काठमाडौँ । आईएमई जनरल इन्स्योेरेन्सको २३औं वार्षिक साधारण सभाले ७ प्रतिशत बोनस र त्यसपछि ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष हेम राज ढकालले पुँजी सम्बन्धी विशेष प्रस्ताव स्वीकृत भएको र बोनस तथा हकप्रद शेयर जारी भएपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड पुग्ने बताए ।
उनले देशको आर्थिक विकासमा बिमाको ठूलो योगदान रहेको भन्दै हाल बिमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बिमा बजार अझै फराकिलो हुने विश्वास व्यक्त गरे ।
पछिल्लो समय बिमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदीले बिमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पुँजी बजारमासमेत ठूलो हिस्सा बिमा क्षेत्रले ओगट्न सफल भएको उनले बताए । उनले कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरीस्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र निकट भविष्यमानै भवन निर्माणको कार्य अगाडी बढाउने बताए ।
कम्पनीले आर्थिक वर्ष २०७५।०७६ मा १ अरब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अरब ३९ करोड ९४ लाख बिमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा १०.४५ प्रतिशतले बिमा शुल्क वृद्धि भएको जनाएको छ । कम्पनीले चालु आ.व.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब १४ करोड बिमा शुल्क आर्जन गरिसकेको उनले जानकारी गराए ।