नेपाल सरकारले हालैमात्र आगामी आर्थिक वर्षदेखि लागू हुने गरी मजदुरको न्यूनतम पारिश्रमिक तोकेको छ । यसअनुसार अब अर्को आर्थिक वर्षदेखि मजदुरलाई कम्तीमा पनि प्रतिमहिना १५ हजार रुपियाँ मजुरी दिनुपर्नेछ ।
सरकारको यस निर्णयलाई रोजगारदाता र मजदुरका प्रतिनिधि दुवै पक्षले अस्वीकार गरेका छन् । कोभिड( १९ का कारण अर्थतन्त्र संकटमा परेका बेला मजदुरलाई न्यूनतम पारिश्रमिक बढाउन नसकिने रोजगारदाताको तर्क छ । अर्कातिर मजदुर संगठनका प्रतिनिधिले त प्रक्रियामै असहमति जनाएका छन् ।
सरकारका अधिकांश नियम कानुनप्रति सरोकारःवालाको गुनासो हुने गरेको छ । कतिपय नियम कानुन त कहिल्यै कार्यन्वयन हुँदैनन् । कार्यान्वयन भए गरिएकै पनि धेरैजसो उल्लंघन गरिन्छ । एकातिर अव्यावहारिक हुने र अर्कातिर तिनको निर्माणमा सरोकारवालाको रायसम्म पनि नलिने चलनले कानुन नियम प्रभावकारी नभएका हुन् ।
तैपनि, राज्य कमजोर नागरिकको हित रक्षा गर्ने कर्तव्य पूरा गर्नबाट भाग्न त पाउँदैन । सम्भवतस् यही कर्तव्य पूरा गर्न सरकारले न्यूनतम पारिश्रमिक तोक्नेजस्तो काम गर्छ । तर सरकारी काम धेरैजसो झारा टार्ने प्रकारको हुन्छ ।
अरु नीति र परिस्थितिले पुष्टि नगर्दासम्म सरकारले तोकेकै भरमा श्रमिकले उचित पारिश्रमिक पाउँछन् भन्ने त छैन । त्यसमाथि रोजगारदाताले स्पष्ट शब्दमा असहमति जनालाई सकेकाले कार्यान्वयन हुने सम्भावना झन् कम देखिन्छ ।
न्यूनतम पारिश्रमिक पाउने अर्थात् अदक्ष कामदारलाई रोजउपलब्ध गराउनेमा सरकार सायद सबैभन्दा ठूलो रोजगार दाता हो । आफैँले प्रत्यक्ष काम नलगाए पनि ठेकेदारमार्फत गराइने भौतिक निर्माणको स्वामित्व सरकारको हुन्छ ।
सरकार वास्तवमा नै न्यूनतम पारिश्रमिक वढाउन चाहन्छ भने सबैभन्दा पहिले सार्वजनिक क्षेत्रको निर्माणमा अहिले अपनाएको श्रमिकलाई ठगेर बिचौलिया र ठेकेदार पोस्ने नीति र व्यवहारमा परिवर्तन गर्नु आवश्यक छ ।
तीनै तहका सरकारको स्वामित्वमा हुने निर्माण कार्यको अनुमानित लागत तयार गर्दा नै श्रमिकको हित हुनेगरी बनाइयो भने रोजगारीका अवसर त बढ्नेछ नै निर्माणमा हुने खर्चको प्रतिफल पनि मजदुरले पाउनेछन् ।
ठेकेदारले व्यवस्थापन बापत् पाउने रकम अपेक्षाकृत बढी हुन्छ । त्यसको सट्टा मजदुरले पाउने रकम अर्थात् दैनिक ज्याला बढी हुनेगरी सार्वजनिक निर्माण अभ्यास परिवर्तन गर्ने हो भने ठेकेदारले पाउने नाफा केही कम भए पनि बहुसंख्यक श्रमिकले पसिनाको उचित मूल्य पाउनेछन् ।
निजी क्षेत्रले नाफा कमाउनैका लागि काम गर्ने हो । नोक्सान पर्नेगरी पारिश्रमिक दिन सरकारले दबाब दिनु न्यायोचित र व्यावहारिक हुँदैन । धेरै पैसा दिएर बढी उत्पादन भयो भने अर्थात् उत्पादकत्व बढ्ने भयो भने त निजी क्षेत्र न्यूनतम पारिश्रमिकभन्दा बढी दिनसमेत तयार हुन्छ ।
त्यसैले सरकार साच्चै नै श्रमिकको हित रक्षा गर्न चाहन्छ भने निजी क्षेत्रलाई पनि श्रम प्रधान नीति अपनाउन प्रोत्साहित गरोस् । मजदुरको सामाजिक सुरक्षाको जिम्मा सरकारले लियो भने रोजगारदातालाई दबाब दिन पनि पर्दैन ।
सरकारले तत्कालै सार्वजनिक निर्माण अभ्यास बदल्न नसक्ला तर देशको अर्थतन्त्र, मजदुरको अवस्था र निजी क्षेत्रका व्यवसायीकोसमेत हित हुनेगरी मिति र नियम बनाउन त सक्थ्यो ।
व्यवसायी र मजदुरको हित कसरी हुन्छ भन्ने विषयमा उनीहरुसँगै छलफल गरेर निष्कर्ष निकाल्नुपर्छ । सरकारी कर्मचारी, मजदुरी हैन राजनीति गर्ने ट्रेड युनियनका नेता तथा देशको समग्र अर्थतन्त्रभन्दा आफ्नो वैधअवैध धन्दाको रक्षामा मरिहत्ते गर्ने उद्यमी व्यवसायी संगठनका अगुवाले सामान्य मजदुरको हित भने गर्दैनन् ।
यसैले नीति नियम बनाउँदा वास्तविक सरोकारवालासँग नै निर्णयक छलफल गरेर निष्कर्षमा पुग्ने गर्नुपर्छ । यसरी बनाइएको नीति नियम व्यावहारिक हुन्छ र कार्यान्वयन गर्न पनि सहज हुन्छ । लोकतन्त्रको मर्मअनुरूप त सही अभ्यास पनि यही हो ।