अन्ततः कोभिड-१९ को सङ्क्रमण देशको स्वास्थ्य क्षमताले धान्न नसक्ने अवस्थामा पुगेको सरकारले स्वीकार गरेको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुकवार जारी गरेको विज्ञप्ति जारी गरेरै बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने जानकारी सार्वजनिकरूपमै देशवासीलाई दिएको छ । अस्पतालमा शय्या नपाइनेमात्र होइन अत्यावश्यक मानिएका औषधि किन्न पनि नपाइएको गुनासो बिरामीका आफन्तले गर्न थालेका छन् ।
झट्ट हेर्दा आकस्मिकजस्तो लागे पनि सरकारको नालायकी र गैरजिम्मेवार प्रवृत्तिलाई गम्भीरतापूर्वक लिनेहरूले यस्तो भयावह अवस्थाको जोखिम धेरै पहिले नै देखिसकेका थिए । विशेषगरी २०७७ सालको फागुनको दोस्रो सातादेखि भारतमा कोभिड(१९ को दोस्रो लहर देखिन थाल्नेबित्तिकै जनस्वास्थ्य विद्हरूले सरकारलाई भयावह अवस्था उत्पन्न हुनसक्ने जोखिमको चेतावनी दिइसकेका थिए । परन्तु, सत्तामा रहेका नालायक निरोहरू मुरली बजाएर बसिरहे । देशलाई महामारीको खाडलतिर धकेलिइरह्यो ।
खतरनाक प्रकारको भाइरसको तीव्र गतिमा फैलिइरहेको भारतमा कुम्भ मेलामा सहभागी भएर फर्केकाले नेपालभित्र सङ्क्रमण फैलाए । रोजगारीको खोजीमा भारत गएकाहरू पनि उता सङ्क्रमण फैलन थालेपछि स्वदेश फर्के । नेपाल र भारतका बीचको खुला सीमा पनि सङ्क्रमण फैलाउन सहयोगी बन्यो ।
भारतबाट फर्केकाहरूको उचित परीक्षण र व्यवस्थापनमात्र गरिएको भए पनि देशमा अहिलेको भयावह अवस्था उत्पन्न हुने थिएन । सीमामा आवागमनको अभिलेख राखेर नियमन गर्नु त परै जाओस् नेपाल सरकारले स्थिति भयावह नहुँदासम्म काठमाडौंलाई भारतीय यात्रीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्न दियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरिसक्ता विद्यालय बन्द गर्न लगाउनुको साटो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले केटाकेटी घरमा भन्दा विद्यालयमा सुरक्षित हुन्छन् भन्दै बेतुकका गफ दिइरहेका थिए । सरकारले भने २५ जनाभन्दा बढी भेला नहुन सूचना गरिसकेको थियो ।
प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारी निवासभित्र धुमधामसँग सायद प्रतिष्ठा नै नगरिएका मूर्तिको 'पूजा' गर्दैथिए । यसैबाट उनी नौटङ्की गर्दैथिए भन्ने स्पष्ट हुन्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री काठमाडौंबाट चितवन जाने जुलुसको नेतृत्व गर्दैथिए । सरकारकै निर्देशिका र जनस्वास्थ्य मापदण्डविपरीत गरिएका यस्ता गैरजिम्मेवार मूर्खताका कारण नै अहिले सरकारले लाचारी प्रकट गर्नु परेको हो ।
राजनीतिक नेतृत्वको बदनियत र नालायकीका कारण राज्य नै असफल हुने अवस्थामा पुगेको छ । राजनीतिक नेतृत्व अगतिलो भयो भने राष्ट्र असफल हुन्छ भन्ने दृष्टान्त राजनीति, इतिहास, दर्शन एवं पुराणहरूमा जताततै पाइन्छ । नेपालमात्रै अपवाद कसरी हुन्थ्यो र ?
गत वर्ष नै ओली सरकारले कोभिड–१९ को सङ्क्रमणको सम्बोधनका नाममा जनतालाई सास्ती दिएको थियो । महामारीमा पनि चरम अनियमितता गरेको थियो । तर, सत्तारुढ दलका नेतामात्र हैन विपक्षीले पनि जनताले पाएको सास्ती र राज्यको ढुकुटीमा भएको भ्रष्टाचारलाई गम्भीर रूपमा लिएनन् । त्यसैको फल अहिले नेपाली जनताले भोग्नुपरेको हो ।
हुन पनि अन्याय सहने वा त्यसका विरुद्ध आवाज नउठाउने प्रवृत्तिले अन्ततः पुर्याउने त अराजकतामै हो । यसैले विशेषगरी सरकारको नालायकी, असफलता र अनियमितता सहजै सहने जनताका साथै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता आजको अस्तव्यस्तताका लागि उत्तिकै दोषी छन् ।
प्रधानमन्त्री ओलीसँग ‘सेटिङ’ मिलाएको भनेर आलोचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत ‘सरकारको चरम लापरवाही, संवेदनहीनता र अकर्मण्यता’ले गर्दा कोभिड–१९ को सङ्क्रमण यस्तो भयावह अवस्थामा पुगेको भन्दै रोष प्रकट गरेका छन् । सभापति देउवाले शुकवार पत्रकारलाई भनेअनुसार – यो सरकार न विगतका गल्तीबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाले दिएको सल्लाह र सुझावलाई आत्मसात् गर्छ ।
त्यसो त विगतको पाठबाट स्थानीय तहका नेतृत्वले पनि सिकेको देखिएन । नत्र, महामारीको दोस्रो लहर फैलने लक्षण देखिनेबित्तिकै तिनले तयारी गर्ने थिए । तैपनि, संघीय सरकारजस्तो गैरजिम्मेवार नभई केही स्थानीय तहका पदाधिकारी सङ्क्रमण व्यवस्थापनका लागि भौतिक सुविधा र जनशक्ति जुटाउने सराहनीय काममा लागेका छन् । जनताप्रति जिम्मेवारी बोध गरेर सबैले यिनको सिको गरून् ।
विशेषगरी परीक्षण नगरिएका कारण सङ्क्रमण नदेखिएको हुनसक्ने भएकाले बजार क्षेत्रमा स्थानीय तहले आवश्यक भए निषेधाज्ञा जारी गर्न पनि नपहिचकिचाऊन् । सङ्क्रमित राख्न विगतमा जस्तै सुविधा तयार गरुन् । स्थानीय स्वास्थ्य सुविधा बढाउन खासगरी अक्सिजन र शय्याको व्यवस्था मिलाउन अस्पताल वा स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गरुन् ।
प्रधानमन्त्री ओलीको जस्तो जनता मरिरहँदा पनि तमासा गर्ने ‘निरो’ प्रवृत्तिमा स्थानीय र प्रदेश सरकारका पदाधिकारी नअलमलिऊन् । जनताको जीवन रक्षा राज्यका सबै तह र अंगको पहिलो र मुख्य कर्तव्य अर्थात् धर्म हो । नत्र, राज्य त असफल हुन्छ नै महमामारीले आफैँलाई पनि गाँज्न सक्छ । चेतना भया १