काठमाडौं । काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो प्लेअफमा एफसी धनगढीसँग पराजित भएको काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गरको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । यस्तै स्टेफेन बिनोङले एक गोल थपे ।
खेलको खेलको १५ औँ मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए ।
खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दिलाए । ६० औँ मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३–० को जित दिलाए ।
काठमाडौंले अब उपाधिका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र धनगढीबीचको फाइनल खेल शनिबार हुनेछ ।
धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २–१ गोल अन्तरले हराएर फाइनल पुगेको थियो ।