जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ ।
परिवारजनका अनुसार क्यान्सर रोगबाट ग्रसित यादवको सोमबार राति ५७ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाममा निधन भएको हो । यादवका दुई छोरी र एक छोरासहित तीन सन्तान छन् ।
यादव तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा सुरुदेखि नै सहभागी भएका थिए । उनले महोत्तरी, धनुषा र सिरहाको कमान्डर भएर पनि काम गरेका थिए । पछिल्लो समय उनी पार्टीका केन्द्रीय सदस्य थिए ।
जेटीएको स्थायी जागिर छाडेर नेता यादव कम्युनिस्ट राजनीतिमा सक्रिय भएका थिए । धनुषाको तत्कालीन बालाबाखर गाविसको उपाध्यक्षमा समेत निर्वाचित यादव यस क्षेत्रका नेता रामवृक्ष यादवको प्रभावमा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सक्रिय भएका थिए । पछि उनलाई पार्टीले महोत्तरी र धनुषाको कमान्डरको जिम्मेवारी दिएको थियो ।
नेता यादव २०६४ सालको संविधानसभाको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–५ बाट उमेदवार बनेका थिए ।
अन्त्येष्टिमा प्रचण्ड सहभागी
यादवको आजै जनकपुरधामस्थित स्वर्गद्वारमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटी सदस्य मातृका यादव पनि सहभागी भए ।
प्रचण्डले जनकपुरधामस्थित पार्टी कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि प्रचण्ड नेता–कार्यकर्तासहित उनको निवासमा पुगेका थिए । प्रचण्डले परिवारलाई धैर्यधारण गर्न भन्दै मन दह्रो बनाएर नेताको सपना पूरा गर्न लाग्नुपर्ने बताए ।