site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई जर्मन कम्पनीले पाए ६४ लाख ई–पासपोर्टको ठेक्का, सात अर्ब ८२ करोडमा छाप्ने

काठमाडौं । राहदानी विभागले दुईवटा जर्मन कम्पनीलाई आगामी पाँच वर्षमा ६४ लाख विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) खरिद तथा छपाइ गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ । जर्मन कम्पनी भेरिडोस र मुहलबाउर आईडी सर्भिसेजलाई खरिद तथा छपाइको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

राहादानी विभागले ई–पासपोर्ट खरिद तथा छपाइ प्रक्रियाको बोलपत्र (टेन्डर) प्रक्रियामा सहभागी कम्पनीमध्ये दुई जर्मन कम्पनीलाई छनोट गरेको हो ।

“हामीले दुई जर्मन कम्पनी भेरिडोस र मुहलबाउरलाई आशयपत्र पठाएको छौँ,” परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बाह्रखरीसँग भने, “आशयपत्रमा जर्मन कम्पनीसँग ई–पासपोर्ट खरिद तथा छपाइ गर्न विभाग तयार छ भन्ने उल्लेख छ ।”

Argakhachi Cement Island Ad

विभागले यही जेठ २२ गते जर्मन कम्पनी भेरिडोस र मुहलबाउरलाई आशयपत्र (एलओआई) पठाई ६४ लाख ई–पासपोर्ट खरिद तथा छपाइसम्बन्धी जिम्मेवारी दिने आशय व्यक्त गरेको हो ।

विभागले ई–पासपोर्ट खरिद तथा छपाइसम्बन्धी दुईवटा प्योकजमा एउटा भेरिडोस र अर्को मुहलबाउरलाई दिएको छ । दुईवटा प्याकेज कुल सात अर्ब ८२ करोड ६९ लाख ८८ हजार ६१६ रुपैयाँ ९४ पैसाको छ ।

भेरिडोसले विभागले पठाएको आशयपत्र स्वीकार गरेपछि उक्त रकममा पाँच वर्षभित्र ६४ लाख नेपाली ई–पासपोर्ट खरिद तथा छपाइ कार्य सम्पन्न गर्नुपर्नेछ ।

प्याकेज १ अन्तर्गत आवेदन प्रणाली, डेटा व्यवस्थापन तथा प्रशोधन र पासपोर्ट वितरणका लागि एक अर्ब ५५ करोड १५ लाख ५२ हजार ८६२ रुपैयाँ १ पैसाको बोलपत्र मुहलबाउरले प्राप्त गरेको छ । ई–पासपोर्टको खाली पुस्तिका र सोको वैयक्तिकरण समावेश गरिएको दोस्रो प्याकेजको बोलपत्र ६ अर्ब २७ करोड ५४ लाख ३५ हजार ७५४ रुपैयाँ ९३ पैसामा भेरिडोसले प्राप्त गरेको छ । 

“आशयपत्र जारी गरेको एक सातासम्म अन्य कम्पनीले उजुरी दिन पाउँछन् । उजुरीमा त्यस्तो कुनै खोट नभेटिए निर्णय फेरिँदैन,” महानिर्देशक अर्यालले भने ।

चालु आर्थिक वर्ष २०८१/८२ मा अर्थ मन्त्रालयले राहदानी विभागलाई पाँच वर्षमा ६४ लाख थान ई–पासपोर्ट खरिद तथा छपाई गर्न करिब १२ अर्ब रुपैयाँको स्रोत तथा बजेट सहमति प्रदान गरेको थियो । त्यसपछि विभागले दुईवटा प्याकेजमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा चार देशका पाँच सुरक्षण मुद्रण कम्पनी सहभागी भएका थिए । विभागले दुईवटा प्याकेज बनाई बोलपत्र आह्वान गरेको थियो । जसअन्तर्गत पहिलो प्याकेजमा तीनवटा कम्पनी र दोस्रो प्याकेजमा चारवटा अन्तर्राष्ट्रिय कम्पनीले आवोदन दिएका थिए । आवेदन दिनेमा दुईवटा जर्मन कम्पनी र फ्रान्स, पोल्यान्ड र मलेसियाका एक/एक कम्पनी थिए । 

अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा प्याकेज १ मा आवेदन प्रणाली, डेटा व्यवस्थापन तथा प्रशोधन र पासपोर्ट वितरण राखिएको थियो । यस्तै, दोस्रो प्याकेजमा ई–पासपोर्टको खाली पुस्तिका र सोको वैयक्तिकरण समावेश गरिएको थियो ।

पहिलो प्याकेजका लागि आवेदन दिने तीन कम्पनीमा मलेसियाको आईआरआईएस कर्पोरेसन बर्हाड, फ्रान्सको आईडीईएमआईए र जर्मनीको मुहलबाउर ग्रुप रहेका थिए ।

यस्तै, दोस्रो प्याकेजको लागि आवेदन दिनेमा अन्तर्राष्ट्रिय कम्पनीमा फ्रान्सको आईडीईएमआईए, जर्मनीको मुहलबाउर ग्रुप, पोल्यान्डको पोल्स्का वाइटवोर्निया पापिरो वार्टोसियोविच एस.ए. र जर्मनीको  भेरिडोस थिए ।

फ्रान्सको आईडीईएमआईए र जर्मनीको मुहलबाउर ग्रुपले पहिलो र दोस्रो दुवै प्याकेजको लागि आवेदन दिएका थिए । 

विभागले ६४ लाख थान ई–पासपोर्ट खरिद तथा छपाइका लागि ४५ दिनको म्याद राखी पहिलोपटक २०२४ नोभेम्बर २४ का दिने बोलपत्र आह्वान गरेको थियो । यसको म्याद २०२५ जनवरी १२ सम्म थियो । प्रकाशित बोलपत्रका विषयमा छलफल गर्न गत २०२५ जनवरी ११ का दिन पूर्वबोलपत्र बैठकको आयोजना विभागले गरेको थियो ।

उक्त बैठकमा २२ वटा कम्पनीले भाग लिई विभिन्न जिज्ञासा राखेका तथा केही विषयमा परिमार्जन गर्न अनुरोध गरेका थिए । त्यसपछि विभागले बोलपत्रको म्याद ३० दिन थप गरी २०२५ फेव्रुअरी ११ सम्म पुर्‍याइएको थियो । म्याद थप गर्नुअघि विभागले बोलपत्रमा रहेका केही प्रावधानलाई संशोधनसमेत गरेको थियो ।

विभागले अन्तर्राष्ट्रिय बोलपत्रको म्याद तेस्रोपटक फेब्रुअरी ११ का दिन १० दिन थप गरी फेब्रुअरी २१ सम्म पुर्‍याएको थियो । फेब्रुअरी २१ का दिन विभागले परेका बोलपत्र सार्वजनिक गरेको थियो । तीनै बोलपत्रबाट दुई जर्मन कम्पनीलाई ई–पासपोर्ट खरिद तथा छपाइको जिम्मेवारी दिइएको हो । सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई आशयपत्र प्रदान गरिएको विभागले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्