site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वोत्तम सिमेन्टको सेयर खरिद ‘भित्री कारोबार’ कि नैतिक प्रश्न ? 

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्षकी छोरी, सञ्चालकका भाइ र नेप्सेका सीईओकी श्रीमतीले खरिद गरेको सर्वोत्तम सिमेन्टको सेयर ‘भित्री कारोबार’ (इन्साइडर ट्रेडिङ) कि ‘नैतिक प्रश्न’ भन्ने बहस सुरु भएको छ ।

कतिपय कानुनविद्हरुले यसलाई ‘भित्री कारोबार’का रुपमा व्याख्या गर्छन् भने कतिपयले यसलाई ‘भित्री कारोबार’ भन्न नमिल्ने तर ‘नैतिक प्रश्न’ भएको तर्क गर्छन् ।

धितोपत्र सम्बन्धी ऐनलाई मान्ने हो भने बोर्डका पदाधिकारी र नेप्सेका सीईओका आफन्तले खरिद गरेको सेयर ‘भित्री कारोबार’ भएको हुँदा यसलाई लिएर अदालत जाने विषयमा तयारी भएको एक कानुनविद्ले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा बताए ।

सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधि लागु भएसँगै सोही विधिबाट सार्वजनिक निष्कासन गर्नेगरी अगाडि बढेको पहिलो कम्पनी हो सर्वोत्तम सिमेन्ट  ।

कम्पनीले २०७७ माघ ६ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाबाट बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्दै प्रक्रिया अगाडि बढाएको थियो । 

कम्पनीको  सेयर सार्वजनिक निष्कासनको स्वीकृति दिने निकाय तथा नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुङ्गानाकी छोरी रेविका ढुङ्गानाले २०७७  माघ २६ गते ‘ओटीसी’ कारोबारमार्फत सर्वोत्तमको सेयर खरिद गरेकी थिइन् । 

सोही कम्पनीको सेयर सोही मितिमा धितोपत्र बोर्डकै सञ्चालक चन्द्रप्रसाद ढकालका भाइ हेमराज ढकाल र धितोपत्र बजार सञ्चालक नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदकी श्रीमती  सुशीलाकुमारी बोहोराले पनि खरिद गरेकी थिइन् । 

नियामक निकायमै रहेर पहिले नै सूचना प्राप्त गरेर सेयर खरिद गरेको हुन सक्ने भन्दै धितोपत्र बोर्ड कर्मचारी युनियनले बोर्डका पदाधिकारीले आफन्तका नाममा सेयर किनेको समाचार सार्वजनिक भएपछि उनीहरुलाई निलम्बन गरी छानबिन गर्न माग पनि गरेको छ ।

यसरी बजार सञ्चालक र नियामक निकायकै परिवारभित्रकै सदस्यले धितोपत्रको सार्वजनिक  निष्कासनको निर्णय गरेर प्रक्रिया अगाडि बढाइसकेको कम्पनीको सेयर किन्नु धितोपत्र सम्बन्धी ऐनअनुसार पनि धितोपत्रको भित्री कारोबार भएको हुन सक्ने कानुनविद्  डा.  गान्धी पण्डित बताउँछन् । 

“कुनै व्यक्तिले सार्वजनिक नभएको धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आपूmले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार  गर्न लगाएमा वा आपूmलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामाबाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ,” धितोपत्र सम्बन्धी ऐनको दफा ९१ को (१) मा भनिएको छ । 

सोही उपदफाकोे स्पष्टीकरणमा ‘भित्री सूचना वा जानकारी’ भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्ने उल्लेख छ । 

यस्तै धितोपत्र सम्बन्धी ऐनको दफा २ ले  ‘संगठित संस्था’ को व्याख्या गरेको छ । 

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा धितोपत्र सम्बन्धी ऐनमा रहेको ‘संगठित संस्था’ को परिभाषामा धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्ने गरी प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्झनु पर्छ भन्ने उल्लेख छ । 

“संगठित संस्था भन्नाले धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्ने गरी प्रचलित कानून बमोजिम स्थापना भएको संगठित संस्था सम्झनु पर्छ । तर सो शब्दले प्राइभेट लिमिटेड कम्पनी वा सहकारी संस्थालाई जनाउने छैन,” धितोपत्र सम्बन्धी ऐनको दफा  २ को ‘प’ मा भनिएको छ । 

धितोपत्र सम्बन्धी ऐनले नै  धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्नेगरी प्रचलित कानुन बमोजिम स्थापना भएको संस्थालाई बोर्डको नियमन दायरामा रहने गरी समेटेको देखिन्छ । 

धितोपत्र सम्बन्धी कानुनका जानकार ज्योती दाहाल भने यसलाई ‘नैतिक’ रुपमा गलत र नियम संगत भएको कारोबार भने मान्न नसकिने बताउँछन् ।

यसलाई भित्री कारोबार भने मान्न नसकिने उनको तर्क छ ।

तर, धितोपत्र बोर्डका अध्यक्षले भनेजस्तो सार्वजनिक निष्कासन नगरेको कम्पनी बोर्डको नियमन दायरामा आउँदैन भन्नु गलत भएको उनको भनाइ छ । 

दाहालको यस भनाइमा भने कानुन व्यवसायी पण्डित पनि सहमत देखिन्छन् । धितोपत्र सम्बन्धी ऐनले  सार्वजनिक निष्कासन गर्ने निर्णय सञ्चालक समितिबाट पारित गरेसँगै सर्वोत्तम सिमेन्ट धितोपत्र बोर्डको नियमनमा आएको  उनको तर्क छ ।

सर्वोत्तम सिमेन्टले साधारणसभाबाट नै  सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको अवस्थामा नियामक निकायका पदाधिकारीहरुले नै उक्त कम्पनीको  सेयर खरिद गर्नुलाई  ‘भित्री कारोबार’ नै भएको विश्लेषण भइरहेको छ ।  

यदि सर्वोत्तम सिमेन्टले त्यसको सार्वजनिक निष्कासन गर्ने मूल्यमा असर पर्ने कुनै जानकारी  सार्वजनिक गर्नुपूर्व बोर्डका अध्यक्ष, सञ्चालक अथवा नेप्सेका सीईओलीले सेयर खरिद गरेको  भए त्यस्तो कारोबार ‘भित्री कारोबार’ हुन सक्ने उनी बताउँछन् । 

सर्वोत्तम  सिमेन्टले  साधारणसभाबाट बुक बिल्डिङमा सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेपछि र बुक बिल्डिङको मूल्य निर्धारणको लागि प्रारम्भिक मूल्य तयार गरेर सार्वजनिक गर्नु अगाडि धितोपत्र बोर्डका अध्यक्ष, सञ्चालक र  नेप्सेका सीईओका आफन्तले सेयर खरिद गरेका थिए ।

कम्पनीको प्रस्तावित मूल्य ७५० हुने जानकारीको आधारमा सेयर खरिद गरेको भएमा त्यसलाई भित्री कारोबार मान्न सकिने उनको तर्क छ । 

सर्वोत्तम सिमेन्टले २०७७ माघ ६ गते सम्पन्न साधारणसभबाट बुक बिल्डिङ विधिबाट साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले  बुक बिल्डिङ विधिमार्फत सेयर जारी गर्नको लागि कम्पनीको भ्यालुएसन गराएर प्रारम्भिक मूल्य तय हुने गर्दछ ।  

चैत अन्तिम साता बाह्रखरीसँगको अन्तर्वार्तामा सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानले  माछापुच्छ्रे क्यापिटलमार्फत गराएको भ्यालुएसनको आधारमा ७५० रुपैयाँ मूल्य प्रस्ताव गरिएको बताएका थिए ।

कम्पनीको भ्यालुएसन गराउँदा कम्पनीको वर्तमान अवस्था र भविष्यका व्यवसायिक योजनालगायतका कम्पनीको वित्तीय अवस्था, भविष्यका व्यवसायिक योजना, व्यवसायिक सम्भावना जस्ता समेत मूल्याङ्कन हुने गर्दछ । 

माघ २६ गते ओटीसी मार्केटमा सेयर खरिदबिक्री भएको सर्वोत्तम सिमेन्टले भ्यालुएसनपछि कम्पनीको प्रस्तावित मूल्य सार्वजनिक गरेको थिएन । 

कम्पनी ऐनको दफा ९२ को (क) संगठित संस्थाका सञ्चालक, कर्मचारी वा सेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानेको छ । 

यस्तै सोही दफाको (ख) मा उक्त संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई पनि संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानेको छ । 

सोही दफाको खण्ड (ग) मा  खण्ड (क) र (ख) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति समेत संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानेको छ । 

धितोपत्र सम्बन्धी ऐनको दफा ९२ को (ग) अनुसार धितोत्रप बोर्डका अध्यक्ष तथा सञ्चालक कम्पनीको भित्री सूचना लिन सक्ने व्यक्तिमा पर्ने कानुनविद्हरुको तर्क छ ।

यसरी सर्वोत्तम सिमेन्टले योग्य संस्थागत लगानीकर्ताबाट आसयमूल्य प्राप्त गर्नका लागि प्रारम्भिक विवरणपत्रमा प्रारम्भिक मूल्य सार्वजनिक गर्नुपर्ने हुन्छ । 

तर सर्वोत्तम सिमेन्टले भने धितोपत्र निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरे पनि आसयमूल्य प्राप्त गर्न प्रारम्भिक मूल्यसहितको विवरणपत्र सार्वजनिक गरेको छैन । 

यस प्रकारणमा धितोपत्र बोर्ड मौन बन्न नमिल्ने उनको तर्क छ ।  धितोपत्र सम्बन्धी ऐनको दफा १०३ यही बेला आकर्षित हुने कानुनविद् पण्डित बताउँछन् ।

उनका अनुसार अनुसन्धान गर्न अनुसन्धान अधिकृत तोक्न सक्ने व्यवस्था रहेकोले सोहीअनुसार कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने तर्क उनले गरे ।
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro