यूके । हलिउड अभिनेता टम क्रुजको एक्सन फ्रेन्चाइज चलचित्र ‘मिसन इम्पोसिबल ७’ (एमआई ७) को छायांकन केही समयका लागि स्थगित गरिएको छ । पछिल्लोपटक बेलायतमा छायांकनमा रहेको चलचित्रको टिममा कोरोना पोजिटिभ देखिएपछि छायांकन स्थगित गरिएको हो ।
प्यारामाउन्ट र स्काइड्यान्स निर्माण कम्पनीका प्रतिनिधिले यही जुन १४ सम्म छायांकन स्थगित भएको पुष्टि गरेको भेराइटीले उल्लेख गरेको छ ।
“नियमित कोरोना परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि हामीले अस्थायी रुपमा ‘मिसन : इम्पोसिबल ७’ को छायांकन जुन १४ सम्मका लागि रोकेका छौँ,” विज्ञप्तिमा भनिएको छ, “हामीले सुरक्षाका सबै प्रोटोकलहरु फलो गरिरहेका छौँ र स्थिति निगरानी जारी राख्नेछौँ ।”
कोरोना महामारीबीच पनि छायांकनमा रहेको टिमको समय–समयमा कोरोना परीक्षण, शरीरको तापक्रम जाँचलगायत सुरक्षाका प्रोटोकल पालना गरी काम भइरहेको थियो ।
अन्य ठूला हलिउड चलचित्रहरुले जस्तै एमआई ७ ले पनि ठूलो पर्दामा आउन संघर्ष गरिरहेको छ । सन् २०२० को फेब्रुअरीमा भेनिसमा चलचित्र छायांकन सुरु हुनै लाग्दा लकडाउनले प्रभावित भयो । महामारीका कारण धेरैपटक रोकिएर गत अक्टोबरमा इटालीमा छायांकनमा भइरहँदा टिमका १२ जनामा कोरोना देखिएपछि पुनः छायांकन रोकिएको थियो ।
चलचित्रको निर्देशन क्रिस्टोफर म्याक्वेरीले गरिरहेका छन् । यसअघि, उनले ‘मिसन : इम्पोसिबल रोग नेसन’ र ‘फलआउट’ निर्देशन गरिसकेका छन् ।