काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ । तर, संक्रमण रोकथाम र नियन्त्रणमा स्थानीय तहको प्रभावकारी भूमिका देखिएको छैन ।
स्थानीय तहले आफूसँग भएका स्रोत परिचालन गरेका छैनन् भने संक्रमितको उपचारका लागि अस्पतालसँग सम्झौता समेत गर्न सकेका छैनन् ।
स्थानीय तहले २५ बेडसम्मका अस्पतालसँग सम्झौता गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका छ । तर, संक्रमित उपचार नपाएर घरमै बस्न बाध्य छन् । स्थानीय तह संक्रमितको संख्या गनेर बसिरहेका छन् ।
कोरोना संक्रमितले आइसोलेसन र उपचार नपाउने समस्या दिन–प्रतिदिन बढ्दै गएको छ । स्थानीय तहले भने आइसोलेसन र उपचार केन्द्र बनाउन खाली ठाउँ खोजीरहेको दाबी गरेका छन् ।
बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले साना–साना क्वारेन्टिन, आइसोलेसनजस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भन्दैै संस्थागत संयन्त्र बनाउन नेपाली सेना र जिल्ला प्रशासन कार्यालयसँग गुहार मागे । स्थानीय तहले बनाएका साना–साना आइसोलेसनमा अक्सिजन पुर्याउन कठिन हुने भन्दै ठूला अस्पतालहरुसँग सम्झौता गर्नुपर्ने विषयमा उनले छलफल गरेका थिए ।
तर, उक्त छलफलपछि पनि मेयर शाक्य कुनै टुंगोमा पुग्न सकेनन् । संक्रमितको उपचारका लागि राजधानीका ठूला स्थानीय तहले अस्पातालहरुसँग सम्झौता गर्न सकेका छैनन् ।
मेयर शाक्य अहिले अस्पतालमा उपचार गराउनेभन्दा होम आइसोलेसनमा बस्नेको संख्या धेरै भएकोमा महानगरको ध्यानाकर्षण भएको बताउँछन् । संक्रमितले बेड नपाउने अवस्था आएपछि संघीय सरकारले उपचारका लागि अस्पतालसँग सम्झौता गरिरहेको उनको भनाइ छ ।
गत वर्ष मेयर शाक्य आफैँ संक्रमित भएका थिए । उनी सोल्टी होटेलमा आइसोलेसनमा बसेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार साँझसम्म काठमाडौं उपत्यकामा ३० हजार १५५ सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकामा हालसम्म एक हजार १९४ कोरोना संक्रमितको मृत्यु भइसकको मन्त्रालयको तथ्यांक छ ।
काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरि कुँवर आइसोलेसन बनाउन खाली स्थान खोजी भइरहेको बताउँछन् । उनका अनुसार आइसोलेसन बनाउन छलफल भइरहेको छ । “उपत्यकामा कोभिड अस्पताल बनाउन सम्झौता गर्ने तयारीमा छौँ,” कुँवरले भने, “संक्रमितको उपचार गर्न सचेत छौँ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र प्रहरी अस्पतालमा संक्रमितलाई उपचार गर्न छलफल भइरहेको छ ।”
विभागका अनुसार सामाखुसीस्थित राधेराधेको सत्संग भवनमा १०० बेडको आइसोलेसन निर्माण गर्ने तयारी भइरहेको छ । संक्रमितको अवस्था हेरेर काठमाडौं उपत्यकाका खाली भवनलाई प्रयोगमा ल्याइने विभागले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले १५ देखि २५ बेडका निजी अस्पतालसँग सम्झौता गर्न महानगरलाई भने पनि महानगरले त्यसअनुसार काम गर्न नसक्ने जनाएको छ । काठमाडौंजस्तो जनसंख्याको चाप भएको ठाउँमा २५ बेडका अस्पतालले नपुग्ने कुँवरको भनाइ छ ।
यता, कागेश्वरी मनोहरा नगरपालिकाले ५० बेड, चाँगुनारायण, भक्तपुर र बूढानीलकण्ठ नगरपालिकाले ५० भन्दा बढी बेडको आइसोलेसन केन्द्र बनाएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल कान्ति बाल अस्पताल र गंगालाल हृदय रोग केन्द्रमा अक्सिजन उत्पादन भइरहेको बताउँछन् । ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गरिसकेकोे जनाएको छ ।