site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘डाक्टरको जीवनको मूल्य २५ हजार मात्र रहेछ’

काठमाडौं । तपाईं साँझ ५ बजेतिर काठमाडौंको माइतीघर मण्डला जानुुभयो भने सेतो एप्रोन लगाएको एक युवकलाई भेट्नुहुन्छ । डाक्टरको पोशाकमा उभिएका युवकले हातमा दुईवटा ‘प्ले कार्ड’ बोकेका छन् र त्यसमा लेखिएको छ ‘मेरो कोभिडको भत्ता हराएको सूचना !!! पाउनुहुने व्यक्तिले ....मा सम्पर्क गर्दिनु होला धन्यवाद !’ अर्को प्लेकार्डमा लेखिएको छ ‘सामाजिक दूरी कायम छ । तर तपाईंको नियत कायम छैन ।’

पाँच दिनदेखि यसरी दिनहुँ माइतीघरमा प्रतिकात्मक विद्रोह गरिरहने युुवक हुन् अजित मल्लिक । ३० वर्षीय मल्लिकले दुई वर्षअघि चीनबाट एमबीबीएस गरेर आएपछि निरन्तर स्वास्थ्य सेवामा खटिरहेका छन् । सुरुमा वीर अस्पतालमा काम गरेका उनले केही समय महाराजगञ्जको टिचिङ अस्पतालमा काम गरे । असारदेखि उनी बानेश्वरको निजामति अस्पतालमा काम गरिरहेका छन् । 

कोभिड–१९ को सुुरुवातदेखि नै उनी लगातार ‘फ्रन्टलाइन’मा खटिए । मल्लिक भन्छन्, “अहोरात्र कोरोनाबाट संक्रमित बिरामीको सेवा गरियो, आफैंपनि संक्रमित भइयो, तर न त अरू आम मानिसलेजस्तो कोरोना बिमा पाइयो न त सरकारले भत्ता दियो ।”

आफूले काम गरिरहेको निजामति अस्पतालाई कोरोना बिमा गरिदेउ भन्दा अस्पतालले अस्वीकार गरेको उनी सुनाउछन् । पछि अस्पतालले बिमा कम्पनीमा फाइल पठायो, बिमा समितिले फाइल यता–उता भएर ढिलो भयो भन्दै फाइल फिर्ता पठायो । “ड्युटी चाहिँ गर्नु रे, मरेमा उनीहरू जवाफदेही छैन रे सुन्दा पनि  हाँसो लाग्छ,” उनी आक्रोश पोख्छन् ।

त्यसपछि डाक्टरको संगठनबाट कोरोना बिमा भएपनि २५ हजार मात्र पाएको उनी सुनाउँछन् । भन्छन्, “डाक्टरको जीवनको मूल्य २५ हजार मात्र रहेछ । मरे ठिकै छ, बाँचे २५ हजार ।” बिमाको अरु पैसा माग्दा ७५ हजारको बिल ल्याउन भनेको उनी सम्झन्छन्, “म घरमा १० दिन आइसोलेसनमा बसेको । आफ्नो उपचार आफैं गरे, औषधी खर्च आफैं व्यहारेँ । निको भएको भोलिपल्टै ड्युटीमा खटेँ । बिल ल्याउन समय खोई, कहाँबाट ल्याउने ?,” उनी प्रश्न गर्छन् ।

गत शुक्रबार साँझ भेट्दा उनी पहिलोपटक धर्नामा आएका थिए । के कुराले मल्लिकलाई धर्ना गर्न बाध्य बनायो त ? मल्लिक बुबा आमासँग काठमाडौंमा बस्छन् । कोरोना हुँदा एउटा कोठोमा एक्लै बस्नुपरेको पीडा सम्झिँदा उनी अझै भावुक हुन्छन् । भन्छन्, “सम्झिँदा अझै आँसु आउँछ । बुबा आमा बुढाबुढी हुनु भइसक्यो । प्रेसरको रोग छ । मेरो कारणले उहाँलाई रोग सर्ला कि भन्ने डर लागिरहन्थ्यो ।” 
कोभिडको बेला उनी २४ घण्टा खटिने त छँदैछ, साथमा तलब पनि डेढ, दुुई महिना ढिलोगरी आउँथ्यो । पोहोर चैतमा कोरोना फाट्टफुट्ट देखिँदा उनी टिचिङमा अप्रेसन गर्ने डाक्टर थिए । कुनै अप्ररेसन गराउनुपर्यो भने अगाडि खटिहाल्नुपथ्र्यो, बिरामी आयो कि कुद्ने, इमरजेन्सीमा अपरेसन गर्दा पीसीआरको रिपोर्ट आइसकेको हुुँदैन्थ्यो । त्यसका लागि मानसिक रूपमा तयार हुनुपथ्र्यो उनी सुनाउँछन् ।

उनी अहिले सिभिल अस्पतालमा युरो सर्जरीको काम गर्दै आएका छन् । सिभिलमा पनि २४ घण्टा खटिनुपर्ने सुनाउँछन् । लकडाउन हुँदा एक–एक हप्ता अस्पतालमै बस्नुपर्ने र ड्युटीमा खटिनुपथ्र्यो । सेवा गर्दा उनलाई आनन्द आउँछ । मानवताको काम हो, त्यसैले मल्लिकलाई मन पर्छ ।

“म धेरै आँटिलो मान्छे रहेछु, त्यसैले सायद एक्लै आएँ,” उनी मुस्कुराउँदै सुनाउँछन् । उनले धेरै पहिलेदेखि सोचिरहेथे, ‘जान्छु’ भनेर । “आज मेरो सर्जरी थियो,” उनले भने, “त्यो सकेपछि क्यान्टिनमा खाजा खान गएँ । एउटा पम्प्लेट लेखौँ न भन्ने दिमागमा आयो, के लेखौँ भन्ने भएको थियो । ठ्याक्कै यो लेखीहालेँ,” उनले पम्प्लेट देखाउँदै भने । साइबरमा गएर पम्प्लेट लेखाएर उनी अस्पताल फर्के, पोशाक लगाए र माइतीघरमा आए ।

मल्लिकका लागि माग सुनुवाइ हुनु/नहुनु अलग कुरा हो । भन्छन्, “सबैभन्दा ठूलो मेरो मनलाई लागोस् मैले केही गरेँ भनेर । मैले गर्ने प्रयास गरेँ, त्यो ठूलो कुरा हो । भोलि फेरि कोरोना आउला, लाग्ला, मरौँला, त्यो अर्को कुरा हो । डाक्टरको ज्यानको मूल्य छैन ।”

भत्ताको कुरा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र संघीय मामिला मन्त्रालय अन्तर्गतको उनको अस्पताल हेर्नुपर्ने उनको माग छ । उनी भन्छन्, “सम्बन्धित निकाय सबैले हेर्नुपर्यो ।”

ज्यान धर्नामा भएपनि मल्लिक अस्पतालको खबर बारम्बार लिइरहेका छन् । सर्जरी गरेको बिरामीको हालचाल बारे खबर सहकर्मीबाट लिइरहेका छन् । भन्छन्, “उता (अस्पतालमा) सबै ठिक छ, साथीहरूले खबर गरिरहेका छन् । केही भयो भने बाइक लिएर कुदीहाल्छु ।”

सबैलाई भत्ता छैन
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल ‘डाक्टर हो भन्दैमा र अस्पताल गएको भन्दैमा सबैले कोरोना भत्ता नपाउने’ तर्क गर्छन् । “फ्रन्टलाइनमा कोरोनाको उपचारमा खटेका सबैलाई भत्ता दिइसक्यौँ । छुटपुटलाई पनि दिने कुरा बैठकमा हिजो नै छलफल भइसक्यो,” उनले भने, “अब बाँकी कोही छैन ।”
तर, ‘काम गर्ने कालु र मकै खाने भालु’ भनेझैँ कोभिड–१९ मा खटिने कर्मचारीभन्दा अन्यले भत्ता पाएको र अनियमितता भएको सञ्चारमाध्यमा व्यापक समाचार आएको थियो । यस बारेमा सोध्दा अर्याल भन्छन्, “मन्त्रिपरिषद्ले निर्णय गरेअनुसार भत्ता देऊ भनेअनुसार दिएको हो, खाऊ भनेपछि खानै पर्‍यो नि ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro