काठमाडौं । काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइजी लिग नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन टोली हो ।
नेपालमा अक्सनमार्फत भएको प्रतियोगितामा काठमाडौंले फाइनल खेलमा एफसी धनगढीलाई हराउँदै उपाधि उचालेको थियो । नेपाली खेलकुदमा नयाँ आयमसहित भएको प्रतियोगितामा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्न सफल भयो ।
काठमाडौं रेजर्सको स्थापना
नेपालमा सुरु भएको पहिलो संस्करणको सुपर लिगमा काठमाडौंले आफ्नो नेतृत्व गर्ने उद्देश्यले प्रतियोगितामा भाग लियो । मोरङ अटो वर्कसलाई फुटबल विकासका लागि टिमको प्रतिनिधित्व गर्ने योजना भयो । मोरङ अटो वर्कसलाई टिमको मालिकको रुपमा प्रतिनिधित्व गर्ने अवसर पायो ।
क्लबको लोगो र पहिचान
काठमाडौं सांस्कृतिक सहर हो, यस संस्कृतिमा यस सहरको मूल्य अपार छ । फुटबल काठमाडौंको लागि खेलभन्दा पनि ठूलो कुरा हो, काठमाडौंको यो अर्को संस्कृति हो ।
धेरै ‘ए’ डिभिजन क्लबहरू यहाँ आधारित छन् । तर, विभाजित छन् । काठमाडौं रेजर्सले यसलाई पूरै काठमाडौंलाई एक टिम, एक क्लबको रूपमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्यो ।
त्यसैका आधारमा लोगो डिजाइन भएको हो । क्लबको ब्याजमा चिलको प्रतीक राखिएको छ । आकाशमा खुल्ला रुपले उड्छ, जुन सिकारी चरा कोही कसैसँग पनि डराउँदैन, हरेक कुराको प्राप्तिको लागि व्यापक दर्शन गर्छ । लोगोमा मिश्रित रङ निलो, रातो र सेतो रङ हो ।
नामको व्याख्या
पर्फमेन्समा जसरी रेजर तिखो छ, त्यस्तै यमाहाको ‘रेजेडआर १२५ एफआई’पनि उत्तिकै अब्बल छ । पर्फमेन्स र पहिचान मेल खाने हुनाले क्लबको ‘काठमाडौं रेजर्स’ को नाम जु¥यो ।
व्यवस्थापन
एन्फा लिग कमिटीका अध्यक्ष तथा एन्फामा प्रमुख व्यक्तित्वका रुपमा रहेका विज्ञानराज शर्माको नेतृत्वमा व्यवस्थापन टिम निर्माण भएको थियो । उनको नेतृत्वमा टिम र व्यवस्थापनको रूपरेखा तयार गरियो, जसले काठमाडौं रेजर्सको सफलताको आधार बनायो । त्यस्तै, काठमाडौंले मधुसूदन उपाध्यायलाई टिम म्यानेजरको रुपमा राखेको थियो ।
प्रशिक्षक बालगोपाल महर्जनको आगमन
नेपाली फुटबल क्षेत्रमा नाम चलेका प्रशिक्षक हुन्, बाल गोपाल महर्जन । उनले नेपाली राष्ट्रिय फुटबल टोलीलाई धेरै उपाधि जिताएका थिए । उनलाई नै काठमाडौंले प्रशिक्षकको रुपमा ल्याउने योजना बनायो । नेपाल सुपर लिगमा इतिहास बनाउने उद्देश्यले उनलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
मुख्य प्रशिक्षक बालगोपालले काठमाडौंकै स्थानीयवासी भएका कारण नै प्रतियोगितामा काठमाडौंको प्रतिनिधित्व गर्ने योजना बनाए । प्रशिक्षक महर्जनले काठमाडौंको मार्की खेलाडीको रुपमा विकेश कुथुलाई राख्ने योजना बनाए । टिमको रणनीतिअनुसार विकेशले टिमको नेतृत्व गर्ने अवसर पाए ।
“नेपाली खेलकुदमा विकेशले बेग्लै पहिचान बनाएका छन् । उनलाई मैले टिमको मार्की खेलाडीको रुपमा राख्ने निर्णय गरेको थिएँ । काठमाडौंमा कस्तो खालका खेलाडी चाहिन्छ, नेपाली घरेलु लिगदेखि राष्ट्रिय लिगमा खेल्ने खेलाडीलाई एक डाटा बनाएर खेल्ने खेलाडीको टिम तयार पार्ने योजना बनाएको थिएँ । अन्तिममा टिम राम्रो बन्यो,” महर्जनले भने ।
काठमाडौं फाइनलअघि धनगढीसँग दुईपटक पराजित भइसकेको थियो । सोही टिमसँग फाइनलमा प्रवेश गरेको थियो । महर्जनले फाइनलअघि टिममा केही मनोबलको कमजोर बनाएको बताए ।
“खेलाडीको मनोबलमा केही कमी देखिन्थ्यो । धनगढीको उच्च मनोबलले हाम्रो खेलाडीलाई सहज बनायो । खेलअघि काठमाडौंका खेलाडी पनि उच्च मनोबलका साथ लागेका थिए,” उनले भने । महर्जनले आफूहरूको खेल पहिलो चरणमा बलियो भए पनि बीचमा केही कठिनाइसँगै समूह विजेता बन्न पाएकोमा खुसी पनि लागेको बताए ।
लिगमा कुल ९ खेल खेलेको काठमाडौंले पाँच खेलमा जित निकाल्यो भने तीन खेलमा पराजित भयो । काठमाडौंले एक खेलमा बराबरी खेल्यो । यसरी जित, हार र बराबरी हुँदै समूह विजेता बन्दै काठमाडौंले उपाधि जित्यो । यमाहाको स्वामित्वमा रहेको काठमाडौंले लिगमा आफ्नो बेग्लै छाप छोड्न सफल भयो । प्रशिक्षक महर्जनको काठमाडौंमै उपाधि राख्ने योजना पनि सफल भयो ।
“काठमाडौंमा उपाधि राख्ने मेरो योजना सफल भयो । विभिन्न चुनौतीबीच सफल भयौँ । यो अवसरमा साथ दिने सबैलाई धन्यवाद । आगामी सिजन हामी थप बलियो हुँदै आउने छौँ । पहिलो सिजन भएकाले केही कजोरी भए पनि यसलाई सुधार गर्ने मौका अर्काे सिजन अवश्य मिल्नेछ,” महर्जनले भने ।
सन् १९९३ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका महर्जनले देशका लागि धेरै सफलतामा महत्वपूर्ण योगदान गरेका छन् । महर्जनले नेपालका लागि खेलाडीका रुपमा जति योगदान गरेका छन्, त्यति नै प्रशिक्षकको रुपमा गरेका छन् । नेपालले बंगबन्धु गोल्डकपदेखि साग उपाधि पनि महर्जनकै नेतृत्वमा जितेको छ ।
यता, काठमाडौंका अध्यक्ष विज्ञानराज शर्माले नेपाली फुटबलमा लिगले राम्रो अवसर पाएको बताए । उनले नेपाली फुटबलमा लिग सञ्चालनको जिम्मेवारी पाएका थिए । यो सालको लिग हुन सकिरहेको थिएन । तर, उनले सञ्चालन गरे ।
ऐतिहासिक सहिद स्मारक लिग फुटबल प्रतियोगिता (नेपाली फुटबलको मेरूदण्ड) सञ्चालन गर्न निकै चुनौतीपूर्ण अवस्थामा तत्कालीन नवनिर्वाचित एन्फा कार्यसमितिले अनुरोध गरेपछि आफूले कार्य सम्पन्न गर्ने योजना बनाएको उनले बताए ।
एनएसएलमा उनले राम्रो टिम तयार पार्ने योजना बनाए । काठमाडौंको जिम्मेवारी पाएका उनी उत्कृष्ट प्रशिक्षकको खोजीमा थिए । उनले त्यति नै बेला बालगोपाल महर्जनलाई छाने ।
“मैले काठमाडौंको जिम्मेवारी पाएको थिएँ । काठमाडौंलाई उत्कृष्ट टिम बनाउने योजना भयो । सोहीअनुसार मैले बालगोपाललाई प्रशिक्षको रुपमा क्लबमा भित्र्याएँ,” शर्माले भने ।
नेपालमा फुटबल एउटा व्यावसायिक रुपमा विकास हुँदै गरेको बताउँदै शर्माले एउटा उद्योगको ्रुपमा अगाडि बढ्दै गरेको फुटबल व्यवसायले भोलि खेलाडीको भविष्य निर्धारण गर्ने बताए ।
एक खेलाडीले एक महिना खेलेर पनि दुई–चार लाख कमाउन सक्छ । फुटबल खेलाडी मात्र होइन, यसका रेफ्री, टेक्निसियन, कोचहरु प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा फुटबलमा आबद्ध हजारौँले रोजगारी पाउने अवस्था नेपाली फुटबलमा अब आएको छ ।
शर्माले पहिलो संस्करणको लिगमा विदेशी खेलाडी अनुबन्ध गर्दा केही सहज भएको बताए । उनले अफ्रिकन खेलाडीलाई टिममा अनुबन्ध गर्ने व्यवस्था मिलाउन पहिलेदेखि थालिएको बताए । उनले अन्तिम समयमा बाट स्टेफन, फ्लोरेन्ट र मेसुकी टिममा अनुबन्ध गर्ने योजना सफल भएको बताए ।
यता, काठमाडौंका टिम मालिक विष्णुकुमार अग्रवालले नेपाली फुटबलमा एनएसएलबाट नयाँ व्यावसायिक फुटबलको थालनी भएको बताए । उनले यसैमार्फत नेपाली फुटबलमा खेलाडीहरुको मोह बढ्ने पनि बताए ।
“हामी फुटबल काठमाडौंको संस्कृति हो भनेर बुझ्दछौँ । हामी बालबालिकाहरु सडक, गल्लीहरू, चोक–चोकमा खेलिरहेका देख्न सक्दछौँ, त्यो पनि फुटबल जुत्ता वा कुनै जर्सीबिना । हामी विदेशी फुटबलको प्रभाव परिवारमा देख्छौँ । अब सोही प्रभाव नेपाली फुटबलको होस् भन्ने हाम्रो चाहना हो,” अग्रवालले भने ।
नेपाल सुपर लिगको सुरुवातले काठमाडौं र नेपालभरका फुटबल फ्यानहरूको भावनासँग सम्पर्क राख्ने अवसर दिएको अग्रवालले बताए । त्यस्तै, अन्य फुटबल प्रतियोगितामा काठमाडौंलाई धेरै ‘ए’ डिभिजन क्लबमार्फत प्रतिनिधित्व गरिएको भए पनि एनएसएलको समयमा काठमाडौं रेजर्स समग्रमा काठमाडौंको प्रतिनिधित्व गर्ने टोली बनेकोमा आफू खुसी भएको बताए ।
भविष्यको काठमाडौं रेजर्सको अन्य समुदायमा पनि फुटबलको प्रतिनिधित्व गराउने योजना बनाएको छ । त्यसैअनुसार आफूहरु लागिरहेको काठमाडौंका टिम मालिक अग्रवालले बताए ।