“कसैले किड्नी दियो भने म बाँच्छु । मैले हात फैलाएर पैसा मागेको होइन...” नेपाली हास्यव्यंग्य क्षेत्रकी चर्चित अनुहार चम्सुरी उर्फ पल्पसा डंगोल हात जोड्दै आफ्नो जीवन बचाइदिन गुहार गरिरहेकी छिन् । टिचिङ अस्पतालको कोठा नं.३०५ वाहिर आजकल केही वाक्लो चहलपहल देखिन्छ । अरुबेला आफ्नै परिवार सदस्य मात्रै देखिने त्यो कोठा वाहिर र भित्र केही दिनदेखि कलाकर्मीदेखि मिडियाको भिड लाग्ने गरेको छ ।
‘मेरी बास्सै’बाट वर्षौदेखि सबैलाई पेट मिचिमिची हसाँउदै आइरहेकी पल्पसा डंगोल अहिले आफैं पीडामा छिन् । उनको यही पीडामा केही ढाडस थप्न र उनको आत्मबल बढानउन आजकल कलाकार्मीहरु उनलाई भेट्न गैरहेका हुन्छन् ।
सधैं हाँसिरहने अनि हसाईरहने चम्सुरी आज उक्त कोठाको बेडमा जीवन र मृत्युको लडाईंसँग पौठेजोरी खोजिरहेकी छिन् । आइतबार हामी पुग्दा उनी आफ्नै शैय्यामा पल्टिरहेकी थिइन् ।
उनी निकै गलेको मलिन देखिरहेकी थिइन् । तर, हामीलगायत हरेक आगन्तुकलाई उनी मनको पीडा लुकाउन खोज्दै मन्द मुस्कानले स्वागत गरिरहेकी हुन्छिन् । करिब ५ वर्षदेखि किड्नीको समस्यासँग एक्लै जुधिरहेकी उनको अहिले दुईवटै किड्नीले काम गर्न छोडिसकेको छ ।
उनी अझै पनि कसैलाई खबर नगर्ने सोचमै थिइन् । तर, कलाकार दीपाश्री निरौलाले अझै यसलाई लुकाएर राख्न उचित नहुने देखेपछि सामाजिक सञ्जालमार्फत चम्सुरीको स्वास्थ्य अवस्थाका लागि सहयोगको हात फैलाएको चम्सुरीकी साथी विद्या बज्राचार्यले बताइन् ।
विद्या पल्पसाकी पुरानो साथी र साथै बालाजुमा पोलिक्लिनिक पनि सञ्चालन गरिरहेकाले पल्पसाको समयसमयमा रगत परीक्षण गर्नेेलगायत अन्य चिकित्सकीय कुरामा उनले सहयोग गरिरहेकी थिइन् ।
करिब २५ दिनदेखिको सकसले ल्याइपुर्याएको अस्पताल
पाँच वर्षदेखि किड्नीको समस्यालाई औषधिले ठिक पार्छु भन्दै आत्मबल लिएर हिँडिरहेकी उनलाई करिब २५ दिनदेखि भने धेरै नै गाह्रो भयो । स्वासस्प्रश्वासमा निकै समस्या देखिए पछि उनलाई २५ दिन अगाडि टिचिङ ल्याएको थियो । अस्पतालमा राखेर करिब दुई हप्ताको उपचारपछि राम्रो सुधार देखिएपछि उनलाई डिस्चार्ज गरेर घर पठाइएको थियो । तर, घर गएर उनी धेरैदिन राम्रोसँग बस्न पाइनन् ।
तर गएको दुई दिनमै फेरि स्वास्प्रश्वासमै समस्या भएपछि फेरि अस्पताल ल्याएको हो,” साथी बज्राचार्यले बताइन् ।
उनका अनुसार एक महिना अघिसम्म पनि पल्पसा आफैं गाडि चलाएर हिँड्डुल गर्न सक्ने अवस्थामा थिइन् । अझै दुई साथीहरु चितवन घुम्न जाने योजना पनि बुनिरहेका थिए ।
तर, एक्कासी अवस्था निकै बिग्रिएपछि उनी साथीले चाँडै दाता भेटाएर पहिलेकै अवस्थामा फर्कियोस् भन्दै भगवानसँग प्रार्थना गरिरहेकी छिन् ।
अस्पतालमा चम्सुरीलाई भेट्न आएका आफन्तदेखि हरेकले उनीमाथि पोख्ने असन्तुष्टि भनेको यति ठूलो कुरा यति धेरै वर्षसम्म किन लुकाएर राख्यौै भन्ने नै हो ।
बाँच्दिन जस्तो लागेपछि खुलाइन् आफ्नो अवस्था
अहिले उनको हप्ताको दुईपटक डायलासीस हुन्छ । तर, अवस्था निकै नाजुक भैसकेकाले डाक्टरहरुले भने उनलाई तत्काल किड्नी ट्रान्सप्लान्ट नै गर्न सुझाव दिइसकेका छन् ।
शुक्रबार डायलासीस पछि उनको अवस्था यतिसम्म बिग्रियो कि चम्सुरी आफैलाई अब जिन्दगीको यात्रा यहीँसम्म हो जस्तो लाग्यो । आफू अब बाँच्दिन जस्तो लागेपछि उनले अन्ततः आफूले यति धेरै वर्ष लुकाएर राखेको कुराको जानकारी आफ्ना कलाकार साथीहरुलाई भन्ने आँट गरिन् ।
उनले पहिलोपटक सुरविर पण्डित, दीपाश्री निरौला, कुञ्जना घिमिरेलगायत आफ्ना नजिकका केही कलाकार साथीहरुलाई रातिको करिब २ बजे आफ्नो अवस्थाबारे जानकारी दिँदै म्यासेज गरेकी थिइन् ।
पल्पसाको म्यासेज आएको भोलिपल्ट नै अर्थात शनिबार विहानै दीपाश्री उनलाई भेट्न अस्पताल पुगिन् । र, आफ्नो सामाजिक सञ्जालमार्फत पनि पल्पसाका शुचचिन्तकलगायत सबैलाई यसबारे जानकारी पनि दिइन् ।
पाँच वर्षदेखि लुकाएको पीडा
उनले पहिलोपटक ५ वर्ष अगाडि नै आफ्नो यो रोगबारे थाहा पाइसकेको थियो । तर, दुई छोरीलाई एक्लै हुर्काइरहेकी उनले सायद भर्खरै हुर्किंदै गरेका छोरीहरुलाई आफ्नो रोगबारे थाहा दिएर दुखी बनाउन चाहिनन् । त्यसैले उनी आफ्नो रोग आफैभित्र लुकाएर औषधिको भरमा आफूलाई तन्दुरुस्त बनाउनमा लागिरहिन् ।
“मलाई ५ वर्ष अगाडि नै थाहा भैसकेको थियो । सन्चो नभएर आएको परीक्षण पछि डाक्टरहरुले यूजीआई भएको भन्नुभयो । त्यसको औषधि खाइरहँदै फेरि किड्नीमा पनि समस्या देखियो भन्नुभयो,” उनले भावुक हुँदै सुनाइन् ।
यतिलामो समयदेखि आफूमा भएको बिरामीको बारेमा थाहा भए पनि उनी भने औषधि खाएर ठिक हुन्छुभन्दै यो कुरा कसैमा पुग्न दिइनन् । “औषधि खाएर ठिक हुन्छु भनेर मैले यो कुरा कसैलाई पनि भनेकै थिइनँ,” उनी सुनाउँछिन् ।
सम्भव भएसम्म आफ्नै परिवार नाताका कसैबाट दियो भने एउटा मृगौला राख्ने वा मिलेन भने वाहिरको कोही दाताबाट भए पनि उनी एउटा मृगौला पाएर फेरि पहिले जस्तै दर्शकलाई हसाँउने दिन गन्दै बसिरहेकी छिन् ।
उनका दुई छोरीहरु छन् । जेठी लुनिभा १९ वर्षकी भइन् भने कान्छी लुजला अहिले १० कक्षा पढ्दै छिन् ।
पल्पसा नेपाली टेलिश्रृङ्खलामा मात्रै नभई नेपाल भाषाका चलचित्र तथा म्युजिक भिडियोमा पनि उत्तिकै रुचाएकी अनुहार हुन् ।
“हुन त ५ वर्षअघि नै भएको रे ! तर, मम्मीले हामीलाई दुःख नहोस भनेर सकेसम्म औषधि खाएर निको बनाउँछु भनेर सोच्नु भएको रहेछ । तर मम्मीलाई किड्नीकै समस्या भएको हो भनेर हामीले थाहा पाएको एक वर्षमात्रै भयो,” जेठी छोरी लुनिभाले आफ्नो आमाको स्वास्थ्य अवस्थाबारे बेलिविस्तार लगाइन् । उनका अनुसार दुई महिनादेखि आमालाई अलि गाह्रो हुन थालेको थियो, तर पछिल्लो २० दिनदेखि भने अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आएको हो ।
आमालाई आफ्नै एउटा किड्नी दिएर बचाउने चाहना उनमा नभएको होइन तर उनी अहिले १९ वर्षकी मात्रै भइन् । नेपालको कानुन अनुसार उनी दाता बन्न मिल्दैन ।
उनका अनुसार डाक्टरहरुले डायलासिस नै नगरी चाँडोभन्दा चाँडो किड्नी नै हालेको राम्रो भनेर भनेका छन् । तर, उनीहरु दाताको खोजीमा छन् ।
परिवारमा पनि कसैको प्रेसर, कसैको सुगरको समस्याले उनका आमाबुबा अनि भाइले दिन मिलेन । त्यसैले उनीहरु अहिले पैसा नभई एउटा किड्नी दिने दाताको खोजीमा छन् । युट्युबलगायत सामाजिक सञ्जालमा उनको फोटोसँगै फोन नम्बरहरु राखेर आफ्नालागि सहयोगको अपिल गरिरहेकाहरुलाई उनले त्यस्तो नगर्न पनि अस्पतालबाटै आग्रह गरेकी छिन् ।
“मलाई यही डरका कारण मैले यो कुरा पब्लिकमा आउन नदिएको हो । मेरो नाममा अक्षयकोष संकलन गर्ने नगर्नुहोस् किनभने मलाई पैसा चाहिँदैन,” उनले आपत्ति जनाइन् ।
पहिलो लकडाउनमा पनि अभिनयमा सक्रिय उनी दोस्रो लकडाउन भएता भने घरमै रहेको जेठी छोरी लुनिभाले बताइन् ।
हात जोड्दै उनी भन्छिन्, “कसैले किड्नी दियो भने म बाँच्छु । मैले हात फैलाएर पैसा मागेको होइन । मलाई एउटा किड्नी चाहिएको हो । मैले आर्थिक सहयोग मागेको होइन ।”