नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तालिका पटक-पटक सार्वजनिक गरिए पनि महाधिवेशन हुने वातावरण निर्माण गर्न सकिएको वा खोजिएको देखिएन । आफैँले तोकेको समयमा महाधिवेशन सम्पन्न गराउन नसक्नु नेतृत्वको असफलता त हो नै सिंगो पार्टीलाई नै दुर्घटनातर्फ घचेट्नु हो ।
विधानले तोकेको समयमा पार्टीको महाधिवेशन गर्न नसकी वैधानिकतासमेत गुमाउने अवस्थामा पुग्नु नेतृत्वका लागि नैतिक संकटमात्र होइन लाजमर्दो विषय पनि हो । यसबाट नेतृत्व असफल, अक्षम र अपरिपक्व रहेको प्रमाणित हुन्छ । यो लेख तयार पर्नेसम्म चमत्कार भएबाहेक तालिकाअनुसार महाधिवेशन हुने परिस्थिति देखिँदैन ।
आफ्नो पार्टीको नेतृत्व गर्न असफल नेताबाट देश र जनताको नेतृत्व कसरी होला ? आफ्नै कार्याकर्ताले विश्वास नगरेको नेतृत्वलाई सामान्य नागरिकले कसरी विश्वास गर्न सक्लान् ? पार्टीको वैधानिकतासमेत जोगाउन नसक्ने नेतृत्वबाट जनताको भविष्य सुरक्षित होला, नागरिक अधिकारको रक्षा होला भने विश्वास गर्न सकिन्छ र ?
महाधिवेशन किन सम्पन्न गर्न सकिएन भन्ने बारेमा नेतृत्व तहमा रहेको कसैसँग पनि चित्तबुझ्दो जबाफ छैन । यसैले कसैले जवाफ पनि दिन खोज्दैनन् । बरु अरूलाई आरोप लगाएर पन्छिन खोज्छन् । जवाफ नै दिए पनि विश्वास गर्ने कुनै आधार हुँदैन ।
राष्ट्रिय राजनीतिक पार्टीमा नेतृत्वका एक/दुई जना वा सीमित व्यक्ति वा कार्याकर्ताको भविष्यमात्रै जोडिएको हुँदैन । सामान्य जनताको भविष्यका साथै राष्ट्रको स्वाभिमान पनि जोडिएको हुन्छ । राष्ट्र र जनताको भावनासँग जोडिएको हुनाले राष्ट्रिय राजनीतिक दलको नेतृत्व जिम्मेवार र जवाफदेही हुन सक्नुपर्छ भनिएको हो । जनअपेक्षा पनि यही हुन्छ ।
नेपाली कांग्रेसको नेतृत्वले जनविश्वास जित्न पनि जिम्मेवार एवं जवाफदेही भएर समयमा महाधिवेशन गराउनु पर्थ्यो । नेपाली कांग्रेसको इतिहास बारेमा कसैले व्याख्या गरिरहनु पर्दैन स्मरणमात्रै गरे पुग्छ ।
नेपाली कांग्रेस १०३ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरी देशमा लोकतन्त्र स्थापना गराउन गठन गरिएको ऐतिहासिक पार्टी हो । नेतृत्वको अक्षमताका कारण कांग्रेसको गति र दिशाहीन भएको मात्र होइन वैधानिकतासमेत गुमाउने अवस्थामा पुग्नु ऐतिहासिक असफलता हो ।
निरंकुश राणाकाल वा पञ्चायतकालमा पनि नेपाली कांग्रेसको महाधिवेशन वा सम्मेलन समयैमा भएको इतिहास छ । त्यतिमात्रै सशस्त्र द्वन्द्वको हिंसात्मक समयमा गाउँगाउँमा दिनहुँ दिन कार्यकर्ताको हत्या हुँदा पनि बेलैमा सम्मेलन वा महाधिवेशन भएको थियो । दुर्भाग्य, अहिले स्रोत साधनको पर्याप्त उपलब्धता र राष्ट्रियरूपमा कुनै अवरोध नभएको बेलामा समेत महाधिवेशन गर्न सकिएन वा खोजिएन । यो रहस्यको विषय बन्न पुगेको छ । महाधिवेशन नगरी पार्टीको वैधानिकता गुमाउन पुग्नुमा कतै कुनै रहस्य त छैन भन्ने शंका र उपशंका पनि उब्जिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने/नहुने कुनै निश्चित छैन । अहिले संस्थापनइतर समूहका जिल्ला सभापतिहरूले पार्टी कार्यालय सानेपामा धर्ना, रिले अनशन सुरु गरेका छन् । यो महाधिवेशन गराउन ठूलो दबाब हो भने देशभर नेतृत्व महाधिवेशनको विपक्ष रहेको सन्देश दिनु पनि हो । अब महाधिवेशनको विकल्प महाधिवेशन मात्रै हुन्छ भन्ने सन्देश गएको छ ।
पार्टीको महाधिवेशनमा कस्तो खाले दस्तावेज निर्माण गर्ने भनी कुनै तहको नेताहरूबीच छलफल र संवाद कहिँ कतै गरिएको छैन । उही दिनहुँजसो छलफल, संवाद र बैठक हुँदा पनि दस्तावेजको बारेमा नभई क्रियाशील सदस्यता विवाद समाधान, कसले नेतृत्व कसरी लिने, कसको गुट बलियो र कसको कमजोर बनाउने, नेतृत्व कसरी कब्जा गर्ने भन्ने रणनीतिमा केन्द्रित रहेको देखिएको छ ।
अहिले महाधिवेशनमा दस्तावेज निर्माण गर्ने अर्थात् विचार र दर्शनमा आधारित वैचारिक र सैद्धान्तिक विषय उठाउनेभन्दा कोही युवाको नाममा, कोही महिला र जनजातिको नाममा, कोही दलित र पिछडिएको क्षेत्रको नाममा र कोही बाबुको योगदानका नाममा राजनीतिक नेतृत्व लिन खोज्दैछन् । तर, तिनीहरूसँग न विचार र दृष्टिकोण छ, न ध्येय र दूरदर्शिता नै देखिएको छ । राजनीतिक चिन्तन र देशको भविष्यको बारेमा स्पष्ट बोल्न र व्यक्त गर्न सक्ने अवस्थामा कोही देखिँदैनन् ।
औपचारिक निम्तो दिएर कतै कसैलाई बोलाएर विचारमा बहस हुँदैन । यसका लागि बृहत् छलफल, संवाद आवश्यक हुन्छ । तर, छलफल र संवाद गर्ने वा गराउने क्षमता नै नभएपछि वैचारिक र सैद्धान्तिक विषयवस्तुको तार्किक दस्तावेज कसरी निर्माण हुन्छ ?
सैद्धान्तिक र व्यावहारिक क्षमता नभएका, विचार र विवेकमा युवा नहुने हो भने उमेरलेमात्रै युवाको नेतृत्व भन्नु हास्यास्पद हुन्ट । युवासँग परिवर्तनको लागि क्रान्ति, विद्रोह र फरक विचारको संवाहक बन्न सक्ने सामर्थ्य चाहिन्छ । उहीँ अक्षम नेतृत्वको पछाडि लुरुलुरु हिँड्नेलाई युवा भन्न मिल्छ ? राजनीतिमा एजेन्डा हुनुपर्छ उमेरले मात्र कोही अगाडि बढ्न सक्दैन । जोसँग एजेन्डा हुन्छ नेतृत्व उसले गर्छ ।
अहिले महाधिवेशन नहुनुको दोष एक अर्कालाई देखाएर आलोचना, विरोध वा आरोप लगाएरमात्रै हुँदैन । वास्वतमा आपसी आरोपप्रत्यारोपमा उत्रनु त आफू पन्छ्याउन खोज्नु वा जिम्मेवारी लिन तयार नहुनुमात्र हो । विगत १/२ वर्षअगाडि नै महाधिवेशनको तयारी स्थानीय तहदेखि हुँदै आउनुपर्ने थियो । अहिले महाधिवेशनलाई सहज बनाउन तल्लो तहदेखि विवादरहित विधान र निर्देशिका ल्याउनुपर्ने थियो ।
तल्लो तहमा बलियो संगठन र स्वतन्त्र, स्वच्छ महाधिवेशन गराउन कसरी संगठनिक बनाउनेभन्दा पनि संगठन कसरी कब्जा गर्ने, आफ्नो मान्छेलाई कसरी स्थापित गराउने र अरू नेतृत्वलाई कसरी रोक्ने भन्ने रणनीति बनाई दूषित सोच राखेर क्रियाशील सदस्यता वितरण गरिएको थियो । अनि महाधिवेशन सम्पन्न हुने स्वतन्त्र र स्वच्छ वातावरण कसरी निर्माण हुन सक्छ ? न तल्लो तहको निकायले विधि, विधान र निर्देशिका अनुसरण गरेको छ न केन्द्रीय तहले नै विधि विधानको पालन गर्छ । जसले जहाँ जे सक्छ त्यहीँ विधान र निर्देशिका मिच्ने र अपहरण गराउने शैलीले नै संगठनको बदनाम गराई गतिहीन बनाएको हो ।
हुन त जुनसुकै समूह भए पनि नेतृत्व परिवर्तन गर्न नचाहने बरु तानाशाही वा अराजकता निम्त्याउन खोज्ने सत्तापक्षको चरित्र हुन्छ । सक्नेले सधैँ संगठन कब्जा गर्ने प्रवृत्ति देखाँउछन् । सत्ता र शक्तिको बलमा संगठनलाई आफू अनुकूल प्रयोग गर्ने रणनीति प्रयोग गरिरहेको हुन्छन् । तिनलाई महाधिवेशन गराउन बाध्य पार्ने वा तिनको अराजकता वा तानाशाहीलाई प्रतिरोध गर्ने, बलियो दबाब दिन सक्ने क्षमता प्रतिपक्ष समूहले राख्न सक्नुपर्छ ।
अहिले नेपाली कांग्रेसको संस्थापन इतरका नेता रामचन्द्र पौडेल मानिएका छन् । वरिष्ठ नेता पौडेलको समूह वास्तविकरूपमा भने एउटा 'समूह' नै हैन र व्यवहारमा पनि समूहका रूपमा देखिँदैन । पौडेल समूह एउटा मोर्चाजस्तो मात्रै छ । त्यही मोर्चा पनि दबाब र प्रतिरक्षाको शक्ति बनाउनभन्दा व्यक्तिगत गुट बनाउन केन्द्रित देखिन्छ ।
एकले अर्कालाई कहिल्यै नेता नमान्ने आफू अनुकूल भएमात्रै 'समूह' भन्ने । अरु बेला आफू कसरी बलियो हुने र महाधिवेशनमा बढी फाइदा लिने सोचमा हुन्छन् । अनि कसरी संस्थापनलाई दबाब दिन सक्ने समूह बन्न सक्छ ? संस्थापन पक्ष यस्तो समूहको कुरा सुन्नुभन्दा त उल्टै खेलाउने, फुटाउने वा विभिन्न आश्वासन दिएर कमजोर बनाउने रणनीतिमा लाग्नु स्वाभाविकै हो । त्यसैले पौडेल समूहले बैलैमा महाधिवेशन गराउन दबाब दिन नसकेको परिणाम हो । नभए संस्थापन समूहभन्दा संख्या र विचारमा पौडेल समूह बलियो थियो त !
पौडेल समूहको कमजोरीको कारण संस्थापनमाथि दबाब नपरेको हो । सभापति देउवाको समूह वैचारिक र संगठनिक कारणले बलियो भएको होइन । उनको समूहमा अर्को समूहजस्तो हानथाप नभएर बलियो देखिएको हो । अहिले संस्थापन वा इतर कुनै पनि समूहले सही अर्थमा महाधिवेशन गराउन चाहेको छैन । वैधानिकता कसरी जोगाउने ? भोलि कतै पार्टी नै अप्ठेरोमा त पर्दैन वा दुर्घटना त हुँदैन भन्ने चिन्ताले मात्रै महाधिवेशन गराउने भनिएको हो । नभए दुई वर्षसम्म त चौथौं महाधिवेशन गराउने पक्षमा नेतृत्व स्वयं देखिएको थिएन ।
संस्थापन पक्षका केही नेताले बोल्न थालेका पनि छन् अब महाधिवेशनको तयारी गर्नेभन्दा पनि तीन तहको निर्वाचनको तयारी गरौँ ! सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामा त नेतृत्व परिवर्तनको चासो नै देखिँदैन । महाधिवेशनमा नेतृत्व परिवर्तन हुनासाथ वर्तमान सरकारमा रहेको गठबन्धन दल निर्वाचनसम्म कायम रहने निश्चित पनि त हुँदैन ।
अहिलेको सरकारमा सहभागी रहेको गठबन्धन चुनावमा कायम रहने आन्तरिक सहमति हुनसक्छ । त्यसैले प्रधानमन्त्री देउवाले तत्कालै महाधिवेशन गर्नुभन्दा आलटाल गरी महाधिवेशन टार्न खोजेको हुनसक्छ । पार्६को वैधानिकता गुमेको खण्डमा आफूमाथि दोष नआओस् भन्नेमात्रै उनको चिन्ता देखिन्छ । कोभिड- १९ को महामारीको निहुँमा महाधिवेशन सार्न खोजिएको पनि थियो । त्यसो गर्दा देशभर राम्रो सन्देश नजाने भएपछि नै आधिकारिकरूपमा सार्ने घोषणा तत्काल नगरिएको हो ।
नेतृत्वले पार्टीको वैधानिक गुम्ने जोखिममा पुग्नुभन्दा महामारीको समय भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैकल्पिक विधि अपनाएर महाधिवेशनको विधि खोज्नुपर्ने थियो । अब तत्काल यसको जिम्मेवारी लिई नेतृत्वले महाधिवेशनको विकल्प महाधिवेशन नै हो भनी अगाडि बढ्नुको विकल्प देखिँदैन ।
भदौ १८ गतेदेखि केही स्थानीय तहको अधिवेशन सुरु गरेर वैधानिकता जोगाउने उपाय नेतृत्वले अपनाउन खोजिरहेको छ । सम्भवतः महाधिवेशन चाहिँ समय र परिस्थिति आफ्नो अनुकूल भएका बेला गराउने रणनीतिमा सभापति देउवाको समूह रहेको छ ।
जसले जे जस्तो तर्क र वितर्क गरे पनि यही भदौ २३ गते नेपाली कांग्रेसको वैधानिकता समाप्त हुँदैछ । यही सोच र अभ्यासबाट महाधिवेशन हुनसक्ने अवस्था पनि देखिँदैन । महाधिवेशन नभएमा नेपाली कांग्रेसको वैधानिकता गुम्ने निश्चित छ । पार्टीको वैधानिकता गुम्नु जनता, कार्यकर्ताको मनोबल, बौद्धिक समूह, बुद्धिजीवी, पेसागत संघसंस्था एवं अन्तर्राष्ट्रिय समुदायको विश्वास पनि गुमाउनु हो । यसको सबै क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुनेछ भने कांग्रेसको ऐतिहासिक गौरब पनि गुम्नेछ । आगामी दिनमा नेपाली कांग्रेसको राजनीतिक गतिविधि र गतिशीलताको औचित्य र अस्तित्व नै समाप्त हुनेछ । (धादिङ)