सर्लाही । सर्लाहीका सबै सीमानाका बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमानाका बन्द गरी आवागमन ठप्प पारिएको छ ।
नेपाल सरकारको निर्देशनानुसार सीमा्नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए । भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रजिअ तामाङले बताए ।
सरकारले प्रदेश नम्बर–२, महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगन्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो । केही दिनदेखि मलंगवा नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्ण रूपमा बन्द गरिएको छ ।
नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबीच सहमति भएको सशस्त्र प्रहरी बल १० नम्बर हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए । आवतजावत रोक्न जिल्लाको ५१ किलोमिटर भारतीय खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएपछि सीमाबाट हुने आवतजावत नियन्त्रण सम्भव भएको छ ।
दुई देशको सीमा छुट्ट्याउने दशगजामै जोडिएका बस्तीका बासिन्दा प्रहरीको आँखा छली लुकीछिपी नेपाल–भारत आवतजावत गरिरहेका छन् । सीमाका सम्पूर्ण बासिन्दा भारतीय बजारमै निर्भर रहेकाले सीमा क्षेत्रमा आवतजावत पूर्ण रूपमा रोक्न सम्भव नभएको बलरा नगरपालिकाका प्रमुख अभय सिंहले बताए । रासस