काठमाडौं । सरकारले दोस्रो लहरको कोरोना रोकथामका लागि निषेधाज्ञामा कडाइ गरेको बताइरहँदा राजधानीमा भने निषेधाज्ञा खुकुलो र भिडभाड देखिएको छ ।
शनिबार मात्रै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सशस्त्र प्रहरी टोली र नेपाल प्रहरी टोली निषेधाज्ञामा कडाइ गर्न अनुगमनमा निस्केको थियो ।
सरकारले राजधानीको सबै ठाउँमा निषेधाज्ञामा कडाइ गरेको दाबी गर्दै आएको छ ।
तर, राजधानीका बाहिरी सडकमा ट्राफिक जाम, भित्री सडकमा भिडभाड र निषेधाज्ञाविपरीतका पसल सञ्चालनमा छन् । सरकारले प्रहरीलाई कडाइ गर्न भने पनि कस्ता मानिसलाई छाड्ने र कस्तालाई कारबाही गर्ने भन्नेबारे प्रहरी नै अन्योलमा देखिएको छ । प्रहरीमा नै अन्योल देखिँदा सडकमा भिडभाड बढेको हो ।
काठमाडौं उपत्यकामा निषेधाज्ञाको आज चौथो दिनमा मुख्य सडकमा कडाइ गरिए पनि भित्री सडकमा भिडभाड देखियो । सार्वजनिक सवारी–साधन सञ्चालनमा रोक र पैदलयात्रीलाई कडाइ गरिए पनि निजी सवारी–साधनलाई कडाइ गर्न नसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघको दाबी छ ।
‘‘सरकारले सार्वजनिक सवारी–साधनलाई मर्कामा पारेको र निजी सवारी–साधन जस्तोसुकै सवारीलाई चल्न दिँदा ट्राफिक जाम बढिरहेको छ,” महासंघका महासचिव सरोज सिटौलाले भने ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाका आधारमा कडाइ गर्दै आएको प्रहरीको दाबी छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर प्रहरीले दिन–प्रतिदिन निषेधाज्ञामा कडाइ गर्दै आएको बताउँछन् । ‘‘निषेधाज्ञामा प्रशासनले कार्यालयको परिचयपत्रका आधारमा हिँड्न पाउने निर्णय गरेको थियो । आजदेखि कतिपय कार्यालयको परिचयपत्रमा बन्देज लगाइसकेको छ । त्यसैले पनि प्रहरीले दैनिक कडाइ गर्दै आएको छ,” उनले भने ।
भित्री सडकमा निषेधाज्ञा उल्लंघन
अहिले चाबहिल, बौद्ध, जोरपाटी, पाटीटार, खरिबोटलगायत क्षेत्रमा अत्यावश्यकबाहेकका निषेध गरिएका पसल पनि सञ्चालनमा छन् । होटेल, लत्ताकपडा पसल पनि खुल्लै देखिन्छ । बौद्धका दिपेश लामा बिहानदेखि बेलुकासम्म सबै प्रकारका पसल खुला रहेको र केही अनुगमन नभएको बताउँछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आजदेखि राजधानीका विभिन्न ठाउँमा चेकजाँचमा कडाइ गरिएको छ । नेपाल प्रहरीका अनुसार उपत्यकामा निषेधाज्ञा पालना गराउनका लागि तीन हजार ५०० भन्दा प्रहरी खटाइएको छ । नेपाल प्रहरीसँगै ट्राफिक प्रहरी, सशस्त्र प्रहरी पनि निषेधाज्ञा लागु गराउन खटिएको छ ।
काठमाडौंका प्रजिअ पराजुलीले निषेधाज्ञामा थप कडाइ गर्न आफैँ अनुगमनमा खटिने गरेको बताए । उनले जथाभावी बाहिर निस्केको पाइएमा सम्झाइ–बुझाइ गर्ने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने गरेको बताए । ‘‘हामीले सुझाइ–बुझाइ गर्दा पनि नमान्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्दै आएका छौँ । हामी सडकमा अनुगमनका लागि मात्रै निस्केका होइनौँ । हाम्रो टोली अस्पताल र खाली भवनहरुको खोजीमा लागेको छ,” उनले भने ।
जिल्ला प्रशासन कार्यालयले मृत्युदर बढिरहेकाले शव व्यवस्थापन, जलाउने स्थानको व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषलाई अनुरोधसमेत गरिसकेको छ ।