site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अपांगता भएका सन्तानका आमा, जसले समाजको लाञ्छनालाई हिम्मत र धैर्यताले जितेका छन् 

काठमाडौं । निकेश(परिवर्तितनाम) फेरि हरायो, बिहानदेखि अत्तोपत्तो छैन । गाउँलेका फेसबुकभरि निकेशको फोटो छापियो । धेरै ग्रुपमा उनी हराएको खबर पुग्यो– 'कसैले निकेशलाई फेला पारे आमा निर्मलाको फोन नम्बरमा सम्पर्क गरिदिनुहोला । अथवा, प्रहरीलाई बुझाइदिनुहोला...।’

घटना दसैँको एकसाता अघिको मात्रै हो । आमा निर्मलालाई निकेश फर्किएर आउनेमा कुनै शंका थिएन । तर, गाउँलेले उल्टै कान फुक्न थाले– उमेरको केटो, कसैकी छोरीबेटीलाई केही गर्देला कि खोज है बेलैमा...!’

ललितपुर गोदावरीकी निर्मलालाई छोरा बेला बेलामा हराएकोभन्दा बढी पीडा गाउँलेका यस्तै यस्तै शब्दले दिन्छ । किनकि, उनलाई प्रस्ट थाहा छ– छोरा अरू किशोरजस्तो समान्य नभए पनि गलत काम गर्दैन, अहिलेसम्म गरेको छैन पनि । र, जहाँसुकै पुगे पनि साँझ घर फर्किन्छ ।

Dabur Nepal
NIC Asia

१९ वर्षीय निकेश बौद्धिक अपांगता भएका किशोर हुन्, शारीरिकरूपमा पुष्ट देखिए पनि केही असामान्य हिँडाइ र शारीरिक बनावट छ, उनको । घरमा आमालाई सानोतिनो काम सघाउँछन् पनि । नाच्न गाउन र खेल्न असाध्यै मन पराउँछन् ।

“मलाई कहिलेकाहीँ एक्लै बस्न मन लाग्छ, ममी । त्यही भएर मन्दिर पछाडिको वनमा गएर बसेको थिएँ...,” साँझ फर्किपछि निकेश सुनाउँछन् । 

भिडदेखि दिक्क नलागोस् पनि किन, आफूभन्दा सानालाई माया गर्ने बानी छ, उनको । तर, जसै निकेशबालबाललिका र आफूजस्तै साथीहरूको छेउछाउ पर्छन्, उनीहरूका अभिभावकले गलत सन्देश दिन्छन्– 'ए परै बस्, ठेलेर लडाइदेला,ऊ... त्यो आउँदै छ साइड लाग, केटीहरू त्यता नहेरी हिँड है’ यस्तै यस्तै...।

“यस्ता घटनाले मन अमिलोमात्रै होइन, भक्कानो फुटेर आउँथ्यो पहिले पहिले त । यो समाजलाई छोडेर आफ्नै परिवार मात्रै टाढा गएर बसौँजस्तो लाग्थ्यो । तर, अहिले बानी परिसक्यो । आलोचनाको अगाडि पत्थर बन्नुपर्दो रहेछ, अनिमात्रै समाजमा अटाइँदो रहेछ,” निर्मलाले आफ्नो तितामिठा अनुभव एकैपटक सुनाइन् ।

र, थपिन् “अहिले त मेरो छोराको अवस्था धेरै ठिक छ, कतै गएर केही गलत गर्दैन भन्ने मलाई राम्रोसँग थाहा छ । कहिलेकाहीँ अलिबेर हराइहाले पनि म चाहिँ आतिन्नँ, उसको पनि त आफ्नो जीवन छ, आफ्नो अधिकार छ ।”

१६ वर्षअघि यस्ता लाञ्छना धेरै सुनिन्, भोगिन् सुनसरी धरानकी धनु सुब्बाले । एकातिर तीन वर्षे छोरालाई आफूले नामै नसुनेको अटिजम’ भएको पीडा, अर्कोतर्फ परिवार, आफन्त र समाजबाट भोग्नुपरेको यस्तो दुर्व्यवहार । मानसिकरूपमा विक्षिप्त मात्रै होइन, घाइतेजस्तै भएकी थिइन धनु । 

“यस्तै यस्तै पीडाले मलाई सबैबाट एक्लो बनायो, त्यही पीडालाई मैले आफ्नो शक्ति बनाएँ र छोराको उपचारमा फोकस भएँ । अहिले ऊ आफ्नो काम आफैँ गर्न सक्ने भएको छ, घरमा हाम्रो राम्रो साथी बनेको छ,” अटिजम केयर नेपाल सोसाइटीमा भेटिएकी धनुले सुनाइन् ।

०००

'तिमीहरूको जात नमिली बिहे गरेको भएर यस्तो बच्चा जन्मिएको हो ।’ छोरीको अवस्थालाई लिएर दोलखाकी गीता ढकाललाई सोच्दै नसोचेको आरोप लाग्यो । चार वर्षअघि आफ्नै परिवारबाट लागेको आक्षेप सुरुमा सुन्दा त कति असह्य भयो कति ।

तर, १६ महिनाको उमेरदेखि अटिजमको लक्षण देखिएकी छोरीको अवस्था सुधार गर्न हरसम्भव कोसिस गर्नुपर्छ, उनलाई ठाउँमा पुर्‍याउनुपर्छ भन्ने हिम्मतले ती सबै लाञ्छना बिर्सायो गीतलााई ।

साढे दुई वर्ष भयो, गीताका आमाछोरी अटिजम केयर सोसाइटीमा जोडिएको । आफू पनि अटिजममैत्री सामाजिक व्यवहार सिक्दै छिन् छोरीको अवस्था केही सुधार हुँदै छ । तर, पढेलेखेको समाज भने खासै फेरिएको देख्दिनन्, उनी । 

“नानीलाई बच्चा औधी मन पर्छ । तर, आफ्नै परिवारभित्रका मान्छे नानी छेउमा जाँदा सर्छ कि भनेर डराउँछन्, नपढेको होइन, नबुझेको होइन । तर, समाज परिवर्तन हुन निकै गाह्रो रहेछ,” गीताले आफ्नो भोगाइ सुनाइन् ।

०००

अपांगता भएका सन्तानका अभिभावक विशेष गरी आमाहरूले भोगेका सामाजिक लाञ्छना र भेदभावका अनुभव यीभन्दा धेरै कहालीलाग्दा पनि छन् । सन्तानमा अपांगता भएको विषयलाई आमाको पारिवारिक पृष्ठभूमि, बानी व्यवहारदेखि जात, धर्म, बौद्धिक अवस्थासम्म लगेर जोड्ने प्रवृत्तिले अझै यसलाई व्याप्त बनाएको छ ।

त्यसमाथि अपांगता भएका किशोरकिशोरीमा उमेरसँगै आउने विचार भावना र फरक व्यवहारलाई समाजले हेर्ने दृष्टिकोण अभिभावकका लागि झनै चुनौती बनेको पाइन्छ ।

उमेरसँगै उनीहरूले साथीहरूसँग आफ्ना इच्छा भावना व्यक्त गर्दासमेत त्यसलाई असामान्य मानेर गिज्याउने होच्याउनेजस्ता व्यवहार हुने गरेको अभिभावकहरूको गुनासो छ ।

डाउन सिन्ड्रोमको लक्षण भएको छोरो लिएर अस्पताल पुग्दा डाक्टरबाट 'तपाईंको बच्चाको कुनै काम छैन’ भन्ने छुद्र वचन सुनेकी काठमाडौं धोवीचौरकी उमा अर्याललाई यसको सामना गर्न निकै ठूलो हिम्मत जुटाउनुपर्‍यो ।

तर, छोरालाई सामाजिकरूपमा घुलमिल गराउने र अवस्था सुधार गरेरै छोड्ने प्रण र धैयर्ता राख्दै उनले यस्ता उपेक्षाको वास्ता गरिनन् । अहिले छोरा २५ वर्ष भएसँगै आत्मनिर्भर भएका छन् । 

आफ्ना दैनिक क्रियाकलाप आफैँ गर्नेदेखि साथीहरूलाई किशोरकिशोरीमैत्री ज्ञान र अनुभव बाँड्नेसम्मको काममा अब्बल भएका छन्, उनी ।

“मैले समाजको कुरा सुनेर उसलाई कहिल्यै हेलाको दुष्टिकोणले हेरिँन, बरु कहाँ पुर्‍याउँदा सुधार हुन्छ, त्यसैको खोजीमा लागिरहेँ धैर्यता र सहनशीलता भए समाजलाई पनि जित्न सकिनेरहेछ,” उमाले मिठो अनुभव सुनाइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro