
काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिस कम्पनी लिमिटेड (चेस्को)ले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । चिलिमे हाइड्रोपावर लिमिटेडको सहायक कम्पनी चेस्कोले आईपीओ निष्कासन गर्नका लागि गरेको रेटिङमा ट्रिपल बी स्कोर पाएको छ ।
कम्पनीले दुई लाख ९७ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
चेस्कोले चिलिमेलाई सतप्रतिशत लाभांश दिँदै आएको छ । चेस्कोको अपरेटिङ प्रोफिट मार्जिन साढे २२ प्रतिशत रहेको छ । चिलिमेले चेस्कोको स्थापना सन् २०१६ मा भएको हो । कम्पनीले जलविद्युत्लगायत अन्य पूर्वाधार निर्माणमा परामर्श तथा प्राविधिक सेवा दिँदै आएको छ ।
गत वर्ष कम्पनीले १४ करोड ८० लाख रुपैयाँ व्यापार गरेको छ । २०२३ मा १५ करोड ५० लाख, २०२२ मा १२ करोड १० लाख र २०२१ मा ११ करोड ९० लाख रुपैयाँको व्यापार गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
माउ कम्पनी चिलिमेले २२ मेगावाटको चिलिमे आयोजना सञ्चालन गरिरहेको छ । चिलिमेले सहायक कम्पनीमार्फत २७० मेगावाटको चार ठूला जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । चिलिमे हाइड्रोले राजधानीको धुम्बराहीमा चिलिमे टावर निर्माण गरिरहेको छ ।