काठमाडौं । आगमन सहजता र प्रवेशाज्ञाको फाइदा उठाउँदै नेपाल अन्तर्राष्ट्रिय अपराधीको निसानामा पर्न थालेको छ । राष्ट्रिय हित र सुरक्षामा असर पर्ने गरी विद्युतीय अपराध, एटीएम ह्याकिङ, कल बाइपास, मानव तस्करी, चोरी, डकैतीलगायत गतिविधिमा विदेशीले नेपाललाई निसाना बनाएको देखिएको हो ।
महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनमा विदेशीहरुले गर्ने अपराध न्यूनीकरण गर्न ०७६ माघ १३ गतेदेखि नेपाली पोर्ट नामक सफ्टवेयर सञ्चालनमा ल्याई आगमन, प्रस्थान, भिसासम्बन्धी कार्यको अभिलेखीकरणको सुरुवात गरिएको उल्लेख छ ।
नेपालले सन् २०१८ देखि २०२० सम्म एक हजार ६७६ विदेशी नागरिकलाई निष्कासनसमेत गरेको छ । सन् २०२० मा मात्र भिसा समयभन्दा बढी अवधि बसेका कारण ८१, भिसाविपरीत कार्य गरेकाले १६४ र गैरकानुनी कार्यमा संलग्न ८२ सहित ३२७ विदेशी नागरिकलाई निष्कासन गरिएको थियो ।
यस्तै, विगत तीन वर्षको अवधिमा लागुऔषध, मानव बेचबिखन, बैंकिङ कसुर, धर्म प्रचारलगायत गैरकानुनी कार्यमा संलग्न १८८ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालको कमजोर सुरक्षा प्रणाली र कानुनका कारण अन्तर्राष्ट्रिय लागुऔषध तस्करले समेत नेपालाई ‘ट्रान्जिट’का रूपमा प्रयोग गरेको पाइएको छ । सुन तस्करले समेत विदेशबाट सुन नेपाल हुँदै भारतसम्म पुर्याउन नेपालको विमानस्थल र स्थलमार्ग प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
महालेखाको प्रतिवेदनले विदेशी नागरिकलाई थप निगरानी राख्नुपर्ने देखिएकोले आगमनपछि नै अनुगमनको व्यवस्था मिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने औँल्याएको छ ।
यस्तै, पर्यटकहरूको बसाइ अवधि, नेपाली प्रस्थान गर्ने गन्तव्य देश तथा भिसाअनुसारको विवरणलगायत अन्तर निकायगत तथा अनुगमनसम्बन्धी आवश्यक सूचना, तथ्यलाई उपयोग गर्न मिल्ने व्यवस्था मिलाई उक्त सफ्टवेयरको पूर्ण रूपमा उपयोग गर्नुपर्ने र भिसा अवधि सकिएका पर्यटकको अनुगमन गर्न आन्तरिक नियन्त्रण प्रणाली तयार गर्नुपर्ने सुझाव पनि महालेखाको प्रतिवेदनमा छ ।