
काठमाडौं । कोठमाडौंको चोभारमा डेढ अर्बभन्दा माथिको लागतमा सुक्खा बन्दरगाहकाे निर्माण सम्पन्न भएको छ । विश्व बैंकको ऋण सहयोगमा निर्माण गरिएको सुक्खाा बन्दरगाह निर्माण सम्मन्न भएर सञ्चालनको चरणमा पुगेको नेपाल इन्टरमोडेल यातायात विकास समितिले जनाएको छ ।
०७५ माघ ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह सञ्चालनको चरणमा पुगेको हो । सुरुमा स्थानीयको अवरोध र त्यसपछि कोभिड–१९ का कारण भएको पहिलो चरणको लकडाउनले निमार्णमा ढिलाइ भए पनि पछिल्लो ६/७ महिनामा निर्माणकार्यले गति लिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनका अनुसार पछिल्लो ६/७ महिनामा ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।
सुरुमा बन्दरगाह स्थानीयको विरोध र कोभिडका कारण निर्धारित समयभन्दा १४ महिना ढिलो गरी सञ्चालनको चरणमा पुगेको हो । ०७५ को माघमा शिलान्यास भएको बन्दरगाह १८ महिनामा सक्ने लक्ष्य लिइएको थियो । “सुरुमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, सुरुमा स्थानीयको अवरोधले ६ महिना र पहिलो चरण कोभिडले ६ महिना तथा दोस्रो चरण्को कोभिडले २ महिना समय थप भयो, यसरी हेर्दा १४ महिना समय थप भयो,” गजुरेलले भने ।
भौतिक संरचना तयार भएसँगै अब भन्सार कार्यलय क्वारेन्टाइन तथा अन्य प्राविधिक कार्य गरेर चोभारको बन्दरगाह सञ्चालन गर्नसकिने गजुरल बताउँछन् । उनका अनुसार बन्दरगाह सञ्चालनमा आएसँगै काठमाडौं आसपासका लागि आयात भएका सामान सिधै चोभारको सुक्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने छ ।
“भौतिक संरचना तयार भएको छ । अब भन्सार, तथा क्वारेन्टाइन कार्यले र बैंकको कार्यालय स्थापन गरी प्राविधिक कार्य पूरा गरी बन्दरगाह सञ्चालन गर्न तयार छौँ,” उनले भने, “बन्दरगाहको निगरानीका लागि ‘सर्भेलेन्स रुम’बाट परीक्षण भइरहेको छ, बन्दरगाह सञ्चालनका लागि तयार भएको छ ।”
विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोडमा २६१ रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा केही नयाँ प्रविधिको पनि प्रयोग गरिएको गजुरेल बताउँछन् । बन्दरगाहमा हुने ध्वनी प्रदूषण बाहिर जान नदिन नेपालमै पहिलोपटक बन्दरगाहमा ध्वनि रोक्ने प्रविधिको प्रयोग गरिएको उनले बताए ।
हिमाल सिमेन्टको कुल २६१ रोपनी जग्गामा संरचना निमार्ण भएकोमा २२० रोपनी क्षेत्रफलमा बन्दरगाहको संरचना फैलिएको छ भने ४१ रोपनीमा बन्दरगाहमा काम गर्न कर्मचारीको लागि आवाश निर्माण गरिएको उनले बताए । बन्दरगाह परिसरमा भन्सार, क्वारेन्टाइन भन्सार एजेन्ट र बैंकको कार्यालयको लागि पनि पूर्वाधार तयार भएको छ ।
डामेस्टिक र इन्टरनेसनल यार्ड छुट्टाछुट्टै
अहिले नै बन्दरगाहमा डोमेस्टिक र इन्टरनेसन यार्डलाई छुट्याउने गरी पूर्वाधार तयार भएको छ । बन्दरगाहमा ठुला कन्टेनर जान र निस्कन तीनवटा गेट रहेको छ । जसमध्ये एउटा डोमेस्टिक यार्ड र एउटा इन्टरनेसनल यार्डका लागि तथा बीचमा रहेको गेट भने डोमेस्टिक र इन्टरनेसनललाई छुट्याएर दुवै यार्डको इमरजेन्सीका लागि प्रयोग गरिनेछ ।
बन्दरगाहमा पाँच सय ट्रक र सोही हाराहारीमा कन्टेनर अट्ने गरी संरचना तयार पारिएको छ ।
व्यवसायीको ‘लजिस्टिक कस्ट’ घटाउँछ
काठमाडौंमा नै जाँचपास क्लियर हुने र जाँचपास क्लियर हुनासाथ उपभोक्ताकोमा सामान पुर्याउन सकिने भएकाले व्यवसायीको लजिस्टिक कस्टमा पनि कमी आउने इनटरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेल बताउँछन् । “नेपालमा आयात हुने ६०/७० प्रतिशत सामानको उपभोग काठमाडौंमा नै हुने हो । भोलिको दिनमा व्यवसायीले काठमाडौंको सामान काठमाडौंमै क्लियर गर्छु भन्दा उसले त्यो सुविधा पाउने भयो,” उनले भने, “अहिले पनि वीरगञ्ज विराटनगर भैरहवातिर भन्सारमा गाडीको चापले केही समय पालो कुनुपर्ने अवस्था छ । अब सिधै यही आएर जाँचपास गर्न सकिने भएपछि उताको चाप पनि कम हुने भयो । व्यवसायीले पनि जाँचपास क्लियर हुनासाथ आफ्नो सामान उपभोक्तामाझ पुर्याउन सक्ने भए । यसले लजिस्टिक कस्ट घटाउने भएकाले व्यवसायीलाई पनि फाइदा हुन्छ ।”
बन्दरगाहमा डोमेस्टिक यार्ड पनि भएकोले जाँचपास भएको सामान गोदाममा राख्ने र पार्किङ गर्न पनि सुविधा हुने उनले बताए ।
“चोभार सुक्खा बन्दरगाह काठमाडौं तराई द्रुतमार्गसँग जोडिएकाले फास्ट ट्रयाक बनिसकेपछि वीरगञ्जबाट आउने दुरी पनि कम हुन्छ,” गजुरेल भन्छन्, “वीरगञ्ज नाकाबाट नेपाल भित्रिएको सामान सिधै यहाँ आएर जाँचपास हुने भएपछि उपभोक्ताकोमा पनि सामान तुरुन्तै पुर्याउन सकिन्छ । आयातित वस्तु सबैभन्दा धेरै उपभोग हुने ठाउँमा नै भन्सारको सुविधा हुने भयो । भोलिको दिनमा काठमाडौंबाट हुने निर्यातको पनि यही सुक्खा बन्दरगाहबाट प्रक्रिया पुर्याएर गर्न सकिन्छ ।”
आयात र निर्यात दुवैका लागि सहज हुँदा व्यवसायीको लजिस्टिक कस्ट घटाउने उनको दाबी छ । बन्दरगाह सञ्चालनमा आएसँगै नाकामा सानो प्रक्रिया पूरा गरेपछि सिधै काठमाडौं आएर जाँचपास गर्न सकिने उनले बताए ।