काठमाडौँ । काठमाडौं महानगरपालिकाले शनिबार थप तीनवटा अस्पतालसँग सहयोग सम्झौता गरेको छ । कोरोना संक्रमितलाई सहज उपचार सेवाका लागि सम्झौता गरिएको हो ।
आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल–कोरिया मैत्री अस्पतालसँग सम्झौता गरिएको छ । महानगरले हिजो सातवटा, वैशाख २४ गते एउटा र २७ गते एउटा गरी अहिलेसम्म १२ सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता गरिसकिएको छ ।
सम्झौतासँगै विभिन्न अस्पतालहरुले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजिटिभ एयर प्रेसर थेरापी मेसिन (सी—प्याप), १० थान वाइलेवल पोजिटिभ एयरवे प्रेसर मेसिन (वी—प्याप), १० हजारथान अट्राक्सन कीटसहित उपकरण प्राप्त गर्नेछन् । यसैगरी, स्टाफ अब्जर्वेसन, भौतिक संरचना मर्मत–सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान प्राप्त गर्नेछन् ।
आज सम्झौता भएका अस्पतालहरुमध्ये सहिद गंगालाललाई पाँचथान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पताललाई १० बेडको स्टाफ अब्जर्वेसनकक्ष स्थापनाका लागि करिब ११ लाख रुपैयाँ नगद र १० हजारथान अट्राक्टस कीट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकम बराबर अनुदान सहयोग हुनेछ ।
महानगरले शुक्रबार वीरेन्द्र सैनिक अस्पताल, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पतालसँग सहयोग सम्झौता गरेको थियो ।
महानगरले अनुदान दिएका अस्पतालहरुले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्ने जनाइएको छ ।