काठमाडौं । सरकारले कोभिड संक्रमण नियन्त्रणका लागि वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । अहिले नेपालका ७४ जिल्लामा निषेधाज्ञा छ । यो अवधिमा कोभिड संक्रमणको चेन ब्रेक गर्ने सरकारको लक्ष्य रहेको छ ।
पछिल्लो ३ दिनयता नेपालमा नयाँ कोभिड संक्रमितको संख्या घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । भारतका विभिन्न राज्यमा संक्रमितको संख्या कम हुँदै जानु र नेपालमा नयाँ संक्रमित कम देखिनुले अब संक्रमण घटेर जाने आशा जगाएको छ ।
यस्तो छ पछिल्लो साताको अवस्था
नेपालमा कोभिड–१९ को संक्रमण चरम बिन्दुमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो साता नेपालमा कोभिड संक्रमण गत साताको तुलनामा १४ प्रतिशतले बढेको छ । यो दर कोभिड संक्रमण चरम बिन्दुमा पुगेको अवस्था भएको धुलिखेल अस्पतालका वरिष्ठ इपिडिमियोलोष्टि डा. विराज कर्माचार्यले बताए ।
विभिन्न प्रदेशमा संक्रमण दर घट्ने र बढने क्रममा रहेको मन्त्रालयको तथ्यांकले देखाएको छ । गत साता उच्च संक्रमण रहेको लुम्बिनी प्रदेशमा यो साता १ प्रतिशतले कम भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । अहिले कर्णाली प्रदेशमा भने संक्रमण उच्च हुँदै गएको छ । कर्णालीमा यो साता १३४ प्रतिशतले संक्रमितको संख्या बढेको मन्त्रालयले जनाएको छ ।
यो साता नयाँ संक्रमितको संख्या २४ जिल्लामा १ प्रतिशतभन्दा कम जनसंख्यामा संक्रमण रहेको छ भने ग्रामीण भेगमा संक्रमितको संख्या बढेको मन्त्रालयको तथ्यांक छ ।
भारतसँगको तुलना
संक्रमण दरका हिसाबले नेपालमा अझै भारतभन्दा बढी जोखिममा रहेको डा. कर्माचार्यले बताए । भारतमा २१५. ० प्रतिशतमा रहेको संक्रमण दर नेपालमा ३०३. १ देखिएको छ । त्यस्तै मृत्यु २.५ र संक्रमण दरका हिसाबले पनि नेपाल माथि नै रहेको छ । परीक्षण गरिएकामध्ये पोजिटिभ नतिजा आउने दर अर्थात् टेस्ट पोजिटिभिटी दर भारतमा २०.६ प्रतिशत रहेकोमा नेपालमा दोब्बरभन्दा बढी अर्थात् ४६. ७ प्रतिशत रहेको छ ।
त्यस्तै मृत्युदर पनि नेपालमा भारतको भन्दा बढी रहेको छ । मन्त्रालयको तथ्यांकअनुसार प्रति १० लाखमा ६ जना रहेको छ । जुन भारतमा २.५ मात्रै छ । भारतका कर्नाटक, केरला, राजस्थान पञ्जाब लगायतका १६ वटा शहरमा मे पहिलो सातायता टेस्ट पोजिटिभिटी दर २२ प्रतिशभन्दा कम रहेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतमा आइतबारसम्म ३६ लाख १८ हजार ४५८ जना सक्रिय संक्रमित रहेका छन् भने यही महिनाको अन्त्यसम्म दोस्रो लहरको संक्रमण घटेर जाने विज्ञहरूले आकलन गरेका छन् । भारतमा संक्रमण दर मत्थर भएसँगै नेपालमा पनि संक्रमण घट्ने आकलन गरिएको छ ।
संक्रमितको संख्या स्थिर हुनु घट्ने संकेत हो
पछिल्लो वैशाख २७ गतेयता कोभिड संक्रमितको संख्या ३ दिनसम्म स्थिरजस्तै देखियो । २७ देखि २९ गतेसम्म संक्रमितको उच्च तर उस्तै संख्यामा देखियो । यही अवधिमा वैशाख २८ गते नेपालमा अहिलेसम्मकै धेरै ९ हजार ४८३ जना एकैदिन संक्रमित भए । त्यसयता भने संक्रमितको संख्या केही घटेको छ, पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जना नयाँ संक्रमित थपिएका छन् ।
मृत्युको संख्या भने आइतबार १४५ पुगेको छ । संक्रमितको संख्या अधिक भएकाले नै मृत्यु हुनेको संख्या पनि बढेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् । तर पछिल्लो समय स्थिर देखिएको संक्रमितको तथ्यांकले अब संक्रमण दर घट्ने सम्भावना भने देखाएको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । “भारत र नेपालको संक्रमणको प्याटर्न पनि एउटै थियो र अहिले पनि उस्तै छ । अबको एक साताभन्दा कम अवधिमै संक्रमण दर कस्तो हुन्छ भन्ने देखाउँछ । यद्यपि यसरी लामो समय संक्रमितको संख्या स्थिर हुनु भनेको घट्दै जाने संकेत भने हो । तर ग्रामीण क्षेत्रमा देखिएको संक्रमितको केसले भने समुदायमा अझै संक्रमण फैलिरहेको छ भन्ने बुझाउँछ , त्यसैले समुदायमा संक्रमितको खोजी र परीक्षण भने घटाउनु हुँदैन,” डा. पुनले भने।
संक्रमण पूर्ण नियन्त्रणमा ल्याउन सरकारले निषेधाज्ञा अवधिभर उपचार सेवा विस्तार र संक्रमितको खोजीमा जोड दिनुपर्ने जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेको भनाइ छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ रहेको छ भने कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार १ जना पुगेको छ ।