स्वास्थ्य सङ्कटकाल घोषणा त गरिएको छैन तर चरम सङ्कटका सबै लक्षण देखिइसकेको छ । राजधानीकै अस्पतालमा अक्सिजन नपाएर बिरामी मर्ने, अस्पतालले बिरामी लिन नमान्ने वा भर्ना भएकालाई पनि अन्यत्र लैजान भन्ने अवस्था सङ्कटै त हो ।
देशका प्रधानमन्त्रीलगायत राजनीतिक नेतृत्व भने सत्ताको खेलमा लागेको छ । स्थायी सरकार भनिने प्रशासन संयन्त्र अक्सिजन नपाउने बिरामीको ‘निवेदन’ पर्खेर बसेको छ । यसैले राष्ट्रिय प्रयासले मात्र नेपालले महामारीबाट मुक्त हुनसक्ने देखिन्न ।
देशभित्र सङ्क्रमितको उपचार र हेरचाहका लागि आवश्यक चिकित्सा सामग्री, उपकरण, औषधि, चिकित्साकर्मी र अरू साधन स्रोतको अभाव छ । राज्यसँग स्रोत साधन नभएकाले यस्तो अभाव भएको भने होइन । राज्यको ढुकुटीमा महामारी नियन्त्रण गर्न पर्याप्त रकम छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले नेपालमा महामारी ‘नियन्त्रण’मा छ भने पनि संसारले यहाँको वास्तविकता थाहा पाइसकेको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ‘ह्युमन राइटस् वाच’ले नेपाल सरकारलाई महामारी नियन्त्रण गर्न आह्वान गरेसँगै अमेरिकी संसद्मा पनि नेपालको अवस्थाप्रति चिन्ता प्रकट गरिएको छ ।
चीनले त चिकित्सा सामग्री र कोभिड-१९ विरुद्धको खोप दिइसकेको छ र आवश्यक अरू सहयोग दिने तत्परता देखाएको छ । भारतले पनि अनुदानमा दिएको खोपबाहेक अरू सहयोग पनि दिएको छ । महामारी भयावहरूपमा फैलिएकाले सहयोग अपर्याप्त भएको हो ।
विपत्तिका बेला नेपालीलाई सहयोग गर्ने सद्भाव संसारका धेरै मुलुकले देखाउनेछन् । विसं २०७२ सालको भूकम्पका बेलामा त्यस्तो सद्भावको झलक देखिएकै हो । हुनत, अहिले संसारका सबै देशमा कोभिड-१९ को सङ्क्रमणबाट पीडित छन् तर नेपालका लागि मानवीय सहयोग गर्न अमेरिका, चीन, भारतलगायतका मित्र राष्ट्रले पक्कै आनाकानी गर्नेछैनन् ।
अब सबैभन्दा पहिले सरकारले फोस्रो आडम्बर र दम्भ छाडेर देशमा मानवीय सङ्कट भएको सत्य स्वीकार गर्नुपर्छ । अवस्था नियन्त्रण छैन । यसैले कोभिड(१९ को सङ्क्रमणका कारण देश मानवीय सङ्कटमा भएको जानकारी दिँदै अन्तर्राष्ट्रिय समुदायसँग सबै प्रकारको सहयोगको अपिल गरिहाल्नुपर्छ ।
यस्तै विदेशमा रहेका नेपाली र नेपाललाई माया गर्ने समुदायसम्म पनि मानवीय सङ्कटको सन्देश पठाइयोस् । उनीहरूबाट हुने कुनै पनि प्रकारको प्राण रक्षक चिकित्सा सहयोग नेपालसम्म सहजरूपमा आइपुग्ने व्यवस्था सरकारले मिलाओस् । तिनलाई कर्मचारीतन्त्रले नियम कानुनका झन्झट देखाएर दुःख नदेओस् ।
मानवीय सङ्कट सबैलाई पर्छ । यथार्थ लुकाउने पाखण्ड गरेर जनतालाई झन् महाविपत्तिमा धकेल्नु गर्वको नभएर ग्लानिको विषय हुनेछ । यसैले सरकारले मानवीय सङ्कट घोषणा गरी अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको आग्रह गर्न ढिलो नगरोस् । हतारिँदामात्र हैन ढिलाउँदा पनि पछुताउनु पर्छ भन्ने हेक्का रहोस् !