काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज फेरि टेलिफोन संवाद भएको छ ।
शनिबार दिउँसो फोन संवाद भएको प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए । दुई नेताबीचको कुराकानीको विषय भने खुलाइएको छ ।
यसअघि, गएको बिहीबार राति पनि ओली र नेपालबीच टेलिफोन संवाद भएको थियो । एमालेको एकता संकटमा परिरहेको बेला दुई नेताबीच फोन संवाद भएको हो ।
यसैबीच, एमालेको एकता जोगाउन सक्रिय दोस्रो तहका नेताहरुको आजको छलफल सकिएको छ । केही दिनयता दिनहुँजसो संवादमा रहेका नेताहरुले आज पनि ललितपुरस्थित समिट होटेलमा छलफल गरेका हुन् ।
छलफलमा अध्यक्ष ओलीका तर्फबाट नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल र सुवासचन्द्र नेवाङ सहभागी थिए । वरिष्ठ नेता झलनाथ खनाल–नेपाल पक्षका घनश्याम भुसाल सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य सहभागी थिए ।