काठमाडौं । कोरोना संक्रमणको महामारीसँगै सिनेमा हल बन्द हुने क्रम जारी छ । हालसम्म २२ वटा चलचित्र घर बन्द भइसकेका छन् भने थप ३०–४० वटा हल बन्द हुने क्रममा छन् ।
भाडाको घरमा रहेका हल करिब डेढ वर्षदेखि बिनाआम्दानी भाडा मात्रै तिर्नुपरेका कारण झन्डै थप ४० वटा हल बन्द हुने क्रममा पुगेको चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् ।
“झन्डै डेढ वर्षदेखि सिनेमा हल बन्द छन् । अझै कतिसमय चलचित्र नचल्ने हो ठेगान छैन । धेरैजसो हलहरु भाडाको घरमा छन् । आम्दानी छैन । तर, भाडा भने नियमित तिरिरहनुपर्दा अवस्था दयनीय भइसकेको छ,” महासचिव शर्मा भन्छन्, “मल्टिप्लेक्स त झन् अधिकांश भाडाको घरमै छन् । त्यसैले अझै ३० देखि ४० वटा सिनेमा हल बन्द हुने अवस्थामा छन् ।”
आफ्नै घरमा सञ्चानमा रहेका सिंगल थिएटरको दैनिक खर्च कम्तीमा २५ हजार र मल्टिप्लेक्सको ५० हजार हुन्छ ।
क्यूएफएक्स चेनको काठमाडौंकै जय नेपाल हल यसअघि नै बन्द भइसकेको छ । उनका अनुसार कुमारी हल पनि अब खुल्ने छैन । काठमाडौं, बालाजुकै गंगा हल बन्द भइसकेको छ भने गोपीकृष्णका हलका गोपी, कृष्ण, राधा र मीरा हल बन्द भइसकेका छन् ।
हल बन्द हुनु हल सञ्चालकका लागि त घाटा हुँदै हो, निर्माताका लागि पनि ठूलो नोक्सानी हो । काठमाडौंको मुटुमै रहेर ब्रान्ड बनिसकेका जय नेपाल, कुमारी र गोपीकृष्ण हल बन्द हुँदा निर्माताहरुलाई ठूलो नोक्सानी हुने निर्देशक तथा कलाकारसमेत रहेका शर्मा बताउँछन् ।
उनका अनुसार लगानी उठाएर केही आम्दानी गरेका चलचित्रका निर्मातालाई गोपीका गोपी, कृष्ण, राधा र मीरा हलबाट २०–२२ लाख, कुमारीबाट १५–१६ लाख र जय नेपालबाट ५–६ लाख रुपैयाँ प्रदर्शक (सिनेमा हल) र वितरकको सेयर कटाएर निर्माताको हात पथ्र्यो ।
ब्लक बस्टर चलचित्रबाट अझ धेरै रकम यी हलबाट निर्माताको खातामा पुग्थ्यो । “मेरो रेकर्डअनुसार चलचित्र छक्का पञ्जाबाट निर्मातालाई गोपीका बन्द भएका हलबाट करिब ५० लाख, कुमारीबाट झन्डै २५ लाख र जय नेपाल हलबाट करिब २२ लाख रुपैयाँ गएको थियो,” उनी भन्छन्, “यो भनेको ब्लक बस्टर चलचित्रका निर्मालाई करिब एक करोड घाटा हो । चल्दै नचल्ने चलचित्रका लागि त हिसाब भएन ।”
शर्माका अनुसार निर्माताको हातमा यी हलबाट १ करोड पुग्नु भनेको ग्रस कलेक्सन कम्तीमा त्यसको तीन गुणा बढी हुनु हो ।
निर्देशक दीपेन्द्र के खनाल काठमाडौंको मुटुमा रहेका ब्रान्ड नेम बनिसकेका हलहरु बन्द हुनु मेकरका लागि सुखद नभएको बताउँछन् । दर्शकले मन पराएर एक/डेढ महिना चलेका चलचित्रलाई यी हलबाट औसतमा ५०–६० लाख रुपैयाँ आउने गरेको खनालको भनाइ छ ।
“जय नेपाल र कुमारी हलका दर्शक नै फरक थिए । होहल्ला गर्न मन नपराउने शान्त वातावरणमा चलचित्र हेर्न आउने स्वाभावका दर्शकहरु आउने हल हुन् यी,” खनाल भन्छन्, “यी हलमा आउने दर्शक अब कहाँ जान्छन्, बिग मुभिजमा जाने हुन् । तर, त्यहाँको सिट क्षमताले राम्रो चलचित्रलाई धान्दैन ।”
सहरका मुटुमा रहेका हलहरु बन्द हुँदा त्यसको असर आउने दिनमा देखिने उनी बताउँछन् । यी हलका ठाउँमा अरु हल निर्माण नभएसम्म रिलिज हुने चलचिले ठूलो घाटा बेहोर्नुपर्ने उनी बताउँछन् ।
हलहरु बन्द हुँदै गए पनि सरकारले भने चासो नदेखाएको उनको भनाइ छ । सरकारले चलचित्र क्षेत्रलाई सम्बोधन नगरेको उनी बताउँछन् ।
चलचित्र विकास बोर्डको एकल प्रयास र आवाजलाई सरकारले नसुन्ने भन्दै सामूहिक दबाब दिनुपर्ने महासचिव शर्मा बताउँछन् । “केही अग्रज चलचित्रकर्मी, केही अहिलेका परिचित फेसलाई समेटेर संयन्त्र बनाएर सरकारलाई सामूहिक दबाब दिनुपर्छ,” उनी भन्छन्, “यस्तो संयन्त्रले मन्त्रीहरुसँग सघन वार्ता तथा छलफल गरेर सहयोग गर्ने वातावरण बनाउनुपर्छ । अन्यथा, विकास बोर्डले मात्रै भनेको सरकारले सुन्दैन ।”
सरकारले राजनीतिक नियुक्ति गर्ने भएकाले बोर्ड अध्यक्ष तथा सदस्यहरुको दबाब नसुन्ने भएकाले दबाब समूह नै आवश्यक रहेको उनी बताउँछन् ।
शर्मा चलचित्र क्षेत्रलाई तत्कालको धराशायी अवस्थाबाट बचाउन अल्पकालीन योजनाअन्तर्गत राहत प्याकेज घोषणा गर्नुपर्ने उनको धारणा छ । दीर्घकालीन योजनाअन्तर्गत १० वर्षे कार्ययोजना बनाएर मेकरलाई प्रोत्साहन गर्ने, प्रदर्शन, वितरण तथा मेकिङमा राज्यको सहयोग तथा सहकार्य गर्ने नीतिगत योजना आवश्यक रहेको उनी बताउँछन् ।
नेपालमा कोरोना संक्रमणअगाडि मल्टिप्लेक्स र सिंगल थिएटर गरेर १९३ सिनेमा हल सञ्चालनमा थिए । नेपालमा यी हलमा करिब १२ अर्ब रुपैयाँको लगानी छ । एउटा मल्टिप्लेक्स निर्माणका लागि ७ करोड र सिंगल थिएटर निर्माणका लागि ५ करोडदेखि ७ करोड रुपैयाँ लगानी लाग्ने गरेको छ ।