site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा निषेधाज्ञाको समय थपिँदै, अझ कडाइ गर्ने तयारी

काठमाडौं । आज मध्यरातिदेखि देशभर आन्तरिक उडान बन्द हुने भएसँगै काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गर्ने तयारी थालिएको छ । उपत्यकामा जारी निषेधाज्ञाको आज पाँचौँ दिन हो ।

पछिल्लो समय काठमाडौंमा दैनिक तीव्र गतिमा संक्रमण बढिरहेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार उपत्यकामा दैनिक कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञामा थप कडाइ गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पहिलो, दोस्रो, तेस्रो र चौथो दिनको तुलनामा पाँचौँ दिन सडकमा सवारी–साधन कम देखिएको बताए । ‘‘काठमाडौंका भित्री सडकमा केही भिडभाड देखिएको छ । भित्री सडकको भिडभाड नियन्त्रण गर्न स्थानीय प्रशासनलाई आजदेखि कडाइ गर्न भनेका छौँ,” प्रजिअ पराजुलीले भने ।

आजदेखि भित्री सडकमा थप प्रहरी परिचालन गरी निषेधाज्ञामा कडाइ गरिएको उनले जानकारी दिए । प्रजिअ पराजुलीसहितको टोली आज बिहानदेखि नै भित्री सडकको अनुगमनमा निस्केको थियो ।

‘‘हिजो, अस्तिको निषेधाज्ञामा भित्री सडकमा भिडभाड देखियो । त्यसैले भित्री सडकमा आजदेखि थप प्रहरी परिचालन गरी कडाइ गरेका छौँ,” उनले बाह्रखरीसँग भने ।

बिहीबारेदेखि लागु भएको निषेधाज्ञा बुधबार सकिँदै छ । मन्त्रिपरिषद्ले स्थानीय प्रशासन आफैँले बढीमा १५ दिनसम्म निषेधाज्ञा गर्न सक्ने निर्णय गरी अधिकार प्रत्यायोजन गरिसकेको छ । संक्रमण बढिरहेकाले निषेधाज्ञा लम्बिन सक्ने देखिन्छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको निषेधाज्ञामा थप कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आज वा भोलि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले निषेधाज्ञाको थप समय तोक्ने जनाइएको छ । प्रजिअ पराजुलीले अब थप हुने निषेधाज्ञामा अझ कडाइ गर्ने बारेमा निर्णय हुने बताए ।

आइतबार नेपालमा २४ घण्टामा अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमण देखिएको थियो । उपत्यकामा मात्रै एकैदिन तीन हजार ५०० संक्रमित थपिएका थिए । आइतबार राजधानीमा देखिएको संक्रमण देशभरको संक्रमणको आधाभन्दा धेरै हो ।

नेपाल प्रहरीका सूचना अधिकारी एसएसपी वसन्तबहादुर कुँवर थप प्रहरी परिचालन गरी चेकिङ बढाएको बताउँछन् । उनले बाह्रखरीसँग भने, ‘‘आजदेखि पूर्ण रुपमा आन्तरिक र आंशिक रुपमा बाह्य उडानमा रोक लगाइने भएकाले थप कडाइ गरेका छौँ । हामीले प्रहरीको जनशक्ति बढाएर निषेधाज्ञा पालना गराउन खटिँदा लुकीछिपी पसल खोल्ने, भित्री सडकमा भिडभाड गर्ने, जथाभावी हिँड्डुल गर्नेलाई घरबाट ननिस्किने सुझावसहित फर्काउँदै आएका छौँ ।”

सवारी–साधनको हकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चेकिङ बढाएको जानकारी दिएको छ । महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सडकमा सवारी चाप कम गर्न प्रशासनले दिएको निर्देशनबमोजिम ट्राफिक चेकिङ बढाएको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro