काठमाडौं । विद्यार्थी संगठनहरुले विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय समक्ष माग गरेका छन् । स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।
“परीक्षा दिने विद्यार्थीलाई मानसिक तनाब थपिएको छ भने परीक्षा हलमा असुरक्षा महसुस भएका कारण परीक्षा पनि प्रभावकारी भएको छैन । देशका सबै परीक्षा केन्द्र तथा तोकिएका स्थानहरुमा सम्पूर्ण विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न जोडदार माग गर्दछौं,” विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्तिमा भनिएको छ, “संयुक्त विद्यार्थी संगठनको तर्फबाट हामीले परीक्षा सञ्चालनका लागि परिचालन गरिने विश्वविद्यालयको जनशक्ति र विद्यार्थीलाई खोप लगाएर तथा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सुचारु गर्न माग गरेका थियौं ।”
देशभरका विद्यार्थीलाई खोप नलगाएको र स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमणको जोखिम बढेको उनीहरुले बताएका छन् ।