काठमाडौं । आर्थिक वर्षको अन्त्य नजिकिदै गर्दा पनि सरकारले विकास बजेट खर्चए गर्न नसक्दा र धमाधम राष्ट्र ऋण उठाउँदा बैंकिङ प्रणालीमा भने तरलता अभाव देखिएको छ । एक महिनाभन्दा बढी समयदेखि देशभर जारी निषेधाज्ञाले गर्दा कर्जा लगानी ठप्प जस्तै हुँदा पनि बैंकिङ प्रणालीमा भने तरलता संकुचनको अवस्था आएको छ ।
कोभिडको दोस्रो लहर सुरु भएसँगैं वैशाख १६ गतेपछि देशभरजसो जारी निषेधाज्ञाले गर्दा कर्जा लगानी सुस्ताएको छ । वैशाख १७ गते ३५ खर्ब ९४ अर्ब रहेको वाणिज्य बैंकहरूको कर्जा लगानी त्यसयतको ५ साता (जेठ २१) मा ४० अर्बले बढेर ३६ खर्ब ३४ अर्ब पुगेको छ ।
यस्तै वैशाख १७ गते ३९ खर्ब २३ अर्ब रहेको बैंकहरूको निक्षेप सोही अवधिमा ४६ अर्बले बढेको ३९ खर्ब ६९ अर्बले पुगेको छ । नेपाल राष्ट्र बैंकले वैशाखमा जारी गरेको २० अर्बको रिपो गत साता परिपक्व भएपनि पुन ३० अर्बको रिपो जारी गरेको छ । यस अवधिमा राष्ट्र बैंकले थप १० अर्ब बजारमा तरलता इन्जेक्ट गरेको देखिन्छ । जसले गर्दा निक्षेप ४६ अर्बले बढेको देखिए पनि ३६ अर्बले मात्रै बढेको हो ।
कर्जा लगानी र निक्षेप उस्तै भएको अवस्थामा सरकारले धमाधम राष्ट्र ऋण उठाउँदा बैंकिङ प्रणालीमा भने तरलता अभाव देखिएको छ । अहिले राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब बजारमा इन्जेक्ट गरेको अवस्थाम पनि जेठ २३ गते बैंकिङ प्रणालीमा जम्मा ३२ अर्ब मात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउँछन् । यस्तैं अन्तर बैंक ब्याजदर १.१७ प्रतिशत रहेको उनले बताए ।
आर्थिक वर्ष सकिन अब ४० दिन पनि बाँकी नभएको अवस्थामा सरकारले विकास बजेट खर्च गर्न नसक्दा निषेधाज्ञाले १ महिना भन्दा बढी समयदेखि कर्जा लगानी नहुँदा पनि तरलता अभाव भएको छ ।