काठमाडौं । गत आर्थिक वर्ष ०७३÷०७४ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको खुद नाफा १३ करोड रुपैयाँ मात्र बढेको छ ।
गत आवमा बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८ करोड रुपैयाँ थियो । बैंकले शुक्रबार गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा नाफा, निक्षेप परिचालन र कर्जा लगानीमा न्युन विस्तार रहेको जानकारी दिएको छ ।
गत असारसम्म बैंकले ५२ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको निक्षेप ४७ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ थियो । एक वर्षमा बैंकको निक्षेप ५ अर्ब रुपैयाँ मात्र बढेको छ ।
समीक्षा अवधिमा बैंकले ४८ अर्ब ७ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४० अर्ब ५६ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवमा बैंकको खराव कर्जा १.२८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको लागत ८ प्रतिशत पुगेको छ । गत आवमा यस्तो पुँजीगत लागत ४.४१ प्रतिशत थियो । बैंकको लागत दोब्बर बढेको छ ।
बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.४२, कर्जा र निक्षेपबीचको ब्याज दर अन्तर ३.१९ प्रतिशत छ । बैंकका प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा छ । बैंकको चुक्तापुँजी ६ अर्ब ९२ करोड १६ लाख रुपैयाँ छ । बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पु¥याउदै छ ।