site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अलमुताइरी र नेम्वाङ : के हो विवाद ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली फुटबल टोलीले पहिलोपटक पाएको प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक हुन्, अब्दुल्लाह अलमुताइरी । कतार फुटबल एसोसिएसनले एक वर्षका लागि अलमुताइरीलाई प्रशिक्षकको रूपमा पठाएको हो ।

अलमुताइरीले कतार फुटबल एसोसिएसनबाट मासिक तलब खान्छन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले यहाँ बस्ने र खाने सुविधाको व्यवस्था गरेको छ ।

अलमुताइरी नेपाल आएको धेरै समय भएको छैन । तर, विभिन्न कारणले उनको चर्चा भइरहेको छ । नेपालले विश्वकप छनोटअघि इराकविरुद्ध गरेको प्रदर्शनमा उनलाई राम्रो श्रेय गयो । नेपाली टोलीको प्रदर्शन राम्रो भएको र युवा खेलाडीले मौका पाएकोले टिम राम्रो बनेको चर्चा चल्यो । खेलको नतिजा भने नेपाली टोलीको पहिलेको जस्तै थियो । यद्यपि, प्रदर्शनमा केही परिवर्तन आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी नेपाली टोलीका पहिलो प्रशिक्षक हुन्, जो समर्थकको नजिक छन् । उनले समर्थकसँग गर्ने कुराकानी, उनीहरुको फेसबुक पोस्टमा गर्ने कमेन्टले त्यो देखाउँछ । अलमुताइरी समर्थकसँग भिडियो कल गर्न पनि भ्याउँछन् । उनले समर्थकको भावनालाई सम्झन्छन् अनि समर्थक उनको भावनाको कदर गर्छन् ।

सामाजिक सञ्जालमा गएको आइतबार उनको अचानक एउटा पोस्ट आयो । जसमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको उल्लेख थियो । गत तीन सातादेखि नेम्वाङले काम गर्न अवरोध सिर्जना गरेको उनको भनाइ थियो ।

Global Ime bank

अलमुताइरीको उक्त पोस्टले नेपाली समर्थक, खेलप्रेमी चकित भए । नेम्वाङको फेसबुक पोस्टहरुमा अनेक कमेन्ट गर्ने बढे ।

त्यसो त एन्फाभित्र नेम्वाङको राम्रो इतिहास भने छैन । उनी प्रशिक्षकसँगको झगडाका कारण दुई वर्षपहिले पनि चर्चामा आएका थिए । आफ्नो छोरालाई टिममा नराखेको भन्दै प्रशिक्षकलाई गाली गरेका थिए । पछि छोरा टिममा परेपछि उक्त विवाद सेलायो ।

आइतबारको अलमुताइरीको पोस्टसँगै समर्थकहरु उनीमाथि खनिए । त्यसको केही समयपछि नेम्वाङले पनि स्पष्टीकरण दिए । उनले आफूसँग लामो समयदेखि प्रशिक्षकको कुरा नभएको बताए । उनले यदि प्रशिक्षकलाई आफूले राजीनामा दिन बाध्य बनाएको भए एक मिनेट पनि एन्फामा नबस्ने उद्घोष गरे ।

त्यति नै बेला अलमुताइरी राजीनामा दिन एन्फा कार्यालय पुगेका थिए । तर, राजीनामा नदिई फर्किए । उनले एन्फाका प्रवक्ता किरण राईसँग आफूलाई टाउको दुखेको बताए । राईले अलमुताइरीलाई कोठामा गएर आराम गर्न सुझाव दिए ।

को गलत, को सही भन्ने विषयमा छलफल गर्न एन्फा अध्यक्षसहितको टिम बस्ने भनियो । तर, अध्यक्ष कर्माछिरिङ शेर्पा सोही दिन पोखरा गएका थिए । त्यसको भोलिपल्ट अलमुताइरी राजीनामा दिन गएनन् । अलमुताइरीले हालसम्म एन्फामा राजीनामापत्र बुझाएका छैनन् । उनलाई राजीनामा दिन रोकेको एन्फा पदाधिकारी बताउँछन् ।

 साफ च्याम्पियनसिपका लागि अहिले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण चलिरहेको छ । खेलाडीहरुले सहायक प्रशिक्षकसँग प्रशिक्षण गरिरहेका छन् । अलमुताइरी प्रशिक्षणमा फर्केका छैनन्, न त उनले राजीनामा नै दिएका छन् ।

यता, वरिष्ठ उपाध्यक्ष नेम्वाङले आफूले मुख्य प्रशिक्षकलाई राजीनामा दिन बाध्य नबनाएको दाबी गरेका छन् । उनले यो विषयमा तत्काल छानबिन गर्नुपर्ने भन्दै एन्फामा लिखित निवेदन दिएका छन् । एन्फाले अध्यक्ष शेर्पा काठमाडौं आएको दिन नै यो विषयमा छलफल गर्ने जनाएको छ ।

अलमुताइरी र नेम्वाङबीचको सम्बन्ध

नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीच फेसबुकमा संवाद हुन्छ । तर, उनीहरुबीच खासै त्यस्तो कुनै कुरा भएको देखिँदैन, जसले अलमुताइरीलाई राजीनामा दिन बाध्य बनाएको होस् । तीन सातायता त उनीहरुबीच कुनै कुरा भएको देखिँदैन ।

प्रशिक्षक अलमुताइरीले मिडियामा दिएको एउटा अन्तर्वार्तालाई लिएर एन्फा महासचिव इन्द्रमान तुलाधरमार्फत अलमुताइरीसँग स्पष्टीकरण माग गरेको नेम्वाङले स्वीकार गरेका छन् । अलमुताइरीले उक्त अन्तर्वार्ताका क्रममा फुटबल विकासका लागि पदाधिकारी पनि परिवर्तन हुनुपर्ने बताएका थिए । सोही विषयलाई दिएर नेम्वाङले प्रशिक्षकलाई आफ्नो दायरा बाहिरको कुरा नगर्न सचेत गराएका थिए । यो विषय भने मिलिसकेको बताइन्छ ।

 मुख्य प्रशिक्षक अलमुताइरीले उक्त स्टाटसपछि थप केही कुरा सार्वजनिक गरेका छैनन् । अलमुताइरी मिडियासँग खासै बोल्न मान्दैनन् ।

 एन्फामा चुनावी माहोल आएको हो ?

नेपाली फुटबलमा लफडा नौलो होइन । अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वमा शेर्पा आएपछि एन्फा दुई धारमा विभाजित भयो । अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङको धार अहिले पनि कायमै छ ।

 त्यसपछि एन्फामा हुने हरेक निर्णयमा नेम्वाङको असहमति रह्यो । नेम्वाङले सधैँ एन्फामा भ्रष्टाचार भएको भन्दै अन्तर्वार्ता दिए । उनले भ्रष्टाचार भएको कुनै प्रमाण भने जुटाउन सकेनन् । एन्फा अध्यक्ष शेर्पाले पनि नेम्वाङको कुनै कुरालाई वास्ता नगरी निर्णय गरिरहे ।

अहिले प्रशिक्षकको विवादमा उपाध्यक्ष नेम्वाङले एन्फामा ‘चुनावी माहोल आएको’ बताएका छन् । उनले आफूले गर्दै नगरेको कुरा बाहिर आउनु चुनावमा आफ्नो पक्ष बलियो नहोस् भन्ने ‘खेल’ भएको जिकिर गरे ।

“मैले गर्दै नगरेको कुरामा विवाद आएको छ । यसको मतलब मलाई चुनावमा कमजोर बनाउनु हो । तर, यहाँ प्रशिक्षकलाई प्रयोग गरेजस्तो देखियो । छानबिनको लागि पत्र पठाएका छौँ, हेरौँ के हुन्छ,” नेम्वाङले बाह्रखरीसँग भने ।

एन्फा अध्यक्ष शेर्पाले भने एन्फाभित्रको विवाद र प्रशिक्षकको राजीनामामा कुनै सम्बन्ध नभएको बताएका छन् । कुन पक्षबाट के भयो भन्नेबारेमा तत्काल छानबिन हुने उनले बताए ।

“कुरा के हो हामी छानबिन गर्नेछौँ । प्रशिक्षकलाई तत्काल राजीनामा नदिन आग्रह गरेका छौँ । मैले प्रशिक्षकलाई प्रयोग गर्यो भन्ने नसोच्दा हुन्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement