site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कोभिडको जोखिम बाँकी नै छ, उच्च कर्जा विस्तारमा संयमित हुनुपर्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति पूर्व बैंकहरूलाई कर्जा प्रोभिजनमा कडाइ गरेको छ । असार मसान्तमा आएर भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति साउनको पहिलो साता ल्याउन नसकेपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै  बैंक तथा वित्तीय संस्थाको कर्जा प्रोभिजनमा केही कडाइ गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीति पूर्व एकीकृत निर्देशनमा संशोधन गरेर मौद्रिक नीतिमा ढिलाइ हुने संकेत पनि दिएको छ । 
 
राष्ट्र बैंकले कर्जा प्रोभिजनमा कडाइका साथै एकीकृत निर्देशनको संशोधनमार्फत विशेष गरेर बैंकहरूमा गत आर्थिक वर्षको भएको उच्च कर्जा विस्तारले गर्दा जोखिम बढेको प्रष्ट सन्देश दिएको छ । कोभिडको प्रभाव बाँकी नै रहेकाले बैंकहरूलाई वितरण गर्दा नगद बाँडेर बैंकिङ प्रणालीबाट नलैजाने र तेस्रो भनेको गत आर्थिक वर्षको थप २०  प्रतिशत चालु पुँजी र थप १० प्रतिशत आवधिक कर्जा निर्धारित समयमा भुक्तानी भएन भने त्यसले जोखिम बढ्छ भन्ने सन्देश दिएको छ ।
 
एकीकृत निर्देशन संशोधनमार्फत् राष्ट्र बैंकले मुख्य ३ व्यवस्थाहरू गरेको हो । पहिलो  असल वर्गमा रहेका कर्जालाई थप ३ प्रतिशत प्रोभिजन, दोस्रो गत आर्थिक वर्षमा दिएको थप चालु पुँजी र आवधिक कर्जा असुल नभएमा ५ प्रतिशत प्रोभिजन र तेस्रो भनेको असार मसान्तमा असुल हुनुपर्ने ब्याज असुल नभएको भए भदौ १५ सम्म असुल गर्दा पनि त्यस्तो रकम २०७८ असार मसान्तको आम्दानीमा लेखाङ्कन गर्नसक्ने व्यवस्था गरेको छ ।
 
जसमध्ये पहिलो व्यवस्थाको सीधा प्रभाव २०७८ असार सान्तमा असल वर्गमा वर्गीकरण भएको कर्जामा थप ०.३ प्रतिशत प्रोभिजन गर्ने भयो । तर, केन्द्रीय बैंकले एकीकृत निर्देशनको नम्बरको बुँदा नम्बर ४१ मा उपबुँदा ३ थप गर्दै “कोभिड १९ महामारीको समयमा पुनरुत्थानका लागि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएका थप कर्जा (चालु पुँजीको २० प्रतिशत र आवधिक कर्जाको १० प्रतिशत) निर्धारित अवधिमा भुक्तानी हुन नसकेको अवस्थामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी सो कर्जाको भुक्तानी अवधि बढीमा १ वर्षसम्म थप गर्न सकिनेछ,”  भन्ने व्यवस्था गरेको छ । जसले गर्दा अब असार मसान्तमा कर्जा तिर्न नसकेर राष्ट्र बैंकले कर्जा तिर्ने समथ थप गरिदिन्छ भन्ने अपेक्षामा रहेको व्यवसायीले भने अब बैंकको टर्चर सहनुपर्ने अवस्था देखिएको छ । 

बैंकहरूले थप प्रोभिजन गर्नुपर्ने भएपछि भदौ १५ गतेसम्म उक्त कर्जा उठाउन कम्मर कसेर लाग्ने अवस्था देखिएको छ । गत मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् बैंकहरूलाई धितो लिलामीमा रोक लगाएको राष्ट्र बैंकले अब भने कर्जा उठाउन केन्द्रित हुने संकेत पनि गरकोे छ । 

राष्ट्र बैकको निर्देशको प्रभाव के पर्ला ?
राष्ट्र बैंकको सोमबारको परिपत्र अनुसार थप ०.३ प्रतिशत  प्रोभिजनले बैंकहरूले ११ अर्ब ७० करोड प्रोभिजन बढाउनुपर्ने र ७ अर्ब ४० करोडले नाफामा संकुचन आउनसक्ने बैंकर मनोज ज्ञवाली बताउँछन् । 

तर कोभिड प्रभावितलाई  थप गरिएको २० प्रतिशत चालु पुँजी र १० प्रतिशत आवधिक कर्जामा ५ प्रतिशत प्रोभिजन गरेर कर्जा तिर्ने समय १ वर्ष बढाउनसक्ने व्यवस्था भएपछि यसले बैंकहरूले थप प्रोभिजन नबढ्ने उनको तर्क छ । अर्कोतर्फ  राष्ट्र बैंकले गत आर्थिक वर्षको कर्जा असुल गर्ने समय भदौ १५ सम्म दिएकाले बैंकहरूले उक्त अवधिसम्म कर्जा रिकभरीमा लाग्ने हुँदा बैंकहरूलाई अवसर पनि भएको उनले बताए । असार मसान्तसम्म ब्याज पुँजीकरण गरेर कर्जा पुनसंरचना र पुनर्तालिकीकरण गर्ने समय दिएकाले बैंकहरूमा ब्याज असुल हुन बाँकी कर्जा न्यून हुनसक्छ । तर पनि त्यस्तो कर्जा उठाउने भदौ १५ गतेसम्मको समयसीमा दिएकाले बैंकहरूले कर्जा रिकभरीका लागि थप समय पाएको छन्  । 

असार मसान्तमा असुल नभएको कर्जा प्रोभिजन बढ्दै जाने भएकाले बैंकहरूले उक्त अवधि कर्जा रिकभरीको सदुपयोग गर्ने र बैंकहरूको नियामकीय प्रोभिजन घटेर वितरणयोग्य मुनाफा समेत बढ्न सक्ने उनले बताए ।  

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल उक्त निर्देशनको  प्रभाव विश्लेषण गर्न बाँकी रहेको बताउँछन् । तर, राष्ट्र बैंकसँगको कुराकानीमा भने कोभिडको प्रभाव चरणबद्ध रूपमा आएकाले प्रोभिजन राखेर बैंकमा जोखिम कम गर्नुपछ भन्ने प्रतिक्रिया रहेको बताए । 

“निर्देशन हेर्दा करिब १० अर्ब प्रोभिजन बढ्ने देखिन्छ,” उनले बाह्रखरीसँग भने, “वाणिज्य बैंकमा ३७ खर्ब कर्जा हो, जसमध्ये  २ प्रतिशत खराब कर्जा होला जसको शत् प्रतिशत प्रोभिजन भइसक्यो, ५ प्रतिशत पुर्नसंरचना भएको होला र ५ प्रतिशत वाचलिस्टमा होला जसको प्रोभिजन भइसकेको छ ।” यस आधारमा करिब ३३ खर्ब कर्जामा थप ०.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने र त्यो भनेको करिब १० अर्ब जति हुने बैंकर दाहालले बताए । 

राष्ट्र बैंकले प्रोभिजनमा मात्रै नभएर लाभांशमा पनि बैंकिङ क्षेत्रबाट नगद बाहिर जान नदिने नीतिलाई निरन्तरता दिएको छ । धेरै बैंकहरू पुँजीकोषका कारण नगद लाभांश दिन नसक्ने अवस्थामा भएपनि नगद लाभांश दिनसक्ने क्षमता भएका बैंकहरूलाई पनि राष्ट्र बैंकले बोनस सेयरमा नै केन्द्रित हुन निर्देशन दिएको छ । 

यदि कुनै बैंकले नगद लाभांश वितरण गरेमा पनि निक्षेपको भारित औसत ब्याजदरभन्दा माथि जान नमिल्ने हुँदा ५ प्रतिशत भन्दा बढी नगद लाभांश वितरण गर्ने अवस्थामा बैंकहरू नहुने प्रष्ट भएको छ । 

डेपुटी गभर्नर बमबहादुर मिश्र गत आर्थिक वर्षमा उच्च कर्जा विस्तार हुँदा प्रणालीमा जोखिम बढ्सक्ने भएकाले जोखिम कम गर्न प्रोभिजन बढाएको बताउँछन् । “उच्च गतिमा कुदेको गाडीलाई  स्पिड ब्रेकरले कन्ट्रोल गरेजस्तै राष्ट्र बैंकले पनि उच्च गतिमा कर्जा विस्तार हुँदा जोखिम बढ्यो भनेर सचेत गराएको हो,” उनले बाह्रखरीसँग भने । प्रोभिजनलाई घटबढ गर्न सकिने भएपनि अहिलेको परिस्थिति अनुसारको निर्णय लिएको उनले बताए । 

राष्ट्र बैंकमो उक्त नीतिको प्रभाव ठुला बैंकमा बढी पर्ने देखिन्छ । सबैभन्दा धेरै एनआईसी एशिया बैंकले ७९ करोड प्रोभिजन गर्दा ग्लोबल आईएमई बैंकले ७३ करोड, नबिल बैंकले ६२ करोड, राष्ट्रिय वाणिज्य बैंकले ६० करोड तथा सिद्धार्थ बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले ५०÷५० करोड थप प्रोभिजन गर्नुपर्ने हुन्छ । 
यता नेपाल बंगलादेश बैंकले २१ र स्ट्यान्र्ड चार्टर्ड बैंकले भने थप २२ करोड सेञ्चुरीले २५ करोड र सिभिले २५ करोड प्रोभिजन गर्नुपर्ने हुन्छ ।

लघुवित्तलाई २० प्रतिशत बढी लाभांश बाँड्न मुश्किल
केन्द्रीय बैंकले  लघुवित्त संस्थालाई कुल कर्जाको थप ०.३ प्रतिशत प्रोभिजनको साथै  वितरणयोग्य मुनाफाका ३० प्रतिशत मात्रै नगद लाभांश बाँड््ने व्यवस्था गरेको छ । भने बचतको भारित औसत ब्याजदरभन्दा बढी नगद लाभांश बाँड्न नपाउने व्यवस्था पनि गरेको छ । 

‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले साढे ४१ खर्ब कर्जा लगानी गर्दा  वाचलिस्ट, खराब कर्जाबाहेक थप ११ अर्ब माथि प्रोभिजन गनुपर्ने छ भने लघुवित्तले पनि २०७८ असारसम्म मसान्तमा ३ खर्ब ६० अर्ब बढी कर्जा लगानी गरेका छन् । जसमध्ये  करिब ९५ प्रतिशत कर्जाको ०.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादव बताउँछन् । यस आधारमा लघुवित्तले पनि १ अर्ब भन्दा बढी प्रोभिजन गर्नुपर्ने हुन्छ ।
 
एकातर्फ थप १ अर्ब प्रोभिजन र अर्कोतर्फ राष्ट्र बैंकले २० प्रतिशत भन्दा बढी लाभांश बाँड्ने लघुवित्तले ग्राहक संरक्षण कोषमा २५ प्रतिशत रकम छुट्याउने यसअघिको व्यवस्थाका साथै साधारण जगेडा कोषमा पनि ५० प्रतिशत रकम छुट्याउनुपर्ने भएको छ । तर यसअघि रहेको सीएसआरमा २५ प्रतिशत छुट्याउने व्यवस्था भने खारेज भएको छ । 

लघुवित्त बैंकर्स संघका अध्यक्षसमेत रहेको विजय लघुवित्तको सिईओ बसन्त लम्साल तत्काल लाभांश कम बाँड्न पाउने भएपनि सीएसआरको व्यवस्था हटाएर ५० प्रतिशत जगेडा कोषमा राख्ने व्यवस्था गर्नु सकारात्मक भएको बताउँछन् । यसले दीर्घकालमा संस्थालाई राम्रो गर्ने उनले बताए । कोभिडको बेलामा राष्ट्र बैंकले धेरै लाभांशमुखी नहुने सन्देश दिएको भन्दै यसलाई सकारात्मक मान्नुपर्ने उनको भनाइ छ । सीएसआरको व्यवस्थाले पैसा संस्थाबाट बाहिरिने तर जगेडा कोषमा जाँदा संस्थामा नै रहने र संस्था पनि बलियो हुने उनको तर्क छ । राष्ट्र बैंकले लघुवित्तलाई २० प्रतिशत भन्दा बढी लाभांश सन्देश छोडेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro