काठमाडौं । विभाजनउन्मुख बनेको नेकपा (एमाले) विवाद समाधानको दिशातिर अघि बढेको छ । सहमतिको प्रस्थानविन्दु केलाई मान्ने भनेर एमालेभित्र बहस भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जेठ २ मा फर्कनु ‘प्रतिगमन’ भएको बताएका छन् ।
प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपाल आज (आइतबार) दिउँसो १ बजेपछि भेट्दै छन् । वरिष्ठ नेता झलनाथ खनाल र नेता नेपाल समूहले ओली जेठ २ मा फर्कन सैद्धान्तिक रूपले तयार रहेको र प्राविधिक कुरा कार्यदलले मिलाउने जिकिर गरिरहँदा सल्लाहकार थापा विपक्षमा उभिएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “२०७८ साल जेठ २ गते पूरा तीन वर्ष बित्यो ! प्राप्त सुझाव– पछाडि फर्किनु त प्रतिगमन हुन्छ ! नो वे !”
उनले बाह्रखरीसँग आफ्नो धारणाको व्याख्या पनि गरेका छन् ।
“अग्रगमन २०७८, ७९ हुँदै अगाडि बढ्ने कुरा हो,” उनी आफ्नो तर्कमा उभिँदै भन्छन्, “आज देखा परेका समस्याहरू आजै बसेर टुंग्याउनुपर्छ । हिजोतिर फर्र्किएर आजका समस्या निरूपण गर्न कठिन हुन्छ ।”
उनले आजका समस्याहरू आजैका सहमतिले समाधान दिने भन्दै हिजोका सहमतितिर फर्कंदा त्यो कामयावी नहुने बताउँछन् ।
उनले जेठ २ मा फर्कन सम्भव नै नभएको तर्क गर्छन् । परिस्थिति जेठ २ बाट निकै अघि बढिसकेकाले समयलाई पछाडि फर्काउन सक्ने ‘बहादुर’ कोही पनि नभएको जिकिर पनि गरे ।
‘माओवादी केन्द्रका २३ जना नेता एमालेमा रहँदा खनाल–नेपाल खुसी हुनुपर्छ’
वरीयतामा प्रचण्ड हाराहारीका नेताहरू एमालेमा रहँदा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालहरू खुसी हुनुपर्ने थापा बताउँछन् । राजनीतिक निष्ठा कायम राख्दै, कुनै शर्त, सहमतिबिना नै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्टलगायत माओवादी आन्दोलनबाट खारिएका, तिखारिएका मात्रै होइन, आन्दोलन विकास गर्न भूमिका खेलेका नेताहरू एमालेमा रहँदा त्यसले पार्टीलाई अर्कै उचाइमा पुर्याउने उनको आशय छ । भन्छन् ।
“प्रचण्डको हाराहारीका रामबहादुर थापासहित २३ जना केन्द्रीय तहका नेताहरू एमालेमा सामेल हुनुभएको छ । एमालेको नीति, सिद्धान्त, नेतृत्व, विचार स्वीकार गर्नुभएको छ । यो र त्यो भन्दै उहाँहरूलाई अस्वीकार गर्ने कुरा त कसैले गर्न मिल्दैन । जबकि, राजनीतिक निष्ठाका हिसाबले कुनै शर्तका हिसाबले होइन, निःशर्तरूपमा निष्ठाका हिसाबले सामेल हुनुभएको छ । यो त बितेको तीन वर्षयता नै उहाँहरूको भूमिका देखिएको छ । पुस ५ गते यता पनि देखिएको छ । फागुन २३ यता पनि देखिएको छ । उहाँहरूलाई अपमान हुने कुनै व्यवहार गर्न पाइँदैन,” उनी भन्छन्
त्यस्तै, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पनि जेठ २ मा फर्कन कठिन भएको बताएका छन् । प्राइम टाइम टीभीसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन् ।
यी पनि पढ्नोस्