काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई वैशाखसम्मको जोखिम भत्ता उपलब्ध गराउने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग विवरण माग गरेको छ ।
मन्त्रिपरिषदको ०७८ वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराइने सूचनामा उल्लेख छ । जोखिम भत्ता पाउनेमा कोभिड–१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन, शव व्यवस्थापनमा पत्यक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी र सुरक्षाकर्मी छन् ।
भत्ता उपलब्ध गराउन सम्बन्धित अस्पतालहरुले कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्युटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पे रोल समेटेर मन्त्रालयमा विवरणमा पठाउनुपर्ने छ ।