काठमाडौं । पछिल्लो सयम काठमाडौं उपत्यकाको कोरोना संक्रमण देशकै उच्च विन्दुमा पुगेको छ । यहाँका स्थानीय तहलाई संक्रमितको व्यवस्थापन गर्न हम्मे परेको छ । प्रशासनले निषेधाज्ञामा कडाइ गरे पनि दैनिक संक्रमितको संख्या बढ्दै जाँदा स्थानीय सरकारलाई व्यवस्थापनमा चुनौती भएको हो ।
बिहीबार मात्रै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमितको व्यवस्थापन गर्न काठमाडौं उपत्यका मेयर फोरमलाई भनेका थिए । उपप्रधानमन्त्री पोखरेलले कोरोना संक्रमण रोक्न संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्न व्यवस्थापनमा जुट्न समेत सुझाए ।
तर, यतिबेला अक्सिजन र बेड सकिएको भन्दै राजधानीका अस्पताल संक्रमितको उपचार गर्न पछि हट्दै छन् । संघ, प्रदेश र स्थानीय तहलेसरकारले आइसोलेसन, अक्सिजन सिलिन्डर, बेडको दायरा विस्तार गर्न नसक्दा यस्तो अवस्था आएको हो ।
काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानरपालिका प्रमुख विद्या सुन्दर शाक्यले यतिखेर न त आइसोलेसन व्यवस्थापन गर्न सकेका छन्, न त अक्सिजन सिलिन्डरको व्यवस्था नै । उपत्यकाका स्थानीय तहको नेतृत्व गरिरहेका मेयर शाक्यले आफ्नै महानगरका कर्मचारीलाई व्यवस्थित रूपमा काममा लगाउन सकेका छैनन् । मेयर र उपमेयरबीच नै मतभेद छ ।
मेयर शाक्यका अनुसार काठमाडौं उपत्यका मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकिकृत रूपमा आइसोलेसन केन्द्र सञ्चालन गर्न प्रस्ताव अघि बढाएको छ । ‘‘अक्सिजन आपूर्तिका लागि सामूहिक रूपमा मेयर फोरम अघि बढ्ने छ,” शाक्यले भने ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कोरोना संक्रमितको संख्या धान्नै नसकिने गरी बढ्दा अहिले ११ वटा अस्पतालले पनि उपचार गर्न नसकिने भन्दै हात उठाइसकेका छन् । सरकारले निषेधाज्ञा गरेको १६ दिन भयो तर संक्रमणको दर झन् बढ्दै गएको छ ।
काठमाडौं उपत्यकामा देशभर भेटिएका संक्रमितको आधा भन्दा बढी संक्रमित काठमाडौं उपत्यका मै छन् । संघीय राजधानी काठमाडौंमा जनसंख्याको चाप हुनु स्वभाविक हो । जनसंख्याको उच्च चाप छ भन्दैमा सरकार यसबाट पन्छिन भने पाउँदैन ।
काठमाडौं भक्तपुर र ललितपुर महानगरपालिकालाई समेत संक्रमितको व्यवस्थापन गर्न हम्मे–हम्मे परिरहेको छ ।
२९ गते बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन हाहाकार भएका अस्पताललाई १५ दिन भित्र आफैँ अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको थियो । अस्पतालहरू भने स्वास्थ्य मन्त्रालयको निर्देशन हावादारी भन्दै त्यस अनुसार अक्सिजन प्लान्ट जोड्न सकिन्न भनिरहेका छन् ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंलोल संक्रमितको उपचारका लागि विभिन्न अस्पतासँग सम्झौता गरि आइसोलेसन अक्सिजन व्यवस्था गर्ने चरणमा आइपुगेको बताए । ‘‘हामीले कोरोना संक्रमण नियन्त्रण गर्न सात सदस्यीय समिति गठन गरेका छाैँ । महानगरकै सहकार्यका गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादन भइरहेको छ,” प्रवक्ता डंगोलले भने ।
उनका अनुसार करिब २ करोड ७५ लाख रुपैयाँको लागतमा बनाइएको प्लान्टले ४७ लिटरका एक सय ३५ सिलिन्डर अक्सिजन उपत्पादन गर्ने क्षमता राख्छ । ‘‘हामीले अरु अक्सिजन प्लान्ट बनाउन स्रोत व्यवस्थापन गर्न पहल गरिरहेका छाैँ । महानगबासीका लागि अन्य स्वास्थ्य सामग्री व्यवस्थापनको समेत खोजी गरिहेका छाैँ ।”
काठमाडौं महानगरपालिकाभित्र होम आइसोलेसनमा ८ हजार तीन सय १९ जना रहेका छन् । संस्थागत आइसोलेसनमा जम्मा ९६ जना छन् ।
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति संक्रमितको घर–घरमा गएर स्वास्थ्य सेवा दिदै आए पनि संक्रमण नियन्त्रण बाहिर गएको बताउँछन् । ‘‘अवस्था सोचभन्दा विल्कुल फरक भयो । अहिले पनि हामीले स्वास्थ्यकर्मी खटाएर संक्रमितको उपचार गरिरहेका छाैँ । संक्रमणको दर उच्च भयो भनेर नियमित रूपमा घर–घरको फोहोर उठाउँदै व्यवस्थापन गरिरहेका छौँ,” मेयर प्रजापतिले भने, ‘‘ब्रम्हायणीको बहुउदेश्यीय भवनमा ५० बेडको आइसोलेसन बनाएका छाैँ । अहिले सबै आइसोलेसन बेड भरिभराउ छन् । भेन्टिलेटर, अक्सिजन, आइसोलेसन व्यवस्थापन गर्न पहल गरिरहेका छाैँ ।”
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन ललितपुरको सुनाकोठीमा एक सय ६० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको बताउँछन् । अहिले संक्रमितको संख्या बढ्दै जाँदा महानगरले आइसोलेसन व्यवस्थापन गर्न पहल गरिरहेको उनको भनाइ छ । ‘‘हामीले महानगरमा विभिन्न किसिमका गतिविधि गरेर संक्रमण नियन्त्रणमा ल्याउने कोसिस गरिरहेका छौँ । अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल गर्न दिएका छैनाैँ,” महर्जनले भने, ‘‘माइकिङबाट फुकेर प्रत्येक ठाउँमा नगरवासीलाई सचेत बनाएका छौँ । साथै अक्सिजन सिलिन्डरको व्यवस्थापन मिलाउन सगरमाथा अक्सिजनसँग सहकार्य गरिरहेका छौँ । र, बाँकी स्रोत खोज्न समेत लागि परेका छाैँ ।”
कतिपय अस्पतालमा बेडको अभावले अस्पताल बाहिरै उपचार भइरहेको छ भने कतिपय अस्पतालले अक्सिजन र बेड अभावले संक्रमितको भर्ना लिन छोडिसकेका छन् ।