site stats
बाह्रखरी :: Baahrakhari
विशेष
बौद्धमा शवको भाग फाल्ने शंकास्पदहरु ‘सीसीटीभी’मा कैद ! यसरी हुँदै छ अनुसन्धान

काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा गएको जेठ २५ गते फेलापरेको एउटा शवको केही भाग फाल्ने शंकास्पदहरु ‘सीसीटीभी’ क्यामेरामा कैद भएको पाइएको छ । अनुसन्धानमा क्रममा प्रहरीले सोही क्षेत्रमा रहेको ‘सीसीटीभी’ क्यामेरामा सो दृश्य कैद भएको फेला पारेको हो ।

प्रहरीले बोरामा खुट्टाको घुडामुनिको भाग जलेको अवस्थामा फेला पारेको थियो । त्यसयता प्रहरीमा कसैले पनि आफन्त हुन सक्ने भन्दै निवेदन र जानकारी गराएका छैनन् । सो भाग महिलाको हुन सक्ने आशंका गरिएको छ । शवको भागको डीएनए परीक्षणको काम भइरहेको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

जेठ २४ गते रातिको समयमा सीसीटीभीमा कैद भएको फुटेजमा चारजना युवा देखिएका छन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “उनीहरुले त्यही शवको भाग नै फालेका हुन् वा अरु केही त्यो त खुल्न बाँकी छ । तर, केही फालेको जस्तो भने देखिन्छ । उनीहरुको हुलियाका आधारमा खोजीकार्य अगाडि बढाएका छौँ ।”

फुटेजको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गरिएको छ । ती प्रहरी अधिकारीका अनुसार प्रहरी ‘म्यानुअल’ अनुसन्धानमा जुटेको छ ।

अनौपचारिक रुपमा प्रहरी अधिकारीहरु फेला परेको शवको भाग हत्या गरेको शवको टुक्रा हुने सम्भावना न्यून रहेको बताउँछन् । उनीहरु भन्छन्, “हत्या भएको भए केही न केही सूचना प्रहरीसम्म आइसक्थ्यो । यो शवको टुक्रा तान्त्रिक प्रयोजनका लागि पशुपतिबाट लास जलाउँदै गर्दा कसैले ल्याएको हो कि भन्ने हाम्रो बुझाइ छ । तर, हामीले शंकास्पद भनेकाहरुलाई फेला पारेपछि थप खुल्ला ।”

घटनाको महानगरीय अपराध महाशाखा र परिसर काठमाडौंको टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । अनुसन्धान टोलीले पशुपति आर्यघाटको ‘कनेक्सन’ पनि खोज्न थालेको छ ।

चिकित्सकहरुले भने दुई हप्तापहिले नै सो भाग फालेको जस्तो देखिएको बताएका थिए ।  कुनै समुदायले धार्मिक र तान्त्रिक कार्यका लागि सो भाग पशुपति आर्यघाटबाट लगेको हुन सक्ने आशंका प्रहरीको छ ।

तान्त्रिक प्रयोजनका लागि मानव कंकाल प्रयोग गर्ने समुदायले कसैलाई पैसा दिएर शवको भाग मगाएको हुन सक्ने सम्भावना बढी रहेको अनुसन्धानमा खटिएकाहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्