काठमाडौं । नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल आर्थिक अवस्था कमजोर भएका संक्रमितलाई निशुल्क अक्सिजन दिँदै आएका छन् । दुर्गानाथले यसरी विपन्नलाई अक्सिजन दिदै आएको एकसाता बढी भयो । दुर्गानाथले ललितपुरको औद्यगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्रालीको प्लान्टबाट सिलिन्डर भरेर वितरण गर्दै आएका छन् ।
यतिबेला देशभर अक्सिजन भर्न र सिलिन्डर व्यवस्था मिलाउन हम्मेहम्मे परिरहेको छ । विशेषगरी काठमाडौं उपत्यकामा जनसंख्याको चाप उच्च भएकाले र संक्रमित धेरै भएकाले अक्सिजनको चरम अभाव देखिएको छ ।
यस्तो अवस्थामा नवजीवनका दुर्गानाथ आफू खटेर बिरामीको सेवामा लागि परेको बताउँछन् । “आर्थिक अवस्था कमजोर भएका संक्रमितले अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भनेर रातदिन खटिरहेको छु । न्यून आर्थिक अवस्था र अत्यावश्यक संक्रमितलाई जतिसक्दो छिटो अक्सिजनको व्यवस्था मिलाउँदै आएको छ,” दुर्गानाथले भने ।
दुर्गानाथले अहिलेसम्म ५५ ओटा भन्दा बढीलाई निःशुल्क अक्सिजन सहयोग गरिसकेका छन् । नवजीवन परोपकार समाजसँग आजीवन सदस्यता लिएर विभिन्न व्यक्क्तित्वहरू जोडिएका छन् । ती आजीवन सदस्यहरूले दुर्गानाथलाई सहयोग गरिरहेका छन् ।
दुर्गानाथकाअनुसार नवजीवनले अक्सिजन उद्योगी र आजीवन सदस्यहरूसँग सम्पर्क रोखेको थियो । ललितपुर औधोगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्रालीसँग अक्सिजन भर्ने व्यवस्था मिलाइएको दुर्गानाथले जानकारी दिए । ‘‘भारतमा कोरोना संक्रमण उच्च हुँदा नेपालमा पनि यस्तै अवस्था आउँछ भन्ने लागिरहेको थियो । त्यसैले निषेधाज्ञाको समयमा नै मैले खाली सिलिन्डर खोजिरहेको थिए । त्यसो हुँदाहुँदै पनि मागअनुसार अक्सिजन सिलिन्डर भर्न सकिएको छैन्,” दुर्गानाथले बाह्रखरीसँग भने ।
शनिबार बेलुका नौै बजेसम्म दुर्गानाथ सगरमाथा अक्सिजन प्रालीमै बसेर ग्याँस भरेर अस्पताल पु¥याएर मात्रै आफू आश्रममा फर्किए । बाह्रखरीसँग कुरा गरिरहेका बेला दुर्गानाथ आफ्नो अक्सिजन भर्ने पालो कुरिरहेका थिए । ‘‘मैले गर्दा संक्रमितको ज्यान बच्छ भने रातभरी कुरेर भएपनि अक्सिजन भरेर संक्रमितलाई अक्सिजन किन नभर्ने,” दुर्गानाथले सुनाए ।
सगरमाथा अक्सिजन प्रालीका सञ्चालक नारायण तिमल्सिनाकाअनुसार नवजीवनसँग छलफल गरी जतिसक्दो छिटो अक्सिजन भर्ने गरिएको छ प्रालीले संस्थाबाहेक अरूलाई पनि अक्सिजन जतिसक्दो छिटो भर्दै पठाउँदै गरेपनि पालो कुर्नेहरू बिहानदेखि बेलुकासम्म पालो नपाइरहेको उनको भनाइ छ । हाल यहाँ दैनिक आठ सय अक्सिजन सिलिन्डर भर्ने क्षमता रहेको छ ।
प्रालीका अनुसार एउटा सिलिन्डर भर्न ५०० रुपैयाँ लाग्छ । तिमल्सिनाले भने, ‘‘हामीले पहिलो प्राथमिकतामा अस्पताल र अत्यावश्यक परेका बिरामीहरूलाई नै राखेका छौँ । नवजीवनले भने अनुसार दैनिक दुईदेखि पाँच ओटा सिलिन्डर मात्रै भर्न सकिएका छौँ । आजपनि केही सिलिन्डर भरिनेछ र अत्यावश्यक अवस्थामा बढी सिलिन्डर पनि भर्ने गरेका छौँ । रोइकराइ गरिरहेका कतिपय मानिसहरूलाई पनि अक्सिजनको व्यवस्था गर्न हम्मेहम्मे परेको छ ।”
तिमल्सिनाले नवजीवनलाई आगामी दिनमा पनि मिलाएर अक्सिजन भरिदिने जानकारी दिए । ‘‘तर नवजीवनले पनि यसका लागि तोकिएको रकम तिर्नै पर्छ । परोपकारी काम गर्दै हुनुहुन्छ । त्यसमा हामीले सक्ने स्थानबाट सहयोग गर्नेछौँ ।”
खाँचो परेका निम्न वर्गलाई निःशुल्क अक्सिजन दिने र पैसा तिरेर आफैँ अक्सिजन सिलिन्डर भर्नेहरूलाई भरेर सहयोग गरिरहेको दुर्गानाथको भनाइ छ । ‘‘एउटा सिलिन्डर भर्न पाँच सय लाग्छ । अस्पतालसम्म पु¥याउन भाडा खर्च सबै जोड्दा प्रतिसिलिन्डर २ हजार जति पर्न आउँछ,” दुर्गानाथले भने, ‘‘सिलिन्डर अस्पतालसम्म पु¥याइदिन नवजीवनले गाडि भाडामा लिने गरेको छ । यो रुपैयाँ आजीवन सदस्यहरूले सहयोग गरेको र अन्य सहयोगी दाताले संस्थालाई सहयोग गर्न भनेर दिएको हो ।”
दुर्गानाथ आफुले निःशुल्क अस्पतालका बिरामीलाई अक्सिजन उपलब्ध गराएको तस्बिर भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्छन् । पोस्ट गरेको देखेर सहयोगीदाताहरू बढेको र अक्सिजन भरिदिन गुहार माग्ने मानिसहरू सम्पर्कमा आउने गरेको उनको भनाइ छ ।
२०७४ सालदेखि सञ्चालनमा आएको नवजीवन परोपकार समाज पहिलो लकडाउनदेखि नै बेरोजगार, मजदुर, असहाय, मनोरोगी, सडकमा गुजारा चलाइरहेका मानिसहरूलाई खाना खुवाइरहेको छ । नवजीवनमा मीरा केसी, शान्ति तिवारीको टोलीले दैनिक सडकमा बस्ने मानिसलाई खाना वितरण गर्दै आएको छ ।
नवजीवनकी आजीवन सदस्य शान्ति तिवारीकाअनुसार निषेधाज्ञाको समयमा बाहिर निस्कन प्रहरीको हस्तक्षेप हुने बताउँछिन् । ‘‘अहिले बल्ल–बल्ल सहज भएको छ । दैनिक सडक र आश्रमका वृद्धवृद्धालाई सहयोग गर्दैमा ठिक्क छ,” शान्तिले भनिन् ।
संस्थामा अहिले करिब २५ जना वृद्धवृद्धा आश्रित छन् । शान्ति र मिरा बिहान ५ बजे उठेर खाना पकाउँछन् । अनि १० बजेभित्रमा आश्रमका वृद्धवृद्धालाई खाना खुवाउछिन् । यी सबै सेवा दिन नवजीवनलाई सहयोगी दाताले सहयोग गरेका छन् । ‘‘सहयोगी दाताहरूको सहयोगले अहिलेसम्म धानिरहेका छाँै । हामीसँग प्रत्यक्ष रुपमा अहिले २५० भन्दा बढी आजीवन सदस्य जोडिएका छन्,” दुर्गानाथले भने, ‘‘म २०७२ सालको भुकम्पयता यसरी नै आपतविपतमा मानिसहरूलाई सहयोग गर्दै आएको छु ।”
नवजीवन परोपकार समाज तोरकेश्वर फुटुङस्थित एक सहयोगी दाताले दान गरेको जग्गामा अवस्थित छ । नवजीवन परोपकार समाजले लकडाउनमा अलपत्र परेकालाई पारिवारिक पुनर्मिलन, सहाराविहीन सहयोगापेक्षी मानवलाई आश्रममा लिएर सहारा दिदै आएको छ । साथै छाडा चौपया, घाईते पशुपन्छी, लगायतका जनावरको उपचार गर्दै आएको छ ।