काठमाडौं । निर्देशक मनोज पण्डित यो वर्ष दुईवटा चलचित्र बनाउने तयारीमा छन् । यसका लागि मनोज अहिले स्क्रिप्ट लेखिरहेका छन् । एउटा कोभिड–१९ ले आम नागरिकमा पारेको मनोविज्ञानमा आधारित चलचित्र हुने छ भने अर्को राजनीतिक स्टेट्मेन्टमा आधारित हुने छ ।
कोरोनाले चौतर्फी असर गरे पनि सिनेमा मेकरहरुलाई यसले सिनेम्याटिक चरित्र भने दिएको उनी बताउँछन् ।
“कोभिड–१९ले अहिले अहिले नागरिकमा लिमिटेसन सिर्जना गरेको छ । बन्धन, वाध्यता छ । घरभित्रै थुनिएर बस्नुपर्दा फ्रिडम छैन,” मनोज भन्छन्, “यतिबेला आम मानिसमा चाहना र परिकल्पना मात्रै छ । यही मनोविज्ञानमा रहेर म चलचित्र बनाउने छु ।”
मनोज अहिले यही कोभिड–१९ का कारण खुम्चिएको सम्झौताबादी मनोविज्ञानमा आधारित चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् ।
उनले यो वर्ष बनाउन चाहेको अर्को चलचित्र हो– जिन्दावाद ! करिब चार वर्ष अगाडिबाट उनले परिकल्पना गरेको यो नाम भने अब पाउने छैनन् । निश्चल बस्नेतले यसको छायांकन सुरु गर्ने अन्तिम तयारी गरिरहेका छन् । जारी निशेधाज्ञा नभएको भए यति बेला निश्चल ‘जिन्दावाद’ छायांकन गरिरहेका हुने थिए ।
मनोजले सोचेको जिन्दावाद ! को स्क्रिप्ट उनले लेखिसकेका छन् । उनले यो चलचित्रको स्क्रिप्ट जर्ज अर्वेलको उपन्यास ‘एनिमल फार्म’को स्टेटमेन्टवाट प्रभावित भएर लेखेका हुन् ।
यो पूर्ण रुपमा राजनीतिक चलचित्र हुने छ । मनोजको अर्को चलचित्र ‘एक’ निर्माण सम्पन्न भएर रिलिज हुन मात्रै बाँकी छ ।