काठमाडौं । कोलम्बिया कोपा अमेरिका फुटबलमा तेस्रो बनेको छ । कोलम्बियाले शनिबार बिहान भएको खेलमा पेरुलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
कोलम्बियालाई जित दिलाउन लुईस डियाजले दुई गोल गरे । त्यस्तै जुआन कुआड्राडोले एक गोल गरे ।
उता, पेरुका लागि योशिमार योटुन र जियानलुका लापादुलाले एक–एक गोल गरे । पहिलो हाफको ईन्जुरी समयमा योशिमार योटुनको गोलमा पेरुले अग्रता बनाएको थियो ।
खेलको ४९ औं मिनेटमा जुआन कुआड्राडोले खेल बराबरीमा ल्याएका थिए । ६६ औं मिनेटमा लुईस डियाजले गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाएका थिए ।
खेलको ८२ औं मिनेटमा जियानलुका लापादुलाले खेल बराबरीमा ल्याएका थिए । इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई जित दिलाए ।