पुस्तकको भूमिकामा कवि विधान आचार्य लेख्छन्, ‘यस किताबमा दीपक भनेको स्वयम् लेखक हो, अर्थात् लघुकथामा जति पनि ‘म’हरू उल्लेख छन्, ती दीपक हुन्, दीपकहरू हुन् ।...’
दीपक लोहनीको यस लघुकथाकृतिमा भूमिका लेखेका छन्, ममता मृदुल, श्रीओम रोदन, विधान आचार्य, किशोर पहाडी र मणि लोहनीले । २४ वटा लघुकथाहरू समावेश यस कृतिमा समसामयिक विषयमाथि लघुकथाहरू लेखिएका छन् ।
नारी स्रष्टा समाज, विराटनगरद्वारा प्रकाशित ७४+४ पृष्ठको यस पुस्तकको मूल्य २००– रुपैयाँ राखिएको छ ।
० ० ०
आधुनिक माधवी
(कथासंग्रह : रामकुमार पण्डित क्षेत्री)
नेपाली कथा साहित्यमा रामकुमार पण्डित क्षेत्री पछिल्लो लामो समयदेखि क्रियाशील छन् । उनको पहिलो कृति २०७१ सालमा प्रकाशित भएको हो । ‘देशका खोजी’ शीर्षकको लघुकथासंग्रह उनले पहिलोपटक प्रकाशनमा ल्याएका हुन् ।
केही समयअघि उनको कथासंग्रह ‘आधुनिक माधवी’ प्रकाशनमा आएको छ । यो उनको पहिलो कथासंग्रह हो । यसअघि बालकविता, लघुकथा र कवितासंग्रह गरेर तीनवटा पुस्तक ल्याइसकेका छन् । आधुनिक माधवी उनको चौथो कृति हो ।
डा. विष्णु केसी आफ्नो भूमिकामा लेख्छन्, ‘कथाकार रामकुमार पण्डित क्षेत्रीका १४ कथाको सरसर्ती निरीक्षण गरी हेर्दा उनले समाएका विषयहरू वर्तमान समाजका विकृति विसंगतिकै यथार्थ तथ्यहरू हुन् भन्ने देखिन्छ । ‘साहित्य समाजको ऐना हो’ भन्ने सन्दर्भ उनका कथामा पनि साकार भएका छन् ।
आधुनिक माधवीमा रामकुमार लिखित १४ वटा कथाहरू समेटिएका छन् ।
शब्दार्थ प्रकाशनद्वारा प्रकाशित १२४+४ पृष्ठको यस पुस्तकको मूल्य २५०– रुपैयाँ राखिएको छ ।