site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छानबिन समिति बनाउन देउवाले मानेनन्, प्रचण्डले बोलाए विपक्षी दलको बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन अस्वीकार गरेका छन् । शनिबार देउवा निवास बूढानीलकण्ठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भएको भेटमा देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति आवश्यक नरहेको बताएका हुन् ।

प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकभन्दा पनि समग्र समस्या समाधानका लागि छानबिन समिति बनाउनुपर्ने विपक्षी दलको माग रहेको बताएका थिए ।

Argakhachi Cement Island Ad

“व्यक्तिगतरूपमा गृहमन्त्रीलाई भन्दा पनि समस्या दीर्घकालीनरूपमा हल गर्नका लागि समिति बनाएर छानबिन गर्नुपर्छ भन्ने प्रस्ताव राखिएको हो,” प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

देउवाले भने अख्तियारले छानबिन गरिरहेकाले समिति बनाउन आवश्यक नभएको बताएका हुन् । “अख्तियारले छानबिन गरिहेको भन्दै समिति बनाउन उहाँ तयार हुनुभएन । कुरा मिलेको छैन । थप कुरा गरौँला भन्ने भएको छ,” आचार्य भन्छन् ।

देउवा निवासको भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि थिए ।

देउवाले समिति बनाउन अस्वीकार गरेपछि प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधसभा बैठकपूर्व उनले आजै संसद् भवनस्थित कार्यकक्षमा बैठक बोलाएका हुन् । उनले देउवासँगको छलफलको ब्रिफिङ गर्नेछन् । बैठकले आगामी रणनीति तय गर्नेछ ।

भिजिट भिसा प्रकरणमा छानिबनका लागि समिति वा आयोग बनाउनुपर्ने माग विपक्षीको छ । गृहमन्त्रीको राजीनामाको मागबाट विपक्षी दलहरू पछि हटिसकेका छन् । सहमति हुन नसक्दा जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्