site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्रमा नयाँ अनुहार : कत्तिको चुनौति ?


काठमाडौं । नेपाली चलचित्र उद्योगमा बर्सेनि जति संख्यामा नयाँ कलाकार भित्रिन्छन्, त्यति नै संख्यामा पलायन पनि हुन्छन् । नयाँ चलचित्रमा देखिने नयाँ अधिकांश अनुहार दोस्रो चलचित्रमा देखिँदैनन् । पहिलोपटक डेब्यू गराएका निर्देशक तथा निर्माताले पनि तिनै कलाकारलाई दोहोर्याउँदैनन् ।

नेपाली चलचित्र उद्योगमा पछिल्लो समय नयाँ कलाकारलाई डेब्यू गराउँदै आएका निर्माता तथा निर्देशकमा दीपेन्द्र के खनाल, निश्चल बस्नेत, सुनिल रावल, हेमराज बिसी, सुरज सुब्बा नाल्बो आदि हुन् भने पुरानामा छविराज ओझा, तुलसी घिमिरे, शिव रेग्मी, दयाराम दाहाल आदि हुन् । 

ओझा र घिमिरेको पालामा पर्याप्त कलाकार नभएकाले पनि नयाँ कलाकारलाई डेब्यू गराउनु बाध्यता थियो भने अहिले भने त्यो अवस्था छैन । जोखिम उठाउन चाहनेले मात्रै नयाँ कलाकारलाई लिन्छन् तर रिस्क नमोल्नेले पालो कुरेरै भए पनि ‘स्टारडम’ मार्फत लगानी सुरक्षित गर्ने बाटो नै रोज्छन् । 

नयाँ कलाकारलाई लिँदैमा लगानी डुब्छ भन्ने होइन । स्टार कलाकारलाई लिँदा केही हदसम्म उसका फ्यान फलोइङ दर्शकका कारण लगानी सुरक्षित हुने सम्भावना रहेको निर्माताहरु बताउँदै आएका छन् ।  

छवि ओझाले राजेश हमाललाई डेब्यू गराएको चलचित्र ‘युगदेखि युग’ बाट त्यही समयमा झण्डै करोड रुपैयाँ कमाए । तुलसी घिमिरेले दिलिप रायमाझी, निरुता सिंह, उत्तम प्रधानजस्ता कलाकारलाई नेपाली चलचित्रमा भित्र्यएर स्थापित नै गराए । तर सबै नयाँ कलाकार चलचित्रमा बिक्छन् भन्ने छैन । त्यही कारण कमैले मात्रै नयाँ अनुहारलाई आफ्नो चलचिचत्रमा लिन्छन् । 

अनमोल केसी, संयम पुरी, सुशील श्रेष्ठ निर्माताहरु सुनील रावल तथा निर्देशक हेमराज बिसी र सुरज सुब्बा नाल्बोका चलचित्रबाट लोकप्रिय भएका कलाकार हुन् । 

दीपेन्द्र के खनाल पनि नयाँ अनुहारलाई ‘चान्स’ दिनुपर्छ भन्ने निर्देशक हुन् । ‘टुल्के’ बाट नोटिस भए पनि खगेन्द्र लामिछाने दीपेन्द्रकै चलचित्र ‘पशुपतिप्रसाद’ बाट अब्बल बनेका कलाकार हुन् । विपिन कार्की दीपेन्द्रकै चलचित्रबाट हिट भए भने स्वस्तिमा खड्का, सुरक्षा पन्तलाई लिड रोलमा अभिनय गराउने निर्देशक उनै हुन् । 

यता, निश्चल बस्नेत पनि नेपाली चलचित्र उद्योगमा नयाँ अनुहार ल्याउने निर्देशक हुन् । तर, उनी रंगमञ्चमा जमिसकेका कलाकारलाई रजतपटमा ल्याउने निर्देशकको कोटीमा उभिन्छन् । सौगात मल्ल, दयाहाङ राई, सिर्जना सुब्बा उनकै चलचित्रमार्फत चलचित्र उद्योगमा राज गर्ने कलाकार हुन् । यद्यपि दयाहाङ राई भने राजनीतिक चलचित्र ‘दासढुंगा’ बाट नोटिस भइसकेका थिए ।

फेस भ्यालु नबोकेका व्यक्तिलाई मुख्य भूमिकामा ल्याउँदा लगानीको प्रतिफल सुरक्षित हुने सुनिश्चित हुँदैन भने किन निर्देशक तथा निर्माता नयाँ अनुहार लिन्छन् त ? “फ्रेस अनुहारमार्फत नयाँ कथा भन्दा दर्शकले पत्याउने भएकाले म नयाँ अनुहारलाई लिन्छु,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “पुरानो अनुहारमार्फत नयाँ कथा भन्दा दर्शकले नपत्याउने सम्भावना बढी भएकाले नयाँ अनुहारलाई नै लिन रुचाउँछु ।”

निर्माता सुनील रावललाई नयाँ कलाकार लिँदैमा चलचित्र फ्लप हुन्छ भन्ने लाग्दैन । “मैले होस्टल, होस्टल रिटन्र्स र सायदमा सबै नयाँ अनुहार नै लिएको थिएँ । ती सबै चलचित्र चले,” निर्माता रावल भन्छन्, “कथा र मेकिङ राम्रो भयो भने नयाँ व्यक्तिबाट पनि काम लिन सकिन्छ । तर उनीहरुले पनि सिकेर भने आउनुपर्छ ।”

सुनीलसँग अर्को फरक अनुभव पनि छ । उनलाई कलाकार हुने रहर लागेका बेला निदेर्शक तथा निर्माताले पैसा मागेपछि नयाँ तर प्रतिभावान व्यक्तिलाई म आफैं अवसर दिन्छु भनेर उनले चलचित्र निर्माण सुरु गरे र नयाँ अनुहारलाई अवसर दिए । अहिले प्रदर्शनमा रहेको उनको चलचित्र ‘सायद–२’ ले अपेक्षित व्यापार गरेन । यसै मेसोमा उनले आगामी आफ्ना चलचित्रमा नयाँ कलाकारका लागि ढोका बन्द गरेको हल्ला चल्यो । तर, ती हल्ला र समाचारमा सत्यता नरहेको उनी प्रष्ट्याउँछन् । 

उता पाका निर्देशक तुलसी घिमिरे पनि नयाँ अनुहारलाई नेपाली चलचित्र उद्योगमा भित्र्याएर स्थापित गराउनेमा सधंै अग्रपंक्तिमा उभिन्छन् । उनले आफ्नो पछिल्लो चलचित्र ‘दर्पण छायाँ–२’ मा पनि नयाँ कलाकारलाई खेलाए । “हामीले नयाँ अनुहारलाई चान्स दिएनौं भने आजका कलाकारका उत्तराधिकारी पनि हुँदैनन्,” उनी भन्छन्, “आज हामीले विश्वास गरेर अवसर दियौं भने उनीहरु नै भोलि सेलिब्रिटी हुन्छन् ।”

तर ‘दर्पण छायाँ–२’ मा नयाँ कलाकारलाई खेलाउने उनको निर्णय भने फाप सिद्ध भएन । त्यसो त उनको मात्रै होइन, ‘सायद–२’ मा सुशील बाहेक नयाँ कलाकारलाई लिने सुनिल रावलको आत्मविश्वासले पनि धोका खायो । यद्यपि यही चलचिका नवकलाकार अमृत ढुंगानाको अभिनय कलाको चर्चा सायदको निर्माण युनिटले मात्रै होइन, समीक्षकले पनि गरिरहेका छन् । 

पुराना निर्देशक घिमिरे र रावल मात्रै होइन, पछिल्लो पटक अर्का सफल निर्देशक दीपेन्द्र के खनाल पनि नयाँ कलाकार लिँदा अपेक्षित सफल हुन सकेनन् । ‘लभ लभ लभ’ मार्फत उनले नयाँ कलाकार भित्र्याए तर उनको चलचित्रले बक्स अफिसमा कमाल गर्न सकेन । 

छवि ओझा भने नयाँ कलाकार फाप सिद्ध हुने निर्माताको कोटीमा पर्छन् । राजेशदेखि रेखा थापा र शिल्पा पोखरेलसम्मलाई उनैले नेपाली चलचित्रको ढोका खोलिदिए । जसले चलचित्रमा उनको लगानी सुरक्षित गरिदिए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७४  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro