site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लोपोन्मुख र सिमान्तकृत समुदाय समस्यामा
फाइल तस्बिर ।

दाङ । घोराहीका छविलाल गन्धर्व र उनको परिवारको जीवन सारंगीको धुनमै अडिएको छ । सारंगी बजाएर आएको पैसाले दैनिकी चलाउने गन्धर्व परिवार यति बेला कोरोना महामारीका कारण जारी निषेधाज्ञाले समस्यामा छ ।

गन्धर्व परिवारलाई रोगसँगै भोकको चिन्ताले सताउन थालेको छ । “बाहिर निस्किए रोगले मार्ला भन्ने चिन्ता, घरमै बसौँ पेटले खान खोज्छ,” उनले भने । कोरोना महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिँदा अब परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता उनमा थपिएको छ ।

उमेरले चार दशक पार गरिसकेका छविलाल भन्छन्, “कोरोना महामारी भएपछि दैनिकी चलाउनै गाह्रो भएको छ । के गर्नु अहिले त रोगको भन्दा पनि भोकको पिर पो भयो । लामो लकडाउनमा हामीले केही गर्न पाएनौँ, न सरकारले राहत दियो । हामी दुःखी गरिबलाई कसले सहयोग गर्छ र ?”

आफूसहित परिवारका ६ सदस्य सारंगीकै धुनमा निर्भर रहेको उनले सुनाए । “सानैदेखि यही सारंगी बजाउन थालियो, अहिले यो पेसा छोड्न मन लाग्दैन । हामी ६ जनाको सहारा यही सारंगी छ । तर, यसको धुन सुनाउन नपाउँदा दैनिक एक छाक कसरी चलाउने भन्ने चिन्ता थपिएको छ,” उनले भने, “अहिले त कोरोनाको महामारीले झन् संकटमा परियो, धेरै टाढा पनि जान सकिँदैन । नजिकमा जान पनि कोरोना लिएर आया छौँ कि भनेर मानिसले सोध्ने गर्छन् ।”

किसन गन्धर्व पनि निषेधाज्ञाका कारण घरबाहिर गाउँघरमा निस्कन सकेका छैनन् । घोराही उपमहानगरपालिका–११ का किसनलाई पनि रोगले भन्दा भोकले मरिन्छ कि भन्ने चिन्ता छ ।

उमेरले ४३ वर्ष भएका किसनले सारंगीकै धुनमा जीवन बिताइरहेका छन् । तर, निषेधाज्ञाले दैनिकी चलाउन असहज भएको छ । सारंगी रेटेर चारजनाको परिवार धानेका किसनलाई पछिल्लो समय समस्या परेको हो ।

“कोरोना रोगले मरिन्छ कि भन्ने चिन्ता त छँदै छ,” उनले भने, ‘अब त रोगभन्दा पनि कसरी खाना जुटाउने भन्ने पिरले सताउने गरेको छ ।”

आठ वर्षको उमेरमै सारंगी बजाउन सुरू गरेका किसनलाई सारंगी नै जिउने आधार बनेको छ । ‘कमाइ हुने बेलामा त कहिले एक हजार बढी पनि हुन्छ । कति मानिसले हाँसीखुसी धेरै पैसा दिनुहुन्छ, कतिपयले १० रुपैयाँ दिएर पनि टार्ने गर्छन् । आजभोलि त्यै पनि छैन,” उनले भने ।

तुलसीपुर उपमहानगरपालिका–४ का जीतबहादुर वादीको परिवारलाई पनि निषेधाज्ञा लम्बिँदै जाँदा अब के खाने भन्ने पिर छ ? मादल बनाउने र माछा मारेर दैनिक छाक टार्दै आएका उनीहरूलाई निषेधाज्ञाले ठूलै समस्या परेको छ ।

“मादल बनाउने पेसा त पहिलेदेखि नै संकटमा छ, माछा बेचेर गुजारा चलाउने गरेको थिएँ । तर, लकडाउनले माछा बिक्री हुनै छाड्यो । अब त के खाएर दिन काट्ने हो भन्ने पिर छ,” जीतबहादुरले भने, “बजार सबै बन्द भएपछि कहाँ लगेर माछा बिक्री गर्ने हो र अनि छाक टार्न पाइएला ?”

छिमेकीको सहारामा दैनिक साँझ–बिहानको छाक टारिरहेको उनले बताए । “छिमेकी, आफन्तको सहारामा बाँचिरहेका छौँ । खै, हाम्रा लागि सरकार कहाँ छ ?,” उनले प्रश्न गरे ।

वादी समुदायको पेसा पछिल्लो समय संकटमा पर्दै गएको अवस्थामा निषेधाज्ञाले झनै ठूलो समस्यामा पारेको दलित अधिकारकर्मी निर्मल नेपालीले बताए ।

लामो समयको निषेधाज्ञाका कारण कुसुन्डा समुदायका व्यक्तिहरू पनि समस्यामा परेको नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाले बताए । “कुसुन्डा समुदायका अधिकांश व्यक्ति दैनिक ज्याला मजदुरी गरेर खाने वर्गमा छ,” उनले भने, ‘जागिरे कोही पनि छैन, दैनिक काम नगर्दा रोगभन्दा भोकको समस्या बढिरहेको छ ।”

नेपालमा अहिले १७३ जना कुसुन्डा समुदायका व्यक्ति रहेको उनले जानकारी दिए । “सानो संख्यामा रहेको समुदाय भएका कारण पनि हाम्रा गुनासा पनि खासै सुनिँदैन,” उनले भने, ‘अहिले यस्तो परिस्थितिमा सरकारले अभिभावकत्व भूमिका देखाउनुपर्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro