site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोत्तम सेयर खरिद प्रकरण संसदीय समितिमा, बोर्डका अधिकारीको धारणाले सांसदहरू आक्रोशित 

काठमाडौं । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर नियामक निकायकै परिवारका सदस्यले किनेको विषयले संसदीय समितिमा प्रवेश पाएको छ । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्षसहितका पदाधिकारीसँग उक्त विषयमा छलफल गरेको छ । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाकी छोरी रेविका ढुङ्गाना, बोर्डकै सञ्चालक चन्द्रप्रसाद ढकालका भाइ हेमराज ढकाल र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदकी श्रीमती सुशीला कुमारी बोहोराले २०७७ माघ २६ गते नेप्सेको ओटीसी मार्केटबाट सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेका थिए ।

सोही समाचार सार्वजनिक भएपछि बोर्डका अध्यक्ष ढुङ्गाना सञ्चालक ढकाल र नेप्सेका सीईओ साउँदमाथि पदीय मर्यादाविपरीत सेयर खदिर गरेको भनी प्रश्न उठिरहेको छ । सोही विषयमा अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्सेलाई प्रष्ट पार्न भनेर पत्राचारसमेत गरेको थियो ।
 
सर्वोत्तम सिमेन्टको सेयर बोर्डका पदाधिकारीले खरिद गरेको भए पनि अर्थ मन्त्रालयले संस्थाको नाममा प्रष्ट पार्न भनेर अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई पत्राचार गरेपछि बोर्डले उपकार्यकारी निर्देशक र सोभन्दा माथिका कर्मचारीको हस्ताक्षर गराएर मन्त्रालयलाई जवाफ पठाएको छ । अर्कोतर्फ नेप्सेले भने प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले मात्रै हस्ताक्षर गरेको मन्त्रालयलाई जवाफ पठाएको छ । 

सोही विषयमा आइतबार अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्षसहितको टोलीलाई बोलाएर छलफल गरेको हो । बोर्डका अध्यक्षले सर्वोत्तम सिमेन्टको सेयर खरिदको विषयमा बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई प्रष्ट्याउन लगाएका थिए । 

निर्देशक अधिकारीले भने संसदीय समितिमा सर्वोत्तम सिमेन्ट बोर्डको क्षेत्राधिकारभित्र नपर्ने बताए । “पब्लिक लिमिटेडको रूपमा दर्ता भएका तर सार्वजनिक निष्कासनमा नगइसकेका सर्वोत्तम सिमेन्टजस्ता कम्पनी र बोर्डको नियमन परिधिमा नपर्ने कम्पनीको सेयर खरिद बिक्री बोेर्डको क्षेत्राधिकारभित्र पर्दैन,” उनले समितिको बैठकमा भने ।

बोर्डमा दर्ता नभएको र नेप्सेमा सूचीकृत नभएका कम्पनीको सेयर खरिद बिक्री आटेटीसी बजारमार्फत् हुने र ओटीसी बजारमा कारोबार हुने कम्पनीले बोर्डमा विवरण पठाउनुनपर्ने र कारोबार भएपश्चात् मात्रै नेप्सेले जानकारी गराउने भएकाले ओटीसी मार्केटमा कारोबार हुने कम्पनीको सूचना तथा जानकारी कारोबार अगाडि बोर्डका कुनै पनि अधिकारीलाई कर्तव्य पालनाको सिलसिलामा पहुँच नहुने उनको तर्क छ । 

“नियमन निकायले निष्कासन अनुमति दिइनसकेको सार्वजनिक निष्कासन नभएका धितोपत्र र सो को मूल्य निर्धारण सम्बन्धी गतिविधिहरू बोर्डको नियमन परिधिमा पर्ने कानुनी व्यवस्था रहेको देखिँदैन,” संसदीय समितिमा बोर्डको उपकार्यकारी निर्देशक अधिकारीले भने । 

तर, नेप्सेले ओटीसी बजार सञ्चालन गर्ने विनियमावली नेपाल धितोपत्र बोर्डले नै स्वीकृत गरेर कार्यान्वयनमा आएको हो । अर्कोतर्फ धितोपत्र सम्बन्धी ऐनको दफा २ को परिच्छेद १ को दफा २ को ‘संगठित संस्था’ भन्नाले ‘धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्नेगरी प्रचलित कानुन बमोजिम स्थापना भएको संगठित संस्था सम्झनुपर्ने’ उल्लेख छ । 

धितोपत्र सम्बन्धी ऐनले नै धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्नेगरी निष्कासन गर्ने प्रचलित कानुन बमोजिम स्थापना भएको संस्थालाई संगठित संस्था मानिने उल्लेख गरेको छ । यस्तो संस्था बोर्डको नियमन परिधिमा आउने धितोपत्र ऐनबाट नै प्रष्ट हुन्छ । अझ सर्वोत्तम सिमेन्टले त गत वर्षको माघ ६ गते सम्पन्न साधारण सभाबाट बुकबिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै, सर्वोत्तम सिमेन्टले सार्वजनिक निष्कानका लागि ग्लोबल आईएमई क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गर्दा बोर्डकै पधादीकारीसहितको उपस्थितिमा हस्ताक्षर भएको थियो । ग्लोबल आईएमई क्यापिट धितोपत्र बोर्डले नै इजाजत दिएको संस्था हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्नका लागि माछापुच्छ्रे क्यापिटलबाट भ्यालुएसनन गरेर ७५० रुपैयाँ मूल्य प्रस्ताव गरेको थियो । जुन बोर्डबाट नै इजाजतपत्र प्राप्त कम्पनी हो । 

बोर्डका उपकार्यकारी निर्देशक अधिकारीले सर्वोत्तम सिमेन्टमा भित्री कारोबार नभएको र धितोपत्र सम्बन्धी ऐनको २०६३ को परिच्छेद ९ अनुसार सर्वोत्तम सिमेन्टका सेयर खरिद भित्री कारोबार नभएको दाबी गरेका छन् । यस्तै, उनले विवाहिता छोरी एकाघर परिवारमा नपर्ने र विवाहिता छोरीले गर्ने कुनै पनि निर्णयमा बाबुको हक तथा नियन्त्रण नहुने भन्दै सेयर खरिद बिक्रीमा छोरीको निजी निर्णय लिने हक रहने र स्वतन्त्र रूपले कार्य गर्न सक्ने बताएका थिए । 

त्यसपछि सांसद सामकुमारी झाँक्रीले ढुङ्गानामाथि नैतिकताको प्रश्न उठाइन् । उनले पुँजीबजार रिपोर्टिङ गर्ने पत्रकारको त आचारसंहिता हुने भन्दै ‘विदेशमा रहेकी छोरीको नाममा सेयर राखेर तपाईंले कानुन र नियमनको परिधिमा नरहेको भनेर हुन्छ ?’ भन्दै प्रश्न गरिन् । “यो नैतिक प्रश्न हो । एउटा पत्रकारलाई आचारसंहिता लाग्ने, धितोपत्र बोर्डको अध्यक्ष र कर्मचारीले उन्मुक्ति लिन खोजेर हुँदैन,” उनले भनिन् । 

ओटीसी कारोबार विवरण पनि नेप्सेले बोर्डलाई बोधार्थ भनेर पठाएको छ भने सर्वोत्तम सिमेन्ट २०७७ कार्तिकमा २४ गते नै ओटीसी मार्केटमा दर्ता भएको छ । “यो कसरी बोर्डको नियमन परिधिमा आउँदैन ?,” उनले प्रश्न गरिन् । 

उनले अध्यक्षमात्रै नभएर सञ्चालक चन्द्र ढकालमाथि पनि प्रश्न उठाइनन् । उनले दर्जनौ सूचीकृत कम्पनीमा संलग्न र कतिपय कम्पनीको सञ्चालक नै भएको व्यक्ति बोर्डको सञ्चालक हुँदा त्यसले धितोपत्र बोर्डमा विना स्वार्थ काम नगर्ने बताइन् । बोर्डको संरचना नै गलत भएको उनको भनाइ छ । 

बोर्डका कुनै व्यक्ति संलग्न भएको विषयमा सिंगो बोर्डलाई नै प्रत्राचार गरी प्रष्टीकरण माग्ने अर्थमन्त्रालयलाई पनि छलफलमा बोलाउनुपर्ने उनको भनाइ थियो । मन्त्रालयले यस विषयमा अध्ययन समिति नबनाएको बारेमा पनि छलफल गर्नुपर्ने उनको छ ।

त्यसपछि समिति सचिव सुरेन्द्र अर्यालले पनि यो गम्भीर प्रकरण भएको बताए । त्यसपछि समिति सभापतिले पनि उक्त पोस्टमा भएको व्यक्तिले लगानीको अन्य क्षेत्र हुँदा पनि सोही क्षेत्रमा लगानी गर्नु शंकाको घेरामा पर्ने बताए । उनले धितोपत्र बोर्डजस्तो निकायमाथि प्रश्न उठ्नु गम्भीर भएको बताए । 

त्यसपछि सांसदबाट उठेको प्रश्नको जवाफ दिने क्रममा बोर्डका कामु कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले बोर्डका अधिकारीको चरित्र हत्या गर्नेगरी समाचार आएको बताए । 

उनले ‘समाचार आएको भरमा मात्रै आक्षेप नलगाउनुहोला कृपया’ भनेपछि सांसदहरू आक्रोशित भएका थिए । सांसद रामकुमारी झाँक्रीले उनलाई बीचमा नै रोकेर ‘डिफेन्स नगर्नुस्’ भनेकी थिइन् । 

“कसले के लेख्यो भन्दैमा हामीलाई आक्षेप लगाउने, ‘मोरल डाउन’ गर्ने काम नगर्नुहोला । तपाईंहरूले अहिले जे गर्नु भएको छ, त्यसले भोलि ठूलो समाचार बनेर अनलाइनमा आउँछ,” उनले भनेका थिए । उनले मिडिया बोलाएर छलफल गर्ने भन्दा पनि समितिले चुपचाप उपसमिति बनाएर अध्ययन गर्नुपर्नेमा त्यसो नगरेको भन्दै समितिको आलोचना पनि गरेका थिए । 

“यदि समितिले छानबिन गर्दा बोर्डका कर्मचारी गलत छन् भने कारबाही भोग्नुपर्छ । मैले कुनै गल्ती गरेको छैन । अन्य कर्मचारीले गल्ती गरेका छन् भने कारबाही गर्नुपर्छ,” उनले भने “चरित्र हत्या गर्नेगरी आएका समाचारको आधारमा हामीलाई बोलाएर मिडियामा ठुलो समाचार बनाउने काम गर्नुहुँदैन । बरु समितिले चुपचाप बोर्ड अध्यक्षलाई निलम्बन गरेर अध्ययन गर्न उपयुक्त हुन्छ ।”

त्यसपछि सांसदहरू आक्रोशित भए । सांसद जयकुमार राईले कामु कार्यकारी निर्देशक श्रेष्ठको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै बोली फिर्ता लिनुपर्ने बताए । 

“संस्थाको प्रमुखको विषयमा यस्तो खबर आएको छ भनेर हामीले प्रश्न गर्न मिल्दैन ? तपाईंले त आपत्ति जनाउनुभयो !,” राईले भने, “हामीले थप समाचार बनाउन बोलाएजस्तो तपाईंको अभिव्यक्ति भयो । यो जिम्मेवार बैठकमा तपाईंको प्रस्तुति आपत्तिजनक छ, फिर्ता हुनुपर्छ ।”

आक्रोशित हुँदै अगाडि उनले भने, “तपाईं भएको संस्थाप्रति प्रश्न उठेको छ । हामी कति नैतिकवान छौँ । राज्यलार्ई दोहन गर्ने अनि आफू मोटाउने, जनताले तिरेको करबाट तलब खाने अनी राज्यलाई दोहन गर्ने परिपाटी बन्यो । यस्तो प्रश्न उठ्नु नकारात्मक हो ? हामीले तपाईं कारबाहीको भागिदार हुनुपर्छ भनेका छौँ ? बोर्डमाथि प्रश्न उठेको छ, के हो भनेर सोध्न नपाउने ? समाचार बनाउनका लागि छलफल नगर्नुहोस् भन्ने तपाईंको अभिव्यक्तिप्रति मेरो आपत्ति छ ।” 

प्रश्न उठेपछि त्यसको सफाइ दिनुपर्ने उनले बताए । 

त्यसपछि बोर्डको अध्यक्ष ढुङ्गानाले आफैँ बोल्दै बिहे गरेर गएकी छोरी ज्वाइँ अथवा उसको परिवारले के योजना बनाउँछ केमा लगानी गर्छ भन्ने विषयमा आफूलाई जानकारी नहुने बताए । उनले यसमा आफूलाई अनावश्यक विवादमा तान्ने प्रयास भएको बताएका थिए । उनले बैठक सकिएपछि केही गल्ती अथवा बोल्दा तलमाथि भएको भए ‘माफ गर्नुहोला’ भन्दै माफी मागेका थिए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro